
कर्णाली प्रदेशको मुटु हो-विरेन्द्रनगर । विकासको नाममा चिटिक्क सहर फस्टाउँदै छ, घरहरू अग्लिँदै छन्, सडकहरू कालोपत्रे भइरहेका छन्। तर यस विरेन्द्रनगरमा अझै पनि शुद्ध खानेपानीको अभाव छ।
सहरको छेउछाउमा खोलानाला र भेरी नदी बगिरहेका छन्, पानीका स्रोतहरू छन्, तर त्यही पानी पिउन योग्य छैन। सहरको विकाससँगै शुद्ध पानीको आवश्यकता झनै बढ्दो छ ।
यही अभावलाई अन्त्य गर्ने उद्देश्यले बिगत १२ बर्षदेखि सञ्चालन भैरहेको छ-मध्य पश्चिम वाटर एन्ड वेवरेज इन्डस्ट्रीज प्रा.लि. । यसको अध्यक्ष हुन्, कृष्णप्रसाद आचार्य।
७० को दशकको शुरुवाततिर, जब मुलुक शान्ति प्रक्रियामा भर्खरै होमिएको थियो, देशमा राजनीतिक स्थायित्वको माग थियो, त्यही बेला आचार्यले आफ्नो जीवनमा ठूलो निर्णय गरे—कर्णालीमै शुद्ध पिउने पानीको उद्योग खोल्ने।
आचार्यले चीन, युएई, भारत र नेपालका कैयौँ सहरहरू घुमे। त्यहाँका बजार, प्रविधि, उत्पादनको गुणस्तर र व्यवस्थापन पद्धतिले उनलाई मोहित तुल्यायो। उनले थाहा पाए—आफनै ठाउँमा पनि उद्योग खोल्न सकिन्छ, तर इच्छा र आत्मबल चाहिन्छ।
त्यो बेला आचार्यको उमेर थियो २५ वर्षको । सपना थियो—कर्णालीमा पानीको व्यापार होइन, शुद्ध पिउने पानी उत्पादन गर्ने र उपभोक्ताको सेवा गर्ने । उनको सपना त्यतिबेला सायद हाँसोको विषय बन्न सक्थ्यो, तर आज त्यो सपना हजारौँ लिटर शुद्ध पिउने पानीको रूपमा बगिरहेको छ।
२०६९ साल वैशाख ११ गते, सुर्खेतको औद्योगिक क्षेत्र, विरेन्द्रनगर–१२ मा उद्योग उद्घाटन गरियो। सुरुमा जम्मा १ करोड रुपैयाँको लगानी गरियो । थोरै कर्मचारी, थोरै उपकरण। तर ठूलो आत्मबल लिएर काम थालियो ।
आज त्यही उद्योग २० करोड रुपैयाँको चालु पूँजी र चुक्ता पूँजी मिलाएर २७ करोडको कारोबार गर्दैछ। ८२ जनाले रोजगारी पाएका छन् । यो केवल आर्थिक व्यापार होइन, कर्णालीमै आत्मनिर्भरता र रोजगारीको केन्द्र हो।
पानी, प्रविधि र परिश्रमको समिश्रण
उद्योगले बोतल, जार, ट्यांकर तथा प्रोसेस्ड ड्रिकिङ वाटर उत्पादन गर्दै आएको छ। पानीलाई सुरक्षित र शुद्ध बनाउने प्रक्रियामा RO सिस्टम, UV ट्रीटमेन्ट र ओजोनेसनजस्ता आधुनिक प्रविधिहरूको प्रयोग गरिन्छ।
उत्पादन अघि र पछि, प्रत्येक चरणमा पानीको गुणस्तर सुनिश्चित गर्न नियमित रूपमा नमुना परीक्षण गरिन्छ। साथै, यो सम्पूर्ण प्रक्रिया खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागबाट स्वीकृत भएको छ, जसले उपभोक्तालाई भरपर्दो र सुरक्षित पानीको सुनिश्चितता दिन्छ।
चुनौतीहरू
उद्योगले दैनिक ५ देखि ६ हजार कार्टुन पानी उत्पादन गरिरहेको छ र दैलेख, कालिकोट, जाजरकोट, जुम्ला, नेपालगञ्ज जस्ता दुर्गम तथा शहरी क्षेत्रहरूमा आपूर्ति भइरहेको छ । यो व्यवसाय पूर्णरूपमा सिजनल छ। गर्मीयाममा माग उच्च हुने भए पनि जाडोयाममा मागमा तीव्र गिरावट आउँछ, जसका कारण भण्डारण तथा विक्रिको समस्या देखिन्छ।
उद्योग सञ्चालनका थप चुनौतीहरू पनि गम्भीर छन्। उद्योगी आचार्यका अनुसार, “सरकार स्थिर छैन, नीति छैन, सहयोग छैन। बैंकिङ प्रणालीले साथ दिँदैन। उद्योगीका लागि लगानीको वातावरण छैन।”
विनियोजनको अभाव, करको चाप, सीपयुक्त जनशक्तिको कमी, प्रविधि मर्मत तथा बजार व्यवस्थापनमा संस्थागत समर्थन नहुनुजस्ता कुराले दीर्घकालीन व्यापारिक स्थायित्वमा असर पारेको छ। यदि सरकारले कर छुट, अनुदान, सीप विकास तालिम तथा बजार व्यवस्थापनमा सहजीकरण गर्यो भने, यस्तो उद्योगले रोजगारीका साथसाथै स्थानीय विकासको मेरुदण्ड बन्ने सम्भावना बोकेको छ।
नयाँ पुस्ताका लागि सन्देश
“नयाँ पुस्ताले पैसा मात्र होइन, सेवाको भावना लिएर लाग्नुपर्छ। पानी उद्योग स्थायी हो, तर इमान्दारीता चाहिन्छ।” आचार्यको यो भनाइ गम्भीर अनुभवको निचोड हो। उद्योगि कृष्णप्रसाद आचार्यको कथा केवल एक उद्योगको कथा होइन, यो एक व्यक्तिको सपना, संघर्ष र सफलताको गाथा हो।