
रामेछाप । रामेछापमा सामाजिक विकासको लागि काम गर्दै आएको सामुदायिक विकास समाज (सिडिएस) ले तीन वर्षमा जिल्लाका २ हजार ५ सय बढी युवालाई सिप प्रदान गरेको छ ।
सो संस्थाले व्यावसायिक तथा प्राविधिक सिप र कृषि तालिम मार्फत रोजगारी सिर्जना र उद्यमशीलता परियोजना मार्फत जिल्लाको मन्थली नगरपालिका तथा खाँडादेवी र सुनापति गाउँपालिकामा सञ्चालन गरेको कार्यक्रमबाट ती युवाहरूले सिप सिकेका हुन् ।
परियोजनाले सञ्चालन गरेको कृषि तालिमबाट १४ सय ८९ जना किसान लाभान्वित भएका परियोजनाका संयोजक उत्तम ढुङ्गानाले जानकारी दिए ।
परियोजना अवधिमा सञ्चालन भएका ५२ वटा सिप विकास तालिमबाट एक हजार बढी युवा प्रशिक्षित भएका उनले बताए ।
प्राविधिक सिप विकास तालिम लिएकालाई सिटिइभिटीको स्किल जाँच परीक्षा समेत दिलाएको उनले जानकारी दिए । तालिम लिएकालाई व्यवसाय सञ्चालन गर्न उपकरणहरू समेत निःशुल्क उपलब्ध गराइएको उनले बताए ।
तालिम लिएका युवाहरूले ५२ वटा उद्यम सुरु गरेका र त्यसमा ६८ जना युवाहरू संलग्न रहेका उनले बताए । यसरी सिप सिकेर सिटिइभिटीको प्रमाणपत्र लिएका युवाहरूले विदेश जाँदा पनि राम्रो तलब सहितको रोजगारी पाउने गरेका उनले बताए ।
परियोजनाको वार्षिक समन्वय बैठकमा बोल्दै संस्थाका निर्देशक मिलन घिसिङले तालिम लिएका मध्ये १८ प्रतिशत युवाहरू कुनै काम नगरी बसेका बताए । परियोजनालाई स्थानीय सरकारसँग जोडेर त्यसलाई निरन्तरता दिने कुरा निक्कै चुनौतीपूर्ण रहेको घिसिङले सुनाए ।
कार्यक्रममा नागरिक संस्थाका प्रतिनिधिहरूले सामाजिक संस्थाले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर सञ्चालन गरेका परियोजनाहरू समाप्त भएपछि त्यसलाई स्थानीय तहले ग्रहण गरेर निरन्तरता दिनुपर्ने सुझाव राखे ।