
नाम्खा गापा वड नं ६ हिमाल पारीको गाउँ लिमीबाट वडा अध्यक्ष पाल्जोर लामाको नेतृत्वमा ४४ जना लिम्यालहरुको समुह हुम्लाको उत्तरी हिमाल नारा पार गरेर सिमकोट पुगेको छ ।लिमी जानका लागि करीब ७ हजार मिटर अग्लो न्यालु र ६ हजार मिटर अग्लो नारा हिमाल पार गर्नुपर्छ । न्यालु बर्खाको समयमा मात्र पार गर्न सकिन्छ भने नारा कम हिउँ पर्दा हिउँदको समयमा सामुहिक रुपमा पार गर्न सकिन्छ ।
यो हिउँदमा पुस माघ महिनमा पाँच पटकसम्म हिमपात भए पनि अति कम हिमपात हुँदा कम हिउँ परेका कारण नारा हिमालको ओल्लो काख सिप्सीपेसम्म घोडा र याक प्रयोग गरेर ४४ जनाको समुह पुग्न सफल भएको छ भने त्यहाँबाट सिमकोटसम्म जीपको प्रयोग गरेर लिमीबाट सिमकोटसम्म दुई दिनमा पुग्न सफल भएको जानकारी वडा अध्यक्ष पाल्जोर लामाले दिएका छन् ।
यो वर्ष हिउँदको समयको लामो पुजाआजा समापन गरेर सिमकोट लगायत काठमाडौं लगायत अन्य शहरहरु र भारतमा समेत अत्यावश्यक काम भएकाले समुहमा आउनु परेको हो । अन्य वर्षमा हिउँदको समयम यसरी आउन सम्भव हुँदैन थियो ।
सिमकोटको काम सकेर केही शहर लागेका छन् भने केही हवाईजहाजबाट जानेक्रम जारी रहेकाले दुई तीन दिनमा काठमार्डौतिर झरेर चैत्र महिनामा लिमी पुग्ने गरी आउने कुरा वडा अध्यक्ष लामाले बताए ।
सम्भवतः ४४ जनाको समुहमा सिमकोटमा आउनु परेको पनि पहिलो घटना नै हो । यो वर्ष धेरै हिमपात नहुँदा स्थानीयहरु पनि चिन्तीत बनेका छन् ।