आज :

स्थानीयतावादको सङ्किर्णतामा कम्युनिस्टरू

  • एल.बि सुजन

विषय प्रवेश
​कम्युनिस्ट आन्दोलनको सार र मूल मर्म वर्गीय चेतना, मुक्ति र सर्वहारा अन्तर्राष्ट्रियतावाद हो । संसारका मजदुरहरू एक होऔं !भन्ने नाराबाट सुरु भएको मालेमावादी दर्शनले मानव समाजलाई भूगोल , जात, भाषा, धर्म वा नस्लको आधारमा नभई मुख्य रूपमा दुई भागमा बाँडेर हेरेको छ । त्यो भनेको शोषक वर्ग र शोषित वर्ग हो । कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुको अर्थ व्यक्तिले आफ्नो व्यक्तिगत, जातीय, क्षेत्रीय संकिर्णा हितभन्दा माथि उठेर सिङ्गो सर्वहारा वर्गको हितका लागि आफूलाई समर्पित गर्नु हो ।

​यसको ठिक बिपरीत व्यावहारिक राजनीतिमा कम्युनिस्ट पार्टीमा आवद्ध धेरै नेता तथा कार्यकर्ताहरूमा ‘स्थानीय सङ्कीर्णताको गम्भीर समस्या देखिने गरेको छ। स्थानीय मुद्दा र जनताका आवश्यकताप्रतिको जीवन्त सम्बन्ध हुनु एउटा सकारात्मक पाटो हो, तर जब त्यो सम्बन्ध सङ्कीर्ण भूगोल, अन्ध-क्षेत्रीयता, जातीय वा हाम्रो मान्छे भन्ने भावनामा परिणत हुन्छ, तब त्यसले कम्युनिस्ट पार्टीको राजनीतिक वैचारिक धरातललाई नै भत्काइदिन्छ।

क्रान्तिकारी पार्टी र संशोधनवादी पार्टीभित्र यसको प्रवेशका कारण, यसले पार्ने नकारात्मक प्रभावहरू र यसको समाधानका वैचारिक तथा साङ्गठनिक उपायहरूबारे गहन विश्लेषण गर्नुपर्ने आवश्यकतलाई मध्यनजर गरेर बुदागतरूपमा रूपमा विश्लेषण गर्ने प्रयत्न गरिएको छु ।

​१. स्थानीयवादको संकिर्णतामा भनेको के हो :
सामान्य अर्थमा, स्थानीय सङ्कीर्णता भन्नाले आफ्नो निश्चित भूगोल, क्षेत्र, जाति, वा समुदायलाई मात्रै सर्वोपरि मान्ने र बाह्य वा अन्य क्षेत्रका मानिसहरूलाई फरक वा तल्लो दृष्टिकोणले हेर्ने सङ्कुचित मानसिकतालाई बुझाउँछ।

कम्युनिस्ट पार्टी वा राजनीतिको सन्दर्भमा स्थानीयवादले मुख्यत: भुगोल र पहिचानको अतिवादी मोहले वर्गीय मुद्दालाई ओझेलमा पारेर केवल भौगोलिक, जातीय वा क्षेत्रीय सीमाभित्र मात्रै राजनीतिलाई सीमित गर्दै जान्छ ।

आफ्नो र बाहिरको भन्ने विभाजन गर्न कुनै निश्चित क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई मात्रै अधिकारसम्पन्न ठान्नु र काम वा बसोबास, पार्टीको योजनाको सिलसिलामा आएका अन्य जिल्लाहरू वा क्षेत्रका नेता कार्यकर्ताहरूलाई आर्थिक , सास्कृतिक , लवाइखवाई र खानपानजस्ता प्रबिधि आरोप लगाउदै आफू यो धर्ती भन्दा पहिले नै जन्मेको हो भन्ने मानसिकता बनाउनु र क्रान्तिकारी नेता कार्यकर्ताका बिरुद्ध गुटबन्दी गर्दै जानू हो ।

बाहिरी जिल्लाहरू बाट आयका नेता कार्यकर्ताहरूलाई यीहरू त बाहिर बाट आएका हुन भन्ने साँघुरो दृष्टिकोण बनाउनु , अवसर र शक्ति सन्तुलनमा पक्षपात , पार्टीको पद, लाभ वा अवसरको बाँडफाँड गर्दा योग्यता , निष्ठा र वर्गीय प्रतिबद्धताको साटो स्थानीयता ,जातिय वा क्षेत्रगत पहुँचका आधारमा दृष्टिकोण निमार्ण गर्दै जानू हो ।

सिद्धान्तत अन्तर्राष्ट्रियतावादी र वर्गीय हुने कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूमा स्थानीयवाद भित्रिनुका पछाडिको अरू कारणहरू छन् । भूमण्डलीकृत पुँजीवादी समाजको प्रभावले ​कम्युनिस्ट कार्यकर्ताहरू कुनै हावामा वा अलग्गै टापुमा बस्दैनन्। उनीहरू त्यही पूँजीवादी र सामन्ती संस्कार बोकेको समाजमा हुर्किएका हुन्छन् । समाजमा विद्यमान क्षेत्रीयतावादी, जातीय र सङ्कीर्ण सोचको प्रभाव सोझै पार्टी कार्यकर्ताहरूमा पर्न जान्छ।
​
चुनावी राजनीति र भोट बैंकको बाध्यता संसदीय वा स्थानीय निर्वाचनको राजनीतिमा होमिएपछि धेरैजसो कम्युनिस्ट पार्टीहरूले चुनावी फाइदाका लागि स्थानीय भावनालाई उत्तेजित बनाउने गर्छन्। “हाम्रो ठाउँको नेता”, “हाम्रो जातको मान्छे वा स्थानीयलाई मात्रै प्राथमिकता” जस्ता नाराहरूले अल्पकालीन रूपमा भोट त ल्याउन सक्छन्, तर यसले कार्यकर्ताको चेतनालाई सङ्कीर्ण बनाउँछ। यस्ता प्रवृतिहरू मुख्यतया वैचारिक अध्ययन र प्रशिक्षणको कमीका कारणले पनि जन्मनिने गरेका हुन्छन् ।

आजभोलिका कम्युनिस्ट पार्टीहरूमा वैचारिक प्रशिक्षणको स्तर अत्यन्तै खस्किएको छ। मालेमावादी द्वन्द्वात्माक भौतिकवाद ,वर्ग सङ्घर्ष र सर्वहारा अन्तर्राष्ट्रियतावादबारे गहन अध्ययन नहुँदा कार्यकर्ताहरू सजिलै सङ्कीर्ण भावनाको शिकार बन्न पुगेका छन् ।

​भुमण्डलीकृत पुँजीवाद र बुर्जुवा पहिचानवादको हाबीले विश्वभरीनै वर्गीय राजनीतिलाई कमजोर बनाउन पहिचानवादलाई अतिवादी रूपमा अघि सारिएको छ। जब पहिचानको मुद्धाबाट ‘वर्ग’ गायब हुन्छ, तब त्यो सोझै सङ्कीर्ण क्षेत्रीयता वा जातीयतामा परिणत हुनजान्छ।

वर्ग समाजको विलोप कम्युनिस्ट पार्टीको मुख्य शक्ति भनेकै श्रमिक वर्गको सुदृढ एकता हो। तर जब पार्टीभित्र हाम्रो क्षेत्र र तुरुन्तै बाहिरबाट आएको’ भन्ने भावना बढ्छ, तब मजदुर र उत्पीडितहरू आपसमै लड्न थाल्छन्। यसको प्रत्यक्ष फाइदा शोषक र भुमण्डलीकृत पुँजीजीवी वर्गले उठाउँछ ।
​ ​
कम्युनिस्ट पार्टी जनवादी केन्द्रीयताको आधारमा चल्छ, जहाँ अल्पमत बहुमतको मातहत र तल्ला कमिटीहरूले माथिल्ला कमिटीका निर्णय मान्नुपर्दछ र बहुमतले अल्पमतको कदर गर्नुपर्दछ । यद्यपि स्थानीय सङ्कीर्णताले ग्रसित नेता, कार्यकर्ताले माथिल्ला कमिटीको निर्णयलाई बाहिरका मान्छेको हस्तक्षेप भन्दै अस्वीकार गर्न थाल्छन्, । उनिहरू जनवादी केन्द्रीयताको धज्जी उडाउन पुग्छन । जसले साङ्गठनिक अराजकता सिर्जना गर्छ ।

यसरी सिर्जना हुने अराजकताले कम्युनिस्ट पार्टीभित्र संकृतिक विचलनलाई बढावा दिन्छ र त्यो संस्कृतिले जनवादी केन्द्रीयता र संगठानिक अनुशासनको अन्त्य गरिदिन्छ । जसकाकारण ​ पार्टीभित्र गुटबन्दी र नातावाद सङ्कीर्ण सोच भएका नेताहरूले पार्टीभित्र विचार र कार्यक्षमताका आधारमा नभई आफ्नो किचेनकेबिनेट, भूगोल, नाता-गोता र क्षेत्रीयताका आधारमा कार्यकर्ताहरू लाई प्रसय दिन्छन्। यसले गर्दा निष्ठावान र क्रान्तिकारी कार्यकर्ताहरू पाखा लाग्छन् र अवसरवादीहरूको हालीमुहाली हुन्छन् ।

​सामाजिक र सांस्कृतिक विखण्डनलाई रोक्न कम्युनिस्ट पार्टीले समाजलाई जोड्ने र रूपान्तरण गर्ने भूमिका खेल्नुपर्नेमा, सङ्कीर्णतावादी सोचले समाजमा घृणा र विभाजन फैलाउँछ भने यसले गर्दा कम्युनिस्ट पार्टीहरू आम जनताबाट कट्दै जान्छन्।

जनयुद्व र जनआन्दोलनका माध्यमबाट उत्पिडित क्षेत्र,जाति र लिङ्गका मानिसहरूलाई राजनीतिकमा ल्याउनु सकारात्मक उपलब्धि थियो। तर पछिल्लो समय नेपालका कम्युनिस्टहरू संसद बाहिर भएका पार्टीहरू हुन वा ती संसदिय पार्टीहरू हुन ती पार्टीभित्र स्थानीय सङ्कीर्णतावाद एउटा गम्भीर रोगका रूपमा देखा परेको छ ।

संसदीय पार्टीहरूमा उम्मेदवार छनौट गर्दा विचार र निष्ठाभन्दा पनि उही ठाउँको उही जातको, आफ्नो नजिकको ,नातागोता भएको मान्छे खोज्ने प्रवृत्तिको चरम रूपमा विकास भएको छ।

विकास निर्माणमा पनि सङ्कीर्णता प्रष्ट देखिन्छ । बजेट र योजनाहरू आफ्नो क्षेत्र वा भूगोलमा मात्रै लैजाने, अन्य क्षेत्रलाई उपेक्षा गर्ने सङ्कुचित मानसिकता छ। भने संगठनिक संरचनामा पनि पूर्वाग्रह देखिदै आएको छ ।

जस्तै प्रदेश वा जिल्ला कमिटीहरूमा अन्य क्षेत्रका सक्षम कार्यकर्तालाई स्वीकार नगर्ने वा बाहिरको ठानेर विभेद गर्ने व्यवहार यी व्यवहारहरूले नेपालका कम्युनिस्ट पार्टीहरूलाई नाम मात्रका कम्युनिस्ट र काममा पुँजीवादीहरू भन्दा तल्ला बुर्जुवा वा क्षेत्रीय दल सरह हुँदै गएका छन्। यो विषय सामन्य विषय नभएर बिश्वदृष्टिकोणको समस्या हो ।
​
२. कम्युनिस्टहरुले के गर्ने
​मार्क्सवादी-लेनिनवादी – माओवादी दर्शनले जुनसुकै प्रकारको सङ्कीर्णता (क्षेत्रीय, जातीय, वा राष्ट्रिय) लाई सर्वहारा वर्गको क्रान्तिकारी चेतनाको बाधक मान्दछ ।मजदुरहरूको कुनै देश वा सीमा हुँदैन। (कम्युनिस्ट घोषणापत्र )

लेनिनले राष्ट्रिय वा क्षेत्रीय सङ्कीर्णता विरुद्ध कडा सङ्घर्ष गर्दै सर्वहारा अन्तर्राष्ट्रियतावादको वकालत गर्नुभएको थियो। उहाँका अनुसार “उत्पीडित राष्ट्र , क्षेत्र ,जातीय जनताको अधिकारको समर्थन गर्नु कम्युनिस्टहरूको कर्तव्य हो।तर त्यसलाई बुर्जुवा वा सङ्कीर्ण राष्ट्रवाद क्षेत्रीयतावादमा परिणत हुन दिनु विचलन हो। तसर्थ कम्युनिस्ट पार्टीहरूले दृष्टिकोणमा स्थानीयताका प्रगतिशील पक्षहरू जस्तै स्थानीय स्रोत साधनको संरक्षण, स्थानीय भाषा-संस्कृतिको संवर्द्धन र स्थानीय जनताको स्वायत्ततालाई स्वीकार गर्छ। तर स्थानीय सङकीर्णतालाई कडा रूपमा अस्वीकार गर्नुपर्दछ ।

स्थानीय सङ्कीर्णताको यो बैचारिक र संगठानिक सङकटबाट पार पाउन कम्युनिस्ट पार्टीहरूले अनिवार्यरुपमा राजनीतिक वैचारिक पुनर्जागरण गर्नुपर्दछ।
र पार्टीभित्र मार्क्सवाद-लेनिनवाद- माओवादका आधारभूत सिद्धान्त,विशेषगरी वर्गीय चेतना र सर्वहारा अन्तर्राष्ट्रियतावाद बारे तल्लो तहसम्म व्यापक प्रशिक्षण चलाउनुपदर्छ। नेता कार्यकर्तालाई समाजशास्त्र र इतिहासको वैज्ञानिक अध्ययन गराउनुका साथै वर्गीय दृष्टिकोणलाई प्राथमिकतामा राख्नुपर्दछ । ​

जस्तोसुकै स्थानीय वा क्षेत्रीय मुद्दा उठाउँदा पनि त्यसको केन्द्रमा वर्ग हुनुपर्छ। स्थानीय शोषक र दलाल पुँजीवादीहरू का विरुद्ध स्थानीय जनताहरूको संघर्षलाई जोड दिँदै अन्य क्षेत्रका सुकुम्बासी , महिला , दलित , जनजाति र श्रमिकहरू सँगको एकतालाई सुदृढ बनाउनुपर्छ।

संगठानिक शुद्धीकरण पार्टीभित्र क्षेत्रीयता, जातीयता वा सङ्कीर्ण भावना फैलाउने, गुटबन्दी गर्ने र भूगोलका आधारमा पक्षपात गर्ने नेता-कार्यकर्ताहरूलाई संगठानिक अनुशासनको दायरामा ल्याउनुपर्छ।

सास्कृतिक रूपान्तरण दलाल पूँजीवादी, सामन्ती र बुर्जुवा संस्कारबाट ग्रसित संस्कृतिलाई बदलेर सर्वहारावादी र प्रगतिशील संस्कृतिको निर्माण गर्नुपर्छ। हामी सबै एउटै वर्गका साथी हौं भन्ने भावनाको विकास गर्न संयुक्त कार्यथलो र पार्टीको संगठानिक अनुभव आदान-प्रदान गर्नु गराउनुपर्दछ । यस्ता कार्य व्यावहारमा लागू गराउन कार्यशाला संचालन गरिनुपर्दछ ।

निष्कर्ष
​कम्युनिस्ट पार्टीमा आबद्ध हुनु भनेको सङ्कीर्णताको दायराबाट बाहिर निस्किएर विशाल मानवीय मुक्ति र वर्गीय एकताको यात्रामा सामेल हुनु हो। विश्वक्रान्तिका नायक चे ग्वेभारा यसको ज्वलन्त उदाहरण हुनुहुन्छ।उहाँ अर्जेन्टिनामा जन्मिनुभयो, क्युबाको क्रान्तिमा लड्नुभयो र अन्तर्राष्ट्रिय क्रान्तिकारी सङ्घर्षकै क्रममा बोलिभियामा सहिद हुनुभयो । स्थानीय समस्या बुझ्नु, स्थानीय भाषा-संस्कृतिको सम्मान गर्नु र त्यहाँका जनताको सेवा गर्नु कम्युनिस्टको प्राथमिक कर्तव्य हो। तर, जब यो कर्तव्य ‘स्थानीय सङ्कीर्णता’ मा परिणत हुन्छ, तब त्यसले क्रान्तिको दिशालाई नै मोडिदिन्छ। स्थानिय सङ्किर्णतामा फसेको पार्टीका कार्यकर्ताले वर्गको सेवा भन्दा वुर्जुवाको सेवा गर्न पुग्दछ ।

आजको नवउदारवादी दलाल पुँजीवादले विश्वका सम्पूर्ण श्रमिकहरूलाई शोषण गरिरहेको अवस्थामा कम्युनिस्टहरू अझ बढी एकताबद्ध र अन्तर्राष्ट्रियतावादी हुन आवश्यक छ। स्थानीय र जातिय सङ्कीर्णता जस्ता सूक्ष्म-विचलनहरूलाई वैचारिक सङ्घर्ष र संगठानिक अनुशासन मार्फत परास्त गर्दै वर्गीय चेतनाको झण्डालाई उच्च राख्नु नै आजको कम्युनिस्ट आन्दोलनको मूल दायित्व हो । स्थानियतावादी सङ्किर्णताबाट माथी नउठि सर्वहारा वर्गीय हितका लागि लड्न असम्भव हुन्छ । स्थानिय सङ्किर्णता भनेको सर्वहारा वर्गको विपरित वर्ग जन्माउने औजार हो ।

त्यसकारण यस्ता संकिर्णतावाट सच्चा कम्युनिस्ट पार्टी र संगठनलाई मुक्त नगरी , सच्चा क्रान्तिकारी मुक्त नभइ त्यस्तोपार्टी र कार्यकर्ताले सर्वहारा वर्गलाई मुक्त गर्ने सपना बाँड्नु एक मृगतृष्णा सिवाय अरु हुनसक्दैन ।

एल.बि सुजन
नेकपा(बहुमत) का युवा नेता

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal