
म सानो छँदा
क्षितिजको डाँडाले
आकाश छोएको सोच्थेँ,
उदाउँदै गरेको लालित्य
आगोको लप्का सम्झिन्थेँ,
हवाईजहाजलाई
बासस्थान खोज्दै डुलिरहेको ठान्थेँ।
कालान्तरमा,
क्षितिजको त्यो रातो बिहानी
मध्यान्तरमा फिक्का भयो,
म पनि पुगेँ अग्लो शिखरमा—
जहाँ प्लेन आयो,
अन्य डाँडाका टाउका छिचोल्दै
अनन्त आकाशतिर उड्यो।
र,
हिमालको काखबाट
एक-एक गर्दै उडे नौजवानहरू,
तर म अझै पर्खिरहेछु—
तिनीहरू फर्किने छाया बोकेर
भोलिको बिहान उज्यालो बनाउने
त्यो एउटै सपना लिएर।
२०८१ बैशाख १६