आज :

मेरो जीवनमा आमा

  • सत्य पहाडी

लामो समय भयो आमा बिरामी भएको । सबैभन्दा बलियो देखिने मेरी आमा डेढ वर्ष भयो, सन्चो हुने अवस्था देखिएको छैन । हाम्रो परिवारमा कसैलाई पनि क्यान्सर भएको थिएन । आमालाई अचानक आमाशयको क्यान्सर देखियो । म पार्टी केन्द्रले चलाएकोे अभियानमा थिएँ ।

अचानक आमा बिरामी भएको खबर आयो । सायद धेरै लामो समयसम्म एक्लै राखेर होला, स्वास्थ्यमा ध्यान पुग्न सकेन । आज गम्भीर विरामी आमाको छेउमा छु । आमाले भनेका कुरा सुनिरहेकी छुु किनकि हिजो आमाको काखमा बिताउने समय समाज रूपान्तरणको अभियान र वर्गमुक्तिको आन्दोलनमा बित्यो ।

हिजो पनि सुख भएन । आज सुख होला भनेको न त खान मिल्छ, न त बोल्न नै । आमा फत्फताई रहनुभएको थियो । म नजिकै गएर बसेँ र आमाको कुराहरू सुन्ने विचार गरेँ । आमाको नजिकै बसेको हुनाले आमा खुसी भइन् र भनिन्, “म धेरै बाँच्दिनँ कि क्या हो ।” मैले आँखामा आँसु लुकाउँदै भनेँ, “तपाईंंलाई केही हुँदैन आमा ।” आमा भन्दै हुनुहुन्थ्यो, “मलार्ई कुनै ठूलो रोग लागेको छ । तिमीहरूले भनिरहेका छैनौ ।”

म कसरी भनूँ । आमालाई आफू मर्दै छु भन्ने जान्दा कस्तो लाग्ला ? एक मनले भन्थ्यो आमालाई जीवनमा कहिले ढाँटिनँ, अब ढाँट्न पर्ने भो । कसैको बारेमा केही सोच्न मन थिएन । केवल आमाको काखमा बसिरहूँ जस्तै । बाबाको त अनुहार पनि राम्रोसँग याद छैन । आमाले त्यो पुरुष प्रधान सामन्तवादी रुढीग्रस्त समाजसँग लडेरै हामीलाई साक्षर बनाउनुभयो । धेरै लड्नुभयो । त्यो समाजसँग जसले विधवाको अनुहारलाई अलच्छिन्को उपमा दिन्थ्यो । त्यति बेला सात जना हामी भाइ–बहिनीलाई पालन–पोषण गर्न र पढाउन कति गाह्रो भयो होला । म त कल्पना गर्दा पनि कथा जस्तै मान्छु । मलाई थाहा छैन, धेरै कुराहरू तर आमाको मुखबाट सुन्दा पनि कहाली लाग्छ । त्यो कहालीलाग्दो कथा नै मेरो जीवनको कठोरताको आधार हो; जसले मलाई आमूल परिवर्तनको यात्रा सुरु गर्न सहयोग ग¥यो । धेरै सोचेर मैले आमालाई यो कुरा भन्दिनँ भन्ने अठोट गरेँ ।

एकातिर राजनीतिक उथल–पुथल र घम्साघम्सी अर्कोतिर चुनावको ऋणले आहत बनाइरहेको अवस्थामा त्यस्तै जिम्मेवारी र खुट्टा तानातान । आमाको त्यो अवस्था सायद म आफैँ सङ्कटको भुमरीभित्र लुटपुटिएर हाँसिरहेकी थिएँ । आँसुहरू पिएर लड्न त आमाले नै सिकाउनुभयो । म कसरी आमाको यो अवस्थालाई नजरअन्दाज गरेर महान् आदर्शवादी नेता बनेर आमालाई छोडेर हिंड्न सक्थेँ । मैले केही समय आमासँगै बिताउने अठोट गरेँ । आक्कल–झुक्कल आमालाई अलि सन्चो भएको बेला एक÷दुई घन्टाको लागि बाहिर काममा जान्थेँ । करिब एक वर्ष भो, आमासँगै रहने गरेकी छु । अलिकता जिम्मेवारीको औपचारिकता निभाउँदै आमाको ख्यालमा समय बिताइरहेकी छु ।

सायद २०४२ सालतिर होला, बुबा बितेको केही वर्ष भएको थियो । हाम्रो साथमा हाम्रो ठूल्दाइ नि हुनुहुन्थ्यो । त्यति बेला म त्यस्तै तीन÷चार कक्षामा पढ्थेँ होला । धनी परिवारको गरिब छोराको रूपमा चिनिने अति परिश्रमी मेरो बुबा मेरो सबै थोक हुनुहुन्थ्यो । मैले समाजलाई चिन्ने शिक्षा उहाँबाट नै पाएँ तर विकल्पको रूपमा सोच्ने चेतना बनिसकेको थिएन । बाबापछिको मेरो ठुल्दाइ बाबा जस्तै माया गर्ने अभिभावक हुनुहुन्थ्यो । सबैभन्दा कान्छो बहिनी भएकाले मलाई माया गर्नेको कमी थिएन । हिउँद लाग्यो भने लामो रात हुने, राति अबेरसम्म छलफल गर्ने, कथा सुनाउने हाम्रो घरको चलन थियो । यति मात्र होइन, रातिमा ऊन छुन्ने, ताकु कात्ने काम पनि सँगसँगै हुन्थ्यो । हाम्रो घरमा प्रायः प्रगतिशील कथाहरू जो किताबमा लेखिएका र यथार्थतामा आधारित हुन्थे । सधैँझैँ एक हिउँदमा दुई÷तीनवटा कथाका किताबहरू सयुंक्त रूपमा अध्ययन गरिन्थ्यो । एउटाले पढेर व्याख्या गर्ने अरूले सुन्दै काम गर्ने । राति काम गर्दै पीडालु, कद्दु खाँदै काम गर्नुको मज्जा नै अर्कै हुन्थ्यो ।

सबैभन्दा धेरै कथा पढ्ने जिम्मा ठुल्दाइकै हुन्थ्यो । ठुल्दाइलाई अक्सर पढ्ने जिम्मा नै पर्नुको कारण थियो, दाइलाई ताकु काँत्न आउँदैनथ्यो, न ऊन छुन्न नै आउँथ्यो । त्यसैले आमाले भन्नुहुन्थ्यो, “जेठाको काम पढ्ने, अरूको काम ऊन छुन्ने ।” दाइ मख्ख परेर किताब पढ्नुहुन्थ्यो । लु सुनका कथाहरू पढ्दै व्याख्या गर्दा त दाइको शरीरको हाउभाउ नै अर्कै हुन्थ्यो । अनुहारको चमक अनि व्याख्या गर्ने शैली पनि उस्तै हुन्थ्यो । अक्सर शुक्रबार र शनिबार हाम्रा लागि हप्ताको सबैभन्दा रमाइला दिन हुन्थे । माइला दाइ स्कुलबाट घरमा आउनुभएको हुन्थ्यो । लिला दिदी, माइली दिदी र हरि दाइबाहेक हामी सबै घरमा नै हुन्थ्यौँ ।

डोल्पा जिल्ला पहाडीहरूको एउटा गाउँँ जो लिकु गाविसको वडा न. ४ मा अक्सर पढेका मान्छे हुन्छन् भनेर चिनिन्थ्यो भने अर्कोतिर नामुद सामन्तको गाउँँ भनेर पनि चिनिन्थ्यो । त्यही गाउँँका हामी अलि छुट्टै जस्तै मानिन्थ्यौँ । करिब एक किलोमिटर पर हामी पढ्ने स्कुल थियो । त्यसको नजिकै सबै जनाले पशु जस्तै लादिएर बनाइदिएको ठूलाबडाको सिमेन्टेड घर थियो । त्यसको दक्षिण पश्चिमपट्टि स्कुल जाने बाटो र पश्चिम उत्तरपट्टि मकै, गहुँ, धान रोप्ने स्वाडा र खेतको सबैभन्दा नजिक उही मन्त्रीको अर्को घर थियो । त्यसको पछाडिपट्टि साइँला बुबाको घर थियो । बिचमा दुई तले झुप्रो देखिने हाम्रो घर थियो । वरिपरि हाम्रो आँगन च्यापेर ज्योति काकाले घर बनाएका थिए । हाम्रै वर्गका गाउँले तेह्र दिने सन्तानका हामै्र जस्ता घर थिए भने पछाडिपट्टि दुःखले जीवन बिताएकी कान्छी फुपू, पातली फुपू, कर्मजित फुपाजू र आइते दाइका भत्किनै लागेका घर थिए । हामीले त घर फेरेका थियौँ तर अरूका त्यस्तै थिए । हामी त्यहाँ भएकाले सबै हामी कहाँ नै राति बस्न आउँथे ।

ठेगाना थिएन, जिन्दगीले कतिखेर धोका दिने हो भनेर । उदेकलाग्दो जिन्दगीलाई फेरेर रहरलाग्दो बनाउने सपना भर्खरै जाग्दै थियो । जिन्दगी कठोर थियो तर आत्मसम्मानपूर्ण थियो । बच्चा अवस्थामा देखेको एउटा सपना र त्यो सपना पूरा गर्न उत्साहित मन दुःखका कहालीलाग्दा पहाड काट्न तयार थियो । गरिबसँगको गहिरो नाता थियो मेरो । प्रत्येक दिन नुन चोरेर प्रत्येकका घरमा पु¥याउँदा हाम्रो घरको सन्दुक नै खाली हुन्थ्यो । खोजी हुन्थ्यो, पत्ता लाग्थ्यो तर मलाई घरमा अनौठो रूपमा हेरिन्थ्यो । गाली पाइन्थ्यो । एक हप्तापछि फेरि सन्दुकमा नुन जस्ताको तस्तै भरिन्थ्यो । आफ्नो घरबाट चोरेर नुनै नहुनेकोमा पु¥याउने मेरो काम सुरु हुन्थ्यो । त्यसैले होला, मेरो घर वरिपरिका परिवारहरू मबाट प्रभावित थिए । दिनभरि आलु, मकै, सिस्नोे खोजेर जीविकोर्पाजन गर्नेहरूले सबैभन्दा मीठो खाने भनेको आलु र सिस्नो हुन्थ्यो । त्यही आलु र सिस्नु मेरो पनि मन पर्ने परिकार थियो ।

सधैँ खानलाई निम्तो हुन्थ्यो । घरमा खाना खाने समय हुन्थ्यो तर अनेक बहाना गरेर उतै खाना खान जान्थेँ । गाउँँबाट कतै अर्को गाउँ जान परेमा मलार्ई चिन्ता लाग्थ्यो, आज ती घरमा चुलो बले होला कि बलेन होला भनेर । म छिट्टै फर्किने प्रयत्न गर्दथेँ । पछि मलाई थाहा भयो, अभाव र गरिबीमा भएकालाई माथि उठाउने कुरा दुई दिन मैले चोरेर दिएको नुनले सफल हुँदैन । यस्तो विभेद र असमानताको अन्त्य गर्न त्यही खालको राज्य व्यवस्थाबाट मात्र सम्भव छ । मैले धेरै रात दिन सोचे कि कसरी मान्छे मान्छे एउटै भएर बाँच्ने दिन आउँन सक्छ । रात दिन सोचेपछि खोजमा लागेँ । एउटा मात्र बाटो फेला पारेँ, विभेदकारी र निरङ्कुश राज्य व्यवस्थाको अन्त्य र जनता नै शासनको मालिक भए मात्र असमानताको अन्त्य हुन्छ । तब सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक रूपान्तरणको लागि विद्रोहको बाटो तय गर्न पुगेँ ।

म साह्रै गहिरिएर सोचिरहेकी थिइनँ । आमा एक घन्टा मात्र निदाउनुभयो भने पनि आफ्नो उद्देश्यमा सानो समय नि जोड्ने गर्थें । मेरी आमा मेरो यात्राको पनि कमान्डर थिइन् । न्याय र समानताको यात्रामा आमाले जहिले पनि ऊर्जा नै थप्नुभयो । मलार्ई कहिले पनि आफ्नो माया जालको मोहमा निष्क्रिय बन्न दिनुभएन । दिगो विश्वास, माया र प्रेरणा आमाले दिएको ऊर्जा थियो । मलार्ई थाहा थियो– न्याय, समानता र सत्यको बाटोमा हिंड्नेहरूको जिन्दगी दुःखैले भरिएको हुन्छ तर महान् हुन्छ । सधैँभरि यस्तै लाग्थ्यो कि मान्छेको जिन्दगी दुःख, सुख, पीडा, खुसीको सम्मिश्रण हो । भोगाइको सार हो जिन्दगी तर जहिले पनि विचार महान् हुनुपर्छ । आमाले मलार्ई सम्झाउने कुरा यही हुन्थ्यो ।

आमासँगका दिनहरू धेरै छैनन् । सम्झिँदा पनि मुटु झस्केर आउँथ्यो । आमासँग जीवनको थोरै मात्र खुसीको समय रह्यो । धेरै बाँच्ने आकाङ्क्षा हुने बेला थोरै पनि समय मसँग रहेन । जब जिन्दगीभन्दा मृत्यु प्यारो छ भन्ने दिनहरूमा आँखाभरि आँसु पारेर आमाले सधैँ भन्नुहुन्थ्यो । आमाको अगाडि भक्कानिएर रुन मन थियो तर त्यो सौभाग्य कहाँ थियो र ? आमाले आफू अब केही दिनमा सदाको लागि छोडेर जाँदै छु भन्ने थाहा पाउनुभयो भने भन्ने डरले आमाको अगाडि कुनै पनि शङ्का उठ्ने कुरा गर्दैनथ्यौँ । विस्तारै आमा गल्दै हुनुहुन्थ्यो । दिनहरू विस्तारै कठोर बन्दै थिए ।

मन विस्तारै पीडाले छटपटाउँदै थियो । आमाको यो दिन अति कष्टमय भयो । म सम्झिन सकिरहेकी छैन, आमाको अभावमा मेरो जिन्दगी कस्तो होला ? तर यति दृढता भने पहिलेदेखि नै थियो कि मैले मेरो आमाको सन्तान हुनुको अर्थ भुल्नुहुँदैन । मैले रोजेको बाटो ठीक छ । म आफ्नै माटोका लागि लड्नुपर्छ । बस आमासँगको अन्तिम बसाइ थियो, सायद यो । मैले एकै पटक सबै विगत सम्झिरहेकी थिएँ । आमासँगका अन्तिम दिन निकट हुँदै थिए । समय छोटिँदै थियो । मलार्ई कहालिएर रुन मन थियो । तर अब रुने समय थिएन । यो मेरो जीवनको यथार्थ थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal