![](https://onlinedabali.com/wp-content/uploads/2025/02/Dog1.jpg)
हुम्लामा जङ्गली जनावरको अवैध चोरी शिकारी गर्ने अनेकौँ तरिका र विधि रहेका छन् । ती विधिमध्ये एक परम्परागत विधि हो मार्काे शिकारी कुकुर पाल्ने र कस्तुरी, भालु र बाघलगायतको चोरी शिकार गरी वर्षेनी लाखौँ कमाउने उद्यम गर्ने । यो शिकारी कुकुरलाई स्थानीय भाषामा मार्को भनिन्छ ।
हुम्लामा मार्कोको गाउँघरमा एक लाखदेखि सात लाखसम्म पर्ने गरेको पाइन्छ । चोरी शिकारीमा मार्कोको क्षमताअनुसार मोल निर्धारण हुने गर्दछ । अवैध चोरी शिकारी एक परम्परागत र मुनाफा योग्य कमाइ भएकोले वर्षको चार पाँच महिना जङ्गली जनवारको प्रजनन र अन्य समय मिलाएर व्यापक रूपमा चोरी शिकारी गरेर त्यसका ओखेटोपहारहरू हुम्लाका विभिन्न गाउँहरूदेखि लिएर नेपाललगायतका भारत र चीनका विभिन्न सहरमा बेचबिखन गर्ने गरिन्छ । छोटो समयमा नै लाखौँ कमाइने भएकाले यो पेशामा स्थानीयवासीको आकर्षण बढ्दो छ ।
पछिल्लो समयमा जलवायु परिवर्तन, बन बिनाशको मारमा जङ्गली जनवारहरू परिरहेको अवस्थामा शिकारीका लागि चुनौति थपिएको छ । बनजङ्गलको विनाश, बढ्दो चोरी शिकारीले बन्यजन्तुको मात्रा पनि निकै कम भएको छ । पहिले गाउँघरमा सहज ढङ्गले पाइने चराचुरुङ्गी, बन्यजन्तु अहिले लोपन्मुख हुँदै गएका छन् । पृथ्वी वन्यजन्तुको पनि घर हो । साझा स्थल हो भन्ने बुझाइ हुनुपर्ने शिक्षित र अगुवाहरू पनि देशको प्रचलित ऐन कानुनलाई एकातिर पन्छ्याएर मुनाफाको लोभमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा संरक्षित, सुरक्षित, बर्जित र निषेध गरिएका जङ्गली पशुपन्छीको चोरी शिकारी गरी विभिन्न प्रकारका आखेटोपहारहरू बेच्ने काममा लागेका छन् ।
सङ्क्रमणकालीन देशको वातावरणमा जसले जसरी सक्छ, त्यसरी लुट्न र कमाउन सजिलो मौका ठानिरहेका छन् । प्रचलित ऐन कानुनको धज्जी उडाउँदै राजनीतिक दबाबको बलमा यस्ता गैरकानुनी र अवैधानिक क्रियाकलापले मलजल पाएकाका छन् । शिकारी पेशातिर आकर्षण बढेको र चोरी शिकारी भइरहेको सरोकारवाला निकायलाई जानकारी भए पनि वेवास्ता गर्ने गरिएको देखिन्छ ।
पृथ्वीबाट सम्पूर्ण जीवजन्तुको विनाशले कुनै दिन मानिस रुखो, एक्लो र उदिग्न प्राणीमा फेरिने छ । आत्मग्लानी र पश्चातापले भरिनेछ । योगी नरहरीनाथले भनेझैँ सम्पूर्ण चराचर जगतको साम्यवाद नभई पृथ्वी सुन्दर हुँदैन ।
यसरी परम्परागत रूपमा गरिने र गरिदैँ आएका चोरी शिकारी न्यूनिकरणका लागि सम्बन्धित सबैले सचेत हुन आवश्यक देखिन्छ ।
सिमकोटमा कुकुर आतंक
मानव समुदायको एक अभिन्न पारिवारिक सदस्यका रूपमा पालित गरिँदै आएको कुकुर घरदेखि बनको संरक्षणका लागि एक जैविक पहरेदार, संरक्षक र घरपालुवा जन्तु पनि हो ।
कामको अवस्था हेरी विभिन्न प्रकारका कुकुर भए पनि हुम्लामा दुई प्रकारका कुकुर रहेका छन् जसमा मार्को र साधारण । मार्को कुकुरको मोल लाखौँ पर्ने भए पनि साधारण कुकुरको मोल दुई हजारदेखि १० हजारसम्म पर्ने गरेको छ । हाल सिमकोट गाउ“पालिकामा तीन सयभन्दा धेरै कुकुरहरू रहेको सिमकोट गाउँपालिका पशु सेवा शाखाले जनाएको छ ।
आजभोलि सामान्य कुकुरको मोल सालाखाला पाँच हजार स्थानीय बजारमा पर्ने गरेको छ । यो हिसाबले हाल सिमकोट गापामा मात्र पन्ध्र लाख बराबरको घरपालुवा कुकुर रहेका छन् ।यसले घरबारीको सुरक्षा गर्नुका साथै विभिन्न प्रकारका सामाजिक विकृतिबाट बचाउने गरेकाले यो मानिसको परिवारको अभिन्न अङ्ग बनेको छ ।
सिमकोटमा केही वर्षको अन्तरालमा विभिन्न निकायहरुको पहलमा कुकुर मार्ने काम भइरहेको छ तैपनि भुस्याहा कुकुरहरुको नियन्त्रण पूर्ण रुपमा हुन सकेको छैन । दैनिक रुपमा कुनै न कुनै व्यक्तिलाई भुस्याहा कुकुरले टोक्ने घटना बढ्दै गएकोले आवतजावतमा समस्या हुने गरेको स्थानीय शिक्षक राकेश बोहराले बताए ।