आज :

राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो, प्रशिक्षकले वचन तोडेको आरोप

  • अनलाइन डबली

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । प्रशिक्षक जोर्जे जेसुससँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका रोनाल्डोले आफू अझंैपनि देशका लागि खेल्न र उपाधि जित्न प्रतिबद्ध रहेको बताएका हुन् ।

साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो धारणा सार्वजनिक गर्दै आफू शारीरिक रूपमा फिट रहेर क्लबका लागि खेलिरहेको अवस्थामा राष्ट्रिय टोलीमा उपलब्ध हुने बताएका छन् । ‘मैले निलम्बनसम्बन्धी सम्भावित सजाय भोगिसकेपछि राष्ट्रिय टोलीका लागि उपलब्ध हुनेछु । आजसम्म जस्तै आगामी दिनमा पनि देशका लागि प्रतिस्पर्धा गर्न र जित्न चाहन्छु,’ उनले लेखेका छन् ।

युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा आफूलाई मैदानमा उतार्ने अपेक्षा गराइए पनि प्रशिक्षकले अन्तिम समयमा खेल्न नदिएपछि विवाद चर्किएको रोनाल्डोको भनाइ छ । उनले आफूले मध्यान्तरदेखि नै वार्मअप गरे पनि मैदानमा बोलाउने समयको प्रतीक्षा गर्दागर्दै खेल सकिएको बताएका छन् । ‘प्रशिक्षकले मसँग गरेको वाचा तोडे,’ रोनाल्डोले भनेका छन् ।

रोनाल्डो र जेसुस यसअघि साउदी क्लब अल नासरमा सँगै काम गरिसकेका छन् । विवाद बढेपछि उनीहरूबीच साउदी प्रो लिग क्लबका खेल निर्देशक सिमाओ काउटिन्होको उपस्थितिमा छलफल भएको थियो । रोनाल्डोका अनुसार छलफलमा जेसुसले सार्वजनिक रूपमा घटनाबारे स्पष्टीकरण दिने सहमति भएको थियो । त्यसका लागि आठ बुँदाको योजना पनि तयार गरिएको थियो ।

तर, प्रशिक्षकले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति छलफलमा भएको सहमतिअनुसार नभएको रोनाल्डोको आरोप छ । उनले प्रशिक्षकले दोस्रो पटक आफ्नो वाचा तोडेको भन्दै थप आश्वासनको प्रतीक्षा नगरी प्रशिक्षण शिविर छाड्ने निर्णय गरेको बताएका छन् ।

यद्यपि, जेसुसले रोनाल्डोसँग त्यस्तो सहमति नभएको दाबी गरेका छन् । उनले रोनाल्डोको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनालाई भने खुला राखेका छन् । रोनाल्डोले टोलीका सहकर्मी र पोर्चुगिज जनतासँग शिविर छाडेको घटनाका लागि माफी पनि मागेका छन् । पोर्चुगल फुटबल महासंघले आफूलाई दिने कुनै पनि सजाय स्वीकार गर्ने उनको भनाइ छ ।

आफ्नो बिदाइ खेलबारे भइरहेको चर्चाप्रति प्रतिक्रिया दिँदै उनले राष्ट्रिय टोलीबाट बिदाइ हुने खेलका लागि समय रहेको तर अहिले आफ्नो प्राथमिकता प्रतिस्पर्धा गर्नु रहेको बताए । ‘मेरा समर्थक र विशेषगरी पोर्चुगिज जनतालाई वाचा गर्न सक्छु, हाम्रो बिदाइ खेल हुनेछ । एक वा त्योभन्दा बढी खेल पनि हुन सक्छन् । त्यसका लागि समय छ । तर राष्ट्रिय टोलीबारे सोच्दा मेरो ध्यान प्रतिस्पर्धा गर्नेमै हुन्छ,’ उनले भनेका छन् ।

पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । पछिल्लो अभिव्यक्तिले तत्कालका लागि उनको अन्तर्राष्ट्रिय करियर अन्त्य हुने अड्कलबाजीलाई कमजोर बनाएको छ । उनले राष्ट्रिय टोलीबाट औपचारिक बिदाइभन्दा पनि देशका लागि खेल्ने र उपाधि जित्ने आफ्नो चाहना प्राथमिकतामा रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal