
कालो झोला निशाचरले भिरेको
रातो झोलाले बादशाहको मुटु चिरेको
झोलाका कारखाना बेग्लै
झोला भिर्ने अनुहार छुट्टै
झोला बुन्ने कच्चा माल अलग्गै
स्पार्टाकसले पुरानो रेश्मी धागोले
कापुवाका अखाडामा दासहरुका रक्त पसिनाको
लेदोबाट बनेका रेश्मी रेशाले
नौलो झोला बनाए।
झोला ब्रान्डिङ्ग भयो
बजार भरी तहल्का मचायो
युरोप एशियामा प्रचार कमायो
झोलाहरु लेनिनग्रादमा परेड खेल्न थाले
झोलाहरुमा सजिन थाले चेहरु
झोलाहरु भरिन लागे बारुदले
झोलाहरु बौरीन थाले
इन्क्लाब – जिन्दावाद ! को नारामा ।
झोला हुत्तिदै हिमालय तिर अनि आयो
रातो झोला बोक्न हौसिएका दशरथ चन्द
बारुदी झोले बने भिमदत्त पन्त
सुखानीमा हौसीए बीरहरु
सिस्ने जलजलाको सिरेटोमा
रामारोशनको मैदानमा
कति छुटे झोलाहरु
कति निस्वास भए चोलाहरु ।
अचेल झोलाका माङ्साहारी दातहरुले
चपाउछ मान्छेहरुका मुटु
हुर्मत लिन्छ सुनौला सपनाहरुको
कहिले अनागरिकहरु झोला बोकाउँदै
सात समुन्द्र पारी उडछ्न्
फेरि भिजिट भीसाको बाटो हुँदै
खाडीका गल्लीमा भौतारिँदै
कैयौ झोलाहरु फर्किन्छ्न्
रातो बाकसमा अटेस मटेस भएर।
- जेष्ठ २०, २०८२ कैलाली