आज :

लघुवित्त पीडितले भनेः सर्बोच्च अदालतको फैसला कार्यान्वयन नभए संघर्षमा उत्रन्छौं

  • धनन्जय बुढा

काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिवार राजधानीको संवाद डबलीमा समितिले पत्रकार सम्मेलनको आयोजना गरी सर्बोच्च अदालते पीडितको पक्षमा गरेको फैसला कार्यान्वयन गर्नसमेत माग गरेको छ ।

समितिका अध्यक्ष मनिराम ज्ञवालीले ५ वर्षदेखि निरन्तर संघर्षपछि तत्कालिन प्रचण्ड सरकारसँग पीडितहरुको समस्या समाधानको लागि सहमति भएको तर अझै पनि त्यसको कार्यान्वयन नभएको गुनासो गरे । २०८०÷०८१ मा तत्कालिन डेपुटी गभर्नर डा.निलम ढुंगाना तिमिसिनाको नेतृत्वमा गठित स्थलगत अध्ययन कार्यदलले प्रतिवेदन तयार गरि सार्वजनिक र कार्यान्वयनका लागि अर्थमन्त्रालय पुगेको ज्ञवालीले बताए । “प्रतिवेदन कार्यान्वयन नभएपछि लामो आन्दोलनपश्चत हामी न्यायालय जान बाध्य भयौं, सम्मानित सर्बोच्च अदालतद्वारा कार्यान्वयनका लागि भएको परमादेशको पनि वेवास्ता गरियो” ज्ञवालीले भने ।

ज्ञवालीले लघुवित्त सञ्चालकहरुले आफूहरुको आन्दोलनलाई कमजोर बनाउन पीडितबीचमा ‘फुटाउ र राज गर’को नीति अबलम्बन गरेको जनाउँदै भने,“हामीसँग कुनै आधिकारीक १२ बुँदे सम्झौता भएको छैन, बरु केही विकाउ मान्छेहरुको कारण भ्रम पैदा भएको हो ।”

“गरिब र विपन्न वर्गको नाममा नाफामुलक, शोषणमुलक, चर्कोब्याज र गरिवीको व्यापार गर्ने मानवता विरोधी लघुवित्तिय उत्पीडनको जालोलाई चुडाल्नै पर्छ” ज्ञवालीले भने ।

अधिवक्ता कृष्ण प्रसाद शर्माले संविधान र कानुन विपरित लघुवित्तहरुले ऋणिहरुलाई पीडित बनाएको बताएका छन् । “तपाईहरुले ऋण नतिर्ने भन्ने हैन, तिरिसकेपछि पनि संस्थाहरुले चक्रवृत्ति व्याज र अन्यायपूर्ण तरिकाले थोपरिएको कर्जा तिर्नुपर्दैन” शर्माले भने ।

जाली तमसुकको नाममा धितो जग्गा गुमाउने, बाँच्न पाउने अधिकार हनन्, अत्महत्य गर्न बाध्याताले राज्यको असफलता मात्रै नभएर मानवताविरुद्धको फौजदारी अपराध भएको अधिवक्ता शर्माको भनाई छ ।

समितिका संरक्षक अगस्त अधिकारीले २०७८ सालदेखि निरन्तर संघर्ष गर्दै आएको र ५ वर्षसम्म ५ वटा सरकार चलिरहँदासम्म पीडितले न्याय नपाउनु राज्य असफलताको पराकाष्टा भएको बताए ।
“२७ लाख लघुवित्त पीडित छँदै थिए, १५ सय १६ ले अत्महत्या गरिसके, बालेन सरकारले सुकुम्बासीका नाममा १६ लाख पीडित थपेको छ, ६० लाख दिदी बहिनी सडकमा उत्रिए के थेग्न सक्छ” अधिकारीले प्रश्न गरे ।

समितिका उपाध्यक्ष मणिप्रसाद चौलागाईले संघर्ष गरेको ५ वर्ष वित्दा पनि न्याय नपाएको भन्दै अब थप कडा संघर्ष गर्न परे लघुवित्त संस्थाहरु नरहने चेतावनी दिए ।

अर्की उपाध्यक्ष धनकुमारी विश्वकर्माले लघुवित्तहरु ‘उडुस’ जस्तै मोटाउँदै जाने, आफूहरु सडकमा पुग्नुपर्ने अवस्थाले थप आक्रोशित बनाएको बताइन् । “संविधानको कुनै पनि धाराले शोषण स्वीकार्दैन, त्यसैले हामीमाथि कुनै पनि फौजदारी मुद्धा लाग्दैन, लगुवित्तको अन्यायपूर्ण ऋण तिर्न बाध्य छैनौं” विश्वकर्माले भनिन् ।

अर्का उपाध्यक्ष अजुर्न विश्वकर्माले लघुवित्तको चर्को ब्याजमा, ऋणको चंगुल, सामाजिकरुपमा अपमानले आफूहरुसँग न्यायको लागि संघर्षको विकल्प नरहेकोले जस्तोसुकै लडाई लड्न तयार रहेको बताए ।

सिराहाका पीडित धनिकलाल चौधरी, काभ्रेका पीडित प्रिया केसी, पाल्पका पीडित तारा पण्डे र अर्घाखाँचीका पीडित दुर्गा बहादुर क्षेत्रीले लघुवित्तका सञ्चालकहरुले फौजदारी मुद्धा सम्बन्धि दायर गरेको रिटमा आफूहरुमाथि फौजदारी मुद्धा चलाउन नमिल्ने भनि गरेको परमादेशप्रति सम्मान प्रकट गरे । उक्त परमादेशलाई गलत प्रचार गरेर पीडितहरुलाई ज्यादती गर्ने काम कर्मचारीहरुबाट भइरहेको अवस्थामा डटेर प्रतिवाद गर्ने चेतावनी दिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal