काठमाडौं ।
यतिबेला पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा कोषका ३७ जना श्रमिक धर्नामा बसेका छन् । गत २०८० असारको १ गतेबाट कोषले नियमित रुपमा जागीर खुवाएर तलब दिदैँ आएका श्रमिकमाथि तलब समेत नदिई ज्यादती गरेकाले उनीहरु यही पुस १ गतेबाट धर्नामा बसेका हुन् । धर्नामा बसेका श्रमिकहरुले आफूहरुमाथि कोषले बारम्बर ज्यादती गरी तलबसमेत नदिएकाले धर्नामा बस्न बाध्य भएको बताएका छन् । तलबबाटै आफ्नो र परिवारको गुजरा चलाउँदै आएको बताउने उनीहरुले कोषले आफूहरुलाई बारम्बार जागीरबाट हटाउन खोजेको समेत आरोप लगाए ।
धर्नाको समर्थनमा रहेका एकिकृत ट्रेड युनियन महासंघको सचिव रबि केसीले पशुपति क्षेत्र विकास कोषले ४० जना सरसफाइको श्रमिक राखेकोमध्ये महेश्वर राजवंशी, सन्तोष कार्की र तारा लामा गरी तीन जनालाई मात्र नियुक्तिपत्र दिएको र अन्यलाई नदिएको जानकारी गराए । उनका अनुसार कोषले ३७ जना श्रमिकलाई गत वर्षदेखि नै बारम्बार दुःख दिने काम गरिराखेको छ । पशुपति क्षेत्र विकास कोषबाट २०८१ को बैशाखसम्मको तलब नियमित रुपमा कोषकै नामबाट आइराखेकोमा गत जेठ र असारको तलब भने खुकुरी नेपाल कम्पनी भनेर एकैचोटी साउनमा आएपछि सोसम्बन्धमा श्रमिकहरु निवेदन दिन श्रम कार्यालय गएको उनले बताए । केसीले भने, ‘श्रम कार्यालय गइसकेपछि फेरि यता कोषले गएको दशैंताका श्रमिकहरुको तलब हालिदिएन र उहाँहरु मिडियासामु गएपछि तलब हालिदियो । फेरि श्रमिकहरुलाई २०८१ को साउन, भदौ र असोजको तलब टीआरएफ भन्ने कम्पनीले हालिदियो ।’ यसरी विभिन्न कम्पनीमार्फत तलब हालिदिने, तलब दिन नखोज्ने, कामबाट निकाल्न खोज्ने वाहना कोषले बारम्बार गर्दै आएको उनले बताए । कम्पनीको नाममा तलब आएपछि श्रमिकहरु श्रम विभाग गएको र श्रम विभागले पनि दोधारे फैसला गरिदिएको पिडित कर्मचारीहरुले आरोप लगाए । कर्मचारीहरुका अनुसार , ‘उता कोषले आफ्नै मजदुर हो भनेको पनि छ, मजदुरहरुले पनि तलबको स्टेटमेन्ट९विवरण० बुझाएकै छन् तर नियुक्तिपत्र देउ न त भनेर आदेश दिनुपर्नेमा श्रम विभागले पशुपति क्षेत्र विकास कोष वा आपूर्तिकर्ता कम्पनी भनेर अस्पष्ट निर्णय लेखिदियो । नियुक्तिपत्र नदिई काममा लगाउन पाइदैन दिनैपर्छ तर जसले दिए पनि हुन्छ भन्ने जस्तो दोधारे भाषा श्रम विभागले प्रयोग गरिदिएपछि श्रमिकहरु पुनरावेदन गर्नको लागि श्रम अदालत जानु भयो । जब श्रम अदालतमा मुद्दा दर्ता भयो त्यसपछाडी पशुपति कोष पनि मुद्दामा गयो । कोषले पनि काम लगाउदा नियुक्तिपत्र नदिइ काममा लगाउन पाएन । दोहोरो मुद्दा चलिराखेको स्थितिमा कोषको कार्यकारी प्रमुख सुभासचन्द जोशीको निर्देशन भन्दै सफाइको ४० जना कर्मचारीमध्येबाट नियुक्ति पाएका तीनजनामध्ये एकजना महेश्वर राजवंशीले बाँकी ३७ जना श्रमिकलाई खाली कागजमा हस्ताक्षर गराउन खोज्नु भयो । तर श्रमिकहरुले खाली कागजमा हस्ताक्षर गर्न मान्नु भएन ।
यस हस्ताक्षरसम्बन्धमा कोषलाई जानकारी पनि गरायौं तर उताबाट वेवास्ता गरिएको अवस्था छ ।’ यसरी पछिल्लो समय कोषले धर्नामा रहेका श्रमिकलाई कम्पनीको कर्मचारी बनाउने ताकेता गरेको देखिन्छ । कर्मचारीलाई कोषबाट तलब पनि खुवाउन नखोज्ने, खाली कागजमा हस्ताक्षर गर्न लगाएर कम्पनीको कर्मचारी बनाउन खोज्ने लगायतका ज्यादती कोषले गर्दै आएको छ । धर्नामा बसेका ३७ जना श्रमिकलाई कामबाट निकाल्न सके निकाल्ने नभए पनि कम्पनीबाट ल्याइएको मजदुर बनाएर कम्पनीबाट तलब खुवाउने ध्याउन्नमा यतिबेला कोषका कर्मचारी लागि परेका छन् ।