आज :

विपत् र पार्टी एकताको प्रयासले कांग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित भयो : गगन थापा

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपत्का घटना र पार्टीभित्र बृहत्तर एकताको वातावरण निर्माण गर्ने प्रयासका कारण पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित भएको बताएका छन् ।

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्बोधन गर्दै सभापति थापाले कानुनी जिम्मेवारी पूरा गर्ने क्रममा महाधिवेशनमा आइपुगेको र यसबीचमा आएको विपत्का कारण पार्टीका कार्यक्रमसमेत प्रभावित भएको बताए ।

उनले भने, ‘विपत्का कारण हाम्रा कार्यक्रमहरू प्रभावित भए । साथै, पार्टीभित्र बृहत्तर एकताको वातावरण बनाउने प्रयासमा पनि हामी लाग्यौँ। सबै साथीहरूलाई एक ठाउँमा ल्याउने क्रममा केही कार्यतालिका तलमाथि हुन पुगे ।’

उनले पार्टीभित्र बृहत्तर एकताको वातावरण बनाउन आफूले सक्दो प्रयास गरेको उल्लेख गर्दै उपसभापतिलगायत पार्टीका अन्य नेताहरू तथा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले समेत एकताका लागि सहयोग गरेको बताए ।

पार्टीको विधानले समेत सदस्यता अद्यावधिकलाई आवश्यक बनाएको भन्दै उनले महाधिवेशनपछि पनि सदस्यता अद्यावधिकको काम निरन्तर अघि बढाउनुपर्ने बताए ।

तर पार्टीभित्रको राजनीतिक परिस्थितिका कारण अद्यावधिक नगरेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी हुने अवसर दिनुपर्ने अवस्था आएको उनले बताए । त्यसका लागि विशेष राजनीतिक निर्णय गरिएकाले महाधिवेशनको कार्यतालिका प्रभावित भएको थापाको भनाइ छ ।

उनले सदस्यता विवरण समयमै अद्यावधिक भएको भए महाधिवेशनका क्रममा विभिन्न स्थानमा देखिएका विवाद न्यूनीकरण गर्न सकिने बताए । सबै सदस्यसँग एनसी आईडी नम्बर भएको भए महाधिवेशन सम्पन्न गर्ने क्रममा उत्पन्न भएका झमेला नहुने उनको भनाइ थियो ।

थापाले पार्टीभित्रको एकताका लागि प्रयास गर्दा सदस्यतासम्बन्धी निर्णयसमेत अन्तिम समयसम्म धकेलिएको र त्यसको प्रत्यक्ष प्रभाव महाधिवेशनको कार्यतालिकामा परेको बताए ।

महाधिवेशनमा करिब ७ हजार प्रतिनिधि सहभागी रहेको उल्लेख गर्दै थापाले ठूलो संख्यामा प्रतिनिधि अट्ने उपयुक्त स्थानको अभावका कारण बन्दसत्र व्यवस्थापनमा समस्या भएको बताए ।

उनका अनुसार काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । बन्दसत्र भने व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी भए पनि ठूलो संख्यामा प्रतिनिधि अट्ने उपयुक्त स्थान पाउन कठिन भएको उनले बताए ।

बन्दसत्रका क्रममा प्रतिनिधिहरूलाई परेको असहजताप्रति थापाले क्षमासमेत मागेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal