आज :

कवि सत्य पहाडीको सिर्जनात्मक प्रतिरोध महत्वपूर्ण छ : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । कवि, गीतकार, निवन्धकार सत्य पहाडी लिखित दश कृतिहरुको सङ्ग्रह सत्य सञ्चयन विमोचन गर्दै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले स्रष्टा सत्य पहाडीलाई आफूले सानैदेखि चिनेको बताउँदै सिर्जनात्मक प्रतिरोध महत्वपूर्ण भएको बताएका छन् ।

समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण गर्दै कथा, उपन्यास र फिल्ममा नायक र खलनायकको द्वन्द्व भएझैं नेपाली समाज रुपान्तरणको अभियानमा पनि द्वन्द्व स्वभाविक भएको विश्लेषण गरेका छन् । समाज गतिशील भएकाले राजतन्त्रमा फर्कने वा समाजवादतिर जाने अन्तरविरोध सघन देखिए पनि नेपाली समाज अग्रगामी दिशामा अघि बढ्ने प्रचण्डले विश्लेषण गरेका छन् ।

कवि, साहित्यकार तथा संस्कृतिचिन्तक ईश्वरचन्द्र ज्ञवालीले चैत ५ को बलिदान र गौरवको महत्वलाई प्रकाश पारेका थिए भने कवि सत्य पहाडीका कवितासँग जनादेशबाट परिचित भएको र उनका सिर्जनाका विविध आयामसँग सत्य सञ्चयनले परिचित गराएको बताए । सत्यले आफ्ना सिर्जनामा वर्गीय, जातीय, क्षेत्रीय मुक्ति तथा लैंगिक समानताका पक्षमा आफूलाई दह्रोसँग उभ्याएको बताएका छन् । सत्य पहाडीको लेखनको मूल प्रवृत्ति प्रगतिवादी भएको विश्लेषण गरेका थिए ।

गीतकार, सङ्गीतकार एवम् बरिष्ठ जनकलाकार माइला लामाले प्रतिरोधको संस्कृतिलाई कसैले विर्सन नहुने बताएका थिए । प्रतिरोध सङ्घर्षका लागि सांस्कृतिक संयुक्त मोर्चा आजको आवश्यकता भएको बताएका छन् ।

आज विमोचित सत्य सञ्चयनमा तीन कवितासङ्ग्रह, चार संस्मरणसङ्ग्रह, एक डायरी, एक लेखसङ्ग्रह र एक जनयुद्धकालीन पत्रहरुको सङ्ग्रह गरी जम्मा दश कृति रहेका छन् । आगो, लाभा र हुरी, फर्जीका विरुद्ध र समयका यक्षप्रश्नहरु कवितासङ्ग्रह, मृत्युञ्जयी यात्रा, उत्सर्गगाथा, बेइजिङदेखि बालीसम्म, आमा एक जीवनदर्शन एक कमान्डर संस्मरणसङ्ग्रह, महात्रासदी कोभिड १९ को डायरी, जनयुद्ध, शान्ति र शिक्षाहरु (लेखसङ्ग्रह) र जनसमरका पत्र नामक कृति हालै प्रकाशित भएका हुन् ।

महान् नेपाली जनयुद्धका क्रममा २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा च्याङ्वा लामालगायतका जनकलाकारहरुको सामूहिक हत्यापछि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले २०५७ देखि सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आइरहेको छ ।

कवि सत्य पहाडी डोल्पा जिल्लाको त्रिपुरासुन्दरी वडा नं. १० लिकुमा २०३४ साल असोज ७ गते जन्मिएकी स्रष्टा हुन् । अखिल(क्रान्तिकारी)बाट राजनीतिक जीवनको प्रारम्भ गरेकी सत्यको पहिलो रचना जीवनयात्रा २०५२ मा जनादेशमा प्रकाशित भएको थियो भने पहिलो कृति जेल जीवनमा रहँदा २०५९ सालमा पर्खालभित्रको सन्देश (संयुक्त कवितासङ्ग्रह) प्रकाशित भएको थियो ।

साहित्यिक प्रतिभा पुरस्कार, इच्छुक प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेकी स्रष्टा सत्य पहाडी पूर्व शान्तिमन्त्री पनि हुन् । नेकपा(माओवादी केन्द)को स्थायी समिति सदस्य समेत रहेकी स्रष्टा सत्य पहाडी अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, मध्यपश्चिम साहित्य परिषद्, प्रगतिशील लेखक सङ्घ, इच्छुक सांस्कृतिक प्रतिष्ठानजस्ता साहित्य, कला र संस्कृतिसँग सम्बन्धित संस्थाहरुको नेतृत्व पनि गरिसकेकी छन् । यी दश कृतिहरुको सँगालो सत्य सञ्चयनको प्रकाशन आरम्भ प्रकाशन प्रा।लि काठमाडौँले गरेको हो भने सम्पादन कवि राजकुमार कुँवरले गरेका हुन् ।

सांस्कृतिक प्रतिरोध दिवसमा सहिद परिवार, जनसांस्कृतिक आन्दोलनमा योगदान गर्ने संस्कृतिकर्मीलाई सम्मान गरिएको थियो । सामाना सांस्कृतिक परिवारले जनसांस्कृतिक प्रस्तुति दिएको कार्यक्रममा जनकलाकार भीम कुमाखीले अध्यक्षता र कवि कुशल बोगटीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal