‘म संसारमा जन्मेको थिएँ र संसारका लागि जन्मेको थिएँ । म संसारलाई नै मेरो आश्चर्यजनक प्रतिभाले काम्ने बनाउनेछु ।’
(मेक्सिम गोर्की, देशद्रोहीकी आमा, विश्वप्रसिद्ध कथाहरू भाग एक, पृष्ठ ७)
पृष्ठभूमि
नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा कायापलट ल्याउने एक समग्र जनक्रान्ति थियो– महान् जनयुद्ध । त्यसले वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक शोषण, उत्पीडन र विभेदमा पिल्सिएका आमश्रमिक जनतामा नयाँ जागरण ल्यायो । नयाँ चेतना पैदा ग¥यो । नेपालको सत्तामा हेरफेर ल्यायो । सामन्तवादको अन्त्य ग¥यो । सामन्तवादको अवसानलाई सङ्ग्रहालयमा सजधज ग¥यो । त्यसले चेतनाका दृष्टिले सबैलाई ब्यँुझायो, हिँडायो र दौडायो । सामन्ती शोषण, उत्पीडन र विभेदबाट मुक्त पनि ग¥यो । लेनिनको शब्दमा ‘क्रान्तिले साँच्ची कति शीघ्रता तथा पूर्णतासाथ सिकाउँछ भने राजनीतिक विकासको शान्तिपूर्ण कालमा यो कुरा एकदम असम्भव लाग्न जान्छ । के कुरा महत्वपूर्ण छ भने नेताहरूलाई मात्र नभएर जनसाधारणलाई समेत सिकाउँछ ।’ महान् जनयुद्धले पूर्णतासाथ आमजनता, योद्धा र नेता सबैलाई सिकाएको मात्र छैन, शोषण, उत्पीडन र विभेदबाट मुक्त गरेको छ । आज ती सबैलाई प्रतिक्रान्तिले गाँज्नु विडम्बना हो ।
महान् जनयुद्ध साहित्य जगत्मा एक स्वर्णयुग पनि मानिन्छ । त्यसले दसौँ हजार मृत्युञ्जयी सपूत, योद्धा, नेता र नयाँ स्रष्टाहरू जन्मायो । महान् जनयुद्ध एक सङ्घर्ष, बलिदान र विजयको अमिट इतिहास हो । महान् माक्र्सले सन् १८७१ को मार्चमा पेरिस कम्युनका बारेमा ‘आकाशका विरुद्ध धावा बोलेका थिए’ भन्नुभएझैँ विश्वसाम्राज्यवाद र प्रतिक्रियावादी सत्ताका विरुद्धको धावा थियो । नेपाली महान् जनयुद्ध निष्पट्ट अन्धकार रातको जूनकीरी एवम् सहारा मरुभूमिमा पानीको मूल मात्र होइन, किताब दर्शनलाई जीवन दर्शनमा बदल्ने महान् प्रयोग थियो । त्यसले नेपाल र आमश्रमिक जनताको परिचय एवम् पहिचान बदल्यो । बुलेट र ब्यालेटको कथित फ्युजन नभएर कमरेड माओले चिनियाँ महान् जनयुद्ध मिलेट र बुलेटको योग भनेझैँ पुरानोको ध्वंस र नयाँको निर्माण महान् उद्देश्य एवम् सुन्दर सपना थियो– नेपाली महान् जनयुद्ध । लेनिनले ‘रेखागणितका स्वयम्सिद्ध सत्यहरूले मानिसको स्वार्थमाथि प्रभाव पार्ने भए तिनीहरूको पनि अवश्य खण्डन गरिन्थ्यो होला’ (लेनिन सेन्ट पिटर्सबर्ग, प्रकाशक– ओ र एम केद्रोभ परिवार । खण्ड १७, पृष्ठ १५–२६) भनी ‘माक्र्सवाद र संशोधनवाद’ लेखमा भनेझैँ महान् जनयुद्धका बारेमा साम्राज्यवादका हिमायतीहरू र संशोधनवादीहरूले सिता खाएर गीता गाउने भनेजस्तै जतिसुकै झूट्टो बकबास र प्रलाप गरे पनि त्यो महान् एवम् अजम्बरी छ ।
समग्रमा उलटपुलट र उथलपुथलको उद्देश्यमा सञ्चालित महान् जनयुद्ध विजयको सन्निकट पुगेर पनि निष्कर्षविहीन ढङ्गले सम्झौता वा आंशिक परिवर्तनमा सीमित हुनुले न्यायपूर्ण महान् जनयुद्धमा अभिव्यक्त जनादेशको उपहास र जनअपेक्षाको तेजोबध भयो । सामन्तवादको अन्त्य भयो तर त्यसको स्थान आश्रित नवऔपनिवेशिक पुँजीवादी दलालतन्त्रले लिएको छ । आज सिंहासनमा विराजमान सामन्ती सम्राट्को स्थान नवऔपनिवेशिक पुँजीजीवी दलालहरूले ओगटेका छन् । जनयुद्धको उच्च विकास एवम् पूर्ण विजय नै वैज्ञानिक समाजवादी जनक्रान्तिद्वारा हुनेछ । यसको अद्वितीय लक्ष्य वैज्ञानिक समाजवाद– साम्यवाद हो । प्रिय कमरेड लोकेन्द्र विश्वकर्मा ‘सुजन’ को ‘जनयुद्धका पदचापहरू’ संस्मरणसङ्ग्रह मैले केही समय पहिला प्राप्त गरी अध्ययन गरे तापनि अद्योपान्त पुनः अध्ययन गरेँ । यहाँ यसका बारेमा केही उल्लेख गर्न लागिरहेको छु । यो मेरो छोटो समीक्षा र परिचर्चा पनि हो ।
लेखक
नेपालको भूगोल मात्र होइन, विकासका दृष्टिले पनि सुदूर बनाइएको सुदूरपश्चिमको बझाङको बाँज गाविस– ८ सुदाडा गाउँमा २०४६ साल जेठ १४ गते निम्नवर्गीय परिवारमा बुबा जय विश्वकर्मा र आमा उर्मिला विश्वकर्माको पहिलो सन्तानका रूपमा प्रिय कमरेड लोकेन्द्र विश्वकर्मा ‘सुजन’ को जन्म भएको हो । महान् जनयुद्धको एक योद्धा, युवा नेता र नयाँ स्रष्टाको अर्को नाम हो– कमरेड लोकेन्द्र विश्वकर्मा ‘सुजन’ । पुरानो समाजमा व्याप्त वर्गीय र जातीय शोषण–उत्पीडनका कारण उनको बालमस्तिष्कमा विद्रोहको बीजरोपण भइसकेको थियो । महान् जनयुद्धकालमा गाउँमा जनता ब्युँझाउन आउने युवा–विद्यार्थीको टोली र जनमुक्ति सेनाको प्रवेशले उनलाई विद्रोहका लागि प्रेरित गरिरहेको थियो । उनले पुरानो समाजको रूढिवादी कुसंस्कार, मानवसभ्यताको कलङ्क जात व्यवस्थाको चरम जातीय विभेद र प्रतिक्रियावादी सत्ताका विरुद्ध नयाँ मानवसमाज, सभ्यता र व्यवस्थाका खातिर विद्रोह गरेका हुन् । सामान्य एउटा किशोर क्रान्तिकारी योद्धाहरूको हातको बन्दुक र पोसाकले लोभिएर क्रान्तिमार्गमा लामबद्ध भएको कमरेड लोकेन्द्र विश्वकर्मा ‘सुजन’ का अपूरा सपनाहरू पूरा गर्ने क्रान्ति आज पनि जारी छ । त्यो अर्को उचाइमा उठ्नेछ र विजयी हुनेछ ।
विजयको सन्निकट पुगेको महान् जनयुद्धपछिको भयानक विचलन, प्रतिक्रान्ति, अविश्वास र निराशालाई नयाँ क्रान्तिमा बदल्ने नयाँ सङ्कल्प अभियानका क्रममा हामी परिचित भएका हौँ । एउटै भूगोल र मोर्चामा नभए पनि महान् उद्देश्य एवम् सुन्दर सपना बोकेका जनयुद्धका योद्धा हौँ– हामी । विचार र उद्देश्य मिलेमा भावना एवम् विचारको मेल हुन्छ । त्यसले भूगोलका सीमारेखा पनि समाप्त गरिदिन्छ । हाम्रो मिलनमा विचार र उद्देश्य अन्तरनिहित छ । वैचारिक स्पष्टता, वर्गीय पक्षधरता, कार्यतत्परता, कुशलता र सरलता कमरेड लोकेन्द्र विश्वकर्मा ‘सुजन’ को मूल परिचय हो । ‘जनयुद्धका पदचापहरू’ संस्मरणसङ्ग्रह तथा समसामयिक लेखहरू लेख्ने लेखक पनि हुन् कमरेड सुजन । निजी वैभव, ऐसआराम र स्वार्थलाई तिलाञ्जली दिएर दर्शक बन्ने जीवन होइन, जिन्दगीमा कमरेड सुजन जनक्रान्तिका योद्धा हुन् र बनिरहनेछन् । उनले देश, जनता र क्रान्तिसँग जीवनको एकाकार गरे । लु सुनले ‘म ठान्दछु– …उनीहरूले संसार र समाजको वास्तविकतालाई अति राम्रोसँग हेर्न–बुझ्न सक्छन्’ भनेझैँ उनले वर्गीय र जातीय शोषण–उत्पीडनले आक्रान्त पुरानो समाजसँग र प्रतिक्रियावादी सत्ताका विरुद्ध विद्रोह गरे । संसार र समाजको वास्तविकतालाई अति राम्रोसँग हेर्न–बुझ्न सक्ने मात्र होइन, बदल्ने साहस गरे । उनी एक सम्भावनायुक्त युवा नेता हुन् । कुनै पनि मुलुकमा तबसम्म सक्षम र योग्यहरू उनीहरूबाट शासित हुन विवश भइरहन्छन् जबसम्म अक्षम एवम् अयोग्यहरूले राजनीतिक नेतृत्व लिइरहन्छन् । नेता बन्नु र नेतृत्व गर्नु फरक छ । ‘प्रत्येकलाई क्रान्तिले के बनाउँछ भन्ने थाहा हुँदैन, विशिष्ट रूप दिने र जिम्मेवारी बहन गर्ने हो’ भनेर नेताका बारेमा कमरेड गोन्जालोले भन्नुभएको थियो । तसर्थ प्रतिभाशाली, सक्षम र योग्य युवा एवम् व्यक्तिहरू मुलुकको नेतृत्वमा आउन जरुरी छ । कमरेड सुजनको वैचारिक स्पष्टता, वर्गीय पक्षधरता, कार्यतत्परता, कुशलताजस्ता विशेषताले उनी युवा पुस्ताका निम्ति आशालाग्दा र भरपर्दा योद्धा, नेता र स्रष्टा पनि हुन् भन्ने सबैलाई प्रेरित गर्दछ ।
यो संस्मरणसङ्ग्रह पुस्तकको भूमिकामा कमरेड हेमन्तप्रकाश ओलीे ‘सुदर्शन’ ले भनेका छन्, ‘अघि बढ्दै जाँदा उनी जनमुक्ति सेनामा भर्ती भए । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमाथि धावा बोलेर विजय प्राप्त गरेको जनमुक्ति सेनाको कारबाहीसँगै उनको फौजी यात्रा सुरु भयो ।
अछामको विनायक, अछामको सदरमुकाम मङ्गलसेन, आमखैया, चिसापानी, गणेशपुर, रम्भापुर, खारा, पिली, पाल्पा, धारापानी, तीनगिरे हुँदै बुटवलको फूलबारी ब्यारेकसम्म पुग्दा त्यो फौजी कारबाहीको यात्रा टुङ्गियो । उनले रक्तपातयुक्त राजनीतिको तीव्र अनुभूति गरेका छन् । जीवनलाई हत्केलामा राखेर गोलाबारुदको बौछारसँग गोलाबारुद लिएर आगो ओकलेको, कैयौँ रणसङ्ग्राममा हारेको र कैयौँ जितेको, भर्खरै आफूसँगै लडिरहेको साथी पानी–पानी भन्दै आफ्नै काखमा अन्तिम सास फेरेको, घाइते साथीहरू छट्पटाइरहेको, विजयमा मात्तिने र पराजयमा आत्तिने प्रवृत्तिहरू सतहमा देखेको, आफँै सहिद भएमा खाडल खन्ने कोदालो–फोरुवा र आफैँ घाइते भएमा बोक्ने स्टे«चर आफैँ बोकेर रणमैदानमा खुसीका साथ हिँडेको, महिला योद्धाहरूले अग्रमोर्चामा लड्न पाइएन भनेर रोएको, रणमैदानको विजय वा पराजयपछि समीक्षा र स्कुलिङ भएको यस्ता दृश्यहरू उनको मनमस्तिष्कमा चलचित्रको दृश्यझैँ घुमिरहन्छन् ।’ (पृष्ठ ९–१०) । उनले कमरेड सुजन जनमुक्ति सेनामा भर्ती, सहभागी युद्ध मोर्चाहरू र उनले भोगेका जीवन्त अनुभूतिहरूलाई जीवन्त रुपले उल्लेख गरेको पनि स्पष्ट पारेका छन् । नयाँ क्रान्तिद्वारा नवऔपनिवेशिक पुँजीवादी दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद अपरिहार्य छ ।
जनयुद्धका पदचापहरूबारे
‘जनयुद्धका पदचापहरू’ प्रिय कमरेड लोकेन्द्र विश्वकर्मा ‘सुजन’ को संस्मरणसङ्ग्रह हो । २६० पृष्ठको यो संस्मरणसङ्ग्रह चार खण्डमा विभक्त छ । कमरेड सुजनले ‘हामीले दसबर्से जनयुद्ध र शान्तिप्रक्रियामा प्रवेश गर्दै गर्दा प्रतिक्रान्तिको अन्धकार चिर्दै क्रान्ति अघि बढायौँ । दस वर्षको जनयुद्धको यात्रापछि आफ्नै जीवनले प्रतिक्रान्ति बेहोर्नुपरेको अवस्थामा प्रतिक्रान्तिकारी प्रवृत्तिका विरुद्ध हामी विद्रोह गर्दै पार्टी र क्रान्तिलाई अगाडि बढाउने सपना, अभिलाशा र विश्वासका साथ आमनेता, कार्यकर्ता र जनताका बीचमा पुग्यौँ । क्रान्तिको झन्डा उठाउने परिकल्पना गर्नतिर लामबद्ध हुँदै आशाको दियो बाल्न सफल भयौँ ।’ (पृष्ठ २७) मा महान् जनयुद्ध, प्रतिक्रान्ति र नयाँ क्रान्तिको सङ्कल्प गरेका छन् ।
पहिलो खण्डमा बाल्यकालमा देखेको बन्दुक, पहिलो रोलकल, रणमैदानमा नयाँ अनुभूति, रेन्जर फोर्ससँगको लडाइँ, हेडक्वार्टरमा फौजी कारबाही, युद्धमैदानबाट जन्मघर पुग्दा, भीमदत्तको आँगनमा, साहसले जितेको आमखैया, आधा घन्टामै सानदार विजय, कमान्डर जितको रगतले सिञ्चित गणेशपुर, रम्बापुर मोर्चामा नयाँ प्रयोग, सम्झनामा खारा, ऐतिहासिक पिली मोर्चा, बहुवीर योद्धा, आठौँ ब्रिगेडको हिमाली यात्रा, भेक क्षेत्रका जनतासँग, जनमुक्ति सेनाको गण्डक मार्च, पाल्पा कब्जा, सम्झनामा कमरेड दीपक, धारापानीको लडाइँ तितो अनुभूति, रगतसँग साटिएको मिनी जीपीएमजी र फूलबारी ब्यारेकमा भीषण आक्रमणसहित २१ वटा रचनामा लेखकका बाल्यकाल र महान् जनयुद्धका जीवन्त अनुभूतिहरू समावेश गरिएका छन् । कमरेड सुजनले भनेका छन्, ‘कलिलै उमेरमा पढाइ, गाउँ र समाजलाई छोडी मुक्तिको सपना बुनेर महान् दसबर्से जनयुद्धमा जनमुक्ति सेना भएर दर्जन युद्धमोर्चामा सहभागी भएको अनुभूतिजन्य लेखहरूको सङ्ग्रह हो । आदरणीय महान् जनसमुदाय र हिजो ढिँडो र सिस्नो खाँदै गुन्द्रीमा सुतेर सँगै ती भीषण युद्धमोर्चाहरूमा सहभागी भएका मेरा प्यारा सहयोद्धा कमरेडहरूको मानसपटललाई ‘जनयुद्धका पदचापहरू’ नामको संस्मरणात्मक पुस्तकले ताजा बनाइदिनेछ ।’ (पृष्ठ २७) उनले कलिलै उमेरमा पढाइ, गाउँ र समाजलाई तिलाञ्जली दिएर, मुक्तिको सपना बुनेर र महान् दसबर्से जनयुद्धमा जनमुक्ति सेना भएर दर्जन युद्धमोर्चामा सहभागी भएको उल्लेख गरेका छन् । यसमा उनले महान् जनयुद्धको भीषणता र पार्टी, सेना र जनता बीचको बलियो एकताबद्ध मोर्चाको इतिवृत्तान्त उल्लेख गरेका छन् । यो कुनै पुस्तकबाट पुस्तकमा सीमित संस्मरण होइन, महान् जनयुद्धका ती भीषण मोर्चा उनी आफैँले भाग लिएर लडेको जीवन्त इतिहास नै हो ।
दोस्रो खण्डमा शान्तिप्रक्रियामा पार्टी, घर पुग्दा नयाँ अनुभूति, वाईसीएल नेपालको सपना, संविधानसभाको चुनावी धराप, सहरी विद्रोहको नौटङ्की, अन्तरसङ्घर्षको उत्कर्ष र सपनाको चिहानसहित ७ वटा संस्मरणमा उनले जसको विरोध गर्दै जन्मन्छन् उसकै समर्थन गर्दै मर्छन् भनेझैँ नेतृत्व र पार्टीमा आएको विचलन र राष्ट्रिय तथा वर्गीय आत्मसमपर्णको सशक्त विरोध एवम् नयाँ क्रान्तिको सङ्कल्प गरेका छन् । कमरेड सुदर्शनले ‘उनको आँखाअगाडि सिक्लेसमा सानो चिलगाडी आइपुग्छ । जनमुक्ति सेनाका बीचबाट आफ्नै सर्वाेच्च कमान्डरलाई चिलगाडीले चिलले चल्लाको माउ टिपेर लगेझैँ टिपेर बालुवाटार लैजान्छ । सुजन र उनका साथीहरू चिलगाडी गएतिर हेरिरहन्छन्, चिन्ताले छट्पटाउँछन् । पुरानो राज्यसत्तासँग भएको १२ बुँदे सम्झौताको मर्म उनीहरूलाई त्यति स्पष्ट हुँदैन । अनमिन (राष्ट्रसङ्घबाट आएको एक टोली) को मातहतमा जान्छ जनमुक्ति सेना । नेपाली जनताको रगतपसिनाबाट बनेको जनमुक्ति सेना पश्चिमा साम्राज्यवादीहरूको वर्चस्व रहेको संयुक्त राष्ट्रसङ्घीय टोली अनमिन मातहतमा पुग्यो । जनता र पार्टीको पजनीमा चल्ने सेना अनमिनको पजनीमा चल्न थाल्यो । अनमिनले ‘अयोग्य’ नाममा जनमुक्ति सेनाका बहुसङ्ख्यक योद्धालाई शिविरबाट निकालिदियो ।’ भनी पृष्ठ १० मा उल्लेख गरेझैँ कमरेड सुजनले कथित शान्तिप्रक्रिया, नयाँ अनुभूति, सपनाको समीक्षा, चुनावी धराप, विद्रोहको नौटङ्की, अन्तरसङ्घर्षको उत्कर्ष र विद्रोहको उद्घोषसहित नेतृत्वको विचलन, महान् जनयुद्धका सबै उपलब्धि बालुवामा पानी हालेझैँ गुमेको अवस्था जीवन्त एवम् सुन्दर ढङ्गले उल्लेख गरेका छन् ।
आमश्रमिक जनताको इच्छामा ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । क्रान्तिकारी युवाले अवसरमा समस्या देख्ने निराशावादी होइन, समस्यामा अवसर देख्ने आशावादी हुनुपर्छ । महान् आशा, दृढ विश्वास र सुन्दर सपनाको वास्तविकता क्रान्ति हो । आमनेपाली जनताको उज्यालो भविष्य र सुखी जीवनको उत्कट चाहना पूरा गर्नु क्रान्तिको मूल लक्ष्य हो । मुलुकको लामो इतिहासमा क्रान्तिको लक्ष्य पूरा हुन सकेको छैन । क्रान्तिको दायित्व पहाडभन्दा गह्रौँ छ । क्रान्ति कठिन कार्य हो । क्रान्ति फलामे पर्खालको भन्ज्याङमा धावा बोल्नुजस्तै हो । क्रान्तिको मार्ग लामो हुन्छ । कमरेड माओको शब्दमा ‘हाम्रो राष्ट्रको भविष्य र विकासका निम्ति ठूलो आशा गर्ने ठाउँ छ । निराशावादी हुनुपर्ने त्यस्तो कुनै कारण छैन । निराशावादी हुनु भूल हो ।’ हामीसँग महान् सपना एवम् आशा छ । सपना मात्र होइन, सुन्दर सपना छ । सानो होइन, महान् आशा छ । हाम्रो सपना काल्पनिक र रोमान्स गर्ने होइन, जीवन्त र व्यावहारिक छ । हामी मनोगतवादी र रूपवादी होइनौँ, यथार्थवादी हौँ किनभने हाम्रो महान् सपना एवम् आशा नै क्रान्तिको विजय महान् माओले भनेझैँ ‘एउटा क्रान्तिलाई अर्को क्रान्तिले पछ्याउँछ, क्रान्ति निरन्तर चल्छ ।’ हो । क्रान्ति नै हाम्रो जीवन र भविष्य हो । आज क्रान्तिकारी युवाले युगीन कार्यभार पूरा गर्न र निरन्तर क्रान्ति मात्र होइन, क्रान्तिको विजयका खातिर विचारलाई सङ्गठनमा रूपान्तरण गर्न जरुरी छ । क्रान्तिकारीहरू सुतेर सपना देख्दैनन् । क्रान्तिकारीहरूका सपनाहरूले सुत्न दिँदैनन् । विश्वास, दायित्वबोध र नयाँ सङ्कल्पले नै सपनालाई साकार पार्न सकिन्छ । क्रान्तिलाई विजयसम्म पु¥याउन सम्भव छ । ‘जनयुद्धका पदचापहरू’ संस्मरणसङ्ग्रहमा कमरेड सुजनले सपनाको चिहान हुँदैन किनभने सपनाको मृत्यु असम्भव छ भनेझैँ उनले निराशावादको विरोध र आशावादको पक्षपोषण गरेका छन् । समस्या नै समाधानको जननी हो । क्रान्ति र वैज्ञानिक समाजवाद सम्पूर्ण समाधान हो ।
तेस्रो खण्डमा संशोधनवादसँग सम्बन्धविच्छेद, फेरि जनताको घरआँगनमा, गौरवपूर्ण सातौँ महाधिवेशन, क्रान्तिमा युवाहरूको अविराम यात्रा, मजदुरहरूका बीचमा, दोस्रो संविधानसभाको प्रपञ्च, क्रान्तिकेन्द्रित अन्तरसङ्घर्ष, पार्टीमा नयाँ बहस, क्रान्तिकारी विचारको केन्द्रीकरण, पुरातन चिन्तनविरुद्धको मोर्चा, थवाङमा उच्च केन्द्रीकरण र व्यापक बहस, गण्डकमा युवा मार्च, तनहुँका जनतासँग एकाकार, सङ्गठन शुद्धीकरण अभियान र गणतन्त्रको आवरणमा फासिवादी दमन गरी १५ वटा संस्मरण एवम् लेखहरू छन् । यो पुस्तकको उक्त खण्डका बारेमा सम्पादकीयमा कमरेड अशोक सुवेदीले ‘सबै किसिमका संशोधनवादहरूसँगको विद्रोह र अर्को शिराबाट क्रान्तिकारी आन्दोलन निर्माण गर्दाका प्रयास र प्रयत्नहरूको शब्दसाक्षी हो । यस खण्डका संस्मरण÷लेखहरूले क्रान्तिकारीहरूको जीवनमा जस्तोसुकै राजनीतिक–सांस्कृतिक–वैचारिक बज्रपात परे पनि उनीहरू बौरिँदै, ब्युँतिँदै, उठ्दै निरन्तर क्रान्तिमार्गमा लामबद्ध बनिरहन्छन् भन्ने क्रान्तिकारी आशावाद सञ्चार गर्छन् ।’ (पृष्ठ २४–२५) भनी सुस्पष्ट रूपमा उल्लेख गरेका छन् ।
यो पुस्तकको चौथो खण्डमा महान् जनयुद्धदेखि नेकपाले सञ्चालन गरेको विद्रोहसम्म विभिन्न जिम्मेवारीमा रहँदा गरेका गतिविधि झल्काउने ऐतिहासिक र कार्यक्रमिक तस्बिरहरू समावेश छन् । ती तस्बिरहरूले पनि पुस्तकलाई प्रमाणित र सार्थक बनाउने प्रयास गरेका छन् ।
‘जनयुद्धका पदचापहरू’ संस्मरणसङ्ग्रहमा कमरेड सुजनले पहिलो आफैँ सहाभागी जनयुद्धका रणमैदानका यात्राहरू, पार्टीका महाधिवेशन, राष्ट्रिय सम्मेलन, विस्तारित बैठक, अभियान, जनसम्बनध र पार्टी बैठकहरूको जीवन्त ढङ्गले उल्लेख गरेका छन् । दोस्रो जनयुद्ध, जनआन्दोलन, कथित शान्तिप्रक्रिया र एकीकृत जनक्रान्तिमा आफू सहभागी घटनाक्रमहरूको सजीव चित्रण गरेका छन् । तेस्रो जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता र पार्टीका महाधिवेशन, राष्ट्रिय सम्मेलन, विस्तारित बैठक र जनजागरण एवम् जनसङ्गठनका बारेमा विस्मृतप्रायः इतिहासलाई पुनर्ताजगी गराउँदै नयाँ स्मृतिपट अभिलेख राखेका छन् । नयाँ युवा पिँढीलाई इतिहासको स्मरण गराएका छन् ।
यो ‘जनयुद्धका पदचापहरू’ संस्मरणसङ्ग्रहका बारेमा ‘क्रान्तिकारी जीवनको अनमोल वृत्तचित्र’ धर्मेन्द्र बास्तोला ‘कञ्चन’, ‘जनयुद्धका भुक्तभोगी योद्धाको विचारोत्तेजक संस्मरण’ हेमन्तप्रकाश ओली ‘सुदर्शन’, ‘दृष्टिकोणसहितको आँखीझ्याल’ सावित्रा दुरा ‘आस्था’, विद्रोहचेतसहितको क्रान्तियात्रा पूर्णबहादुर सिंह ‘समरजङ्ग’, ‘नेपाली क्रान्तिको एक महत्वपूर्ण सन्दर्भ सामग्री’ रामराज रेग्मी र ‘जनयुद्धसिर्जित नयाँ यथार्थको प्रतिबिम्बन’ अशोक सुवेदी ‘विप्लव’ ले सारगर्वित समीक्षा एवम् परिचर्चा गरेका छन् । अशोक सुवेदी ‘विप्लव’ ले ‘यो पुस्तक जनयुद्धकालीन साहित्य र जनयुद्धसिर्जित नयाँ यथार्थको एउटा प्रतिबिम्बन हो । जनयुद्धलाई विषय बनाएर लेखिएको साहित्यमा संस्मरण साहित्य अत्यन्त उर्वर विधा हो र संस्मरण साहित्यले जनयुद्धलाई ठूलो ऊर्जा दिएको हो । दस वर्षसम्म सञ्चालित जनयुद्धका क्रममा जनयुद्धका त्याग, शौर्य, वीरता र बलिदानका सन्दर्भलाई लिएर धेरै संस्मरण लेखिएका छन् र कतिपय जनयुद्धकालमै र कतिपय जनयुद्धको विसर्जनपछि लेखिएका, सङ्ग्रह गरिएका छन् । कमरेड सुजनको जनयुद्धका पदचापहरू जनयुद्धकाल, त्यसपछिको शान्तिकाल र संसद्वाद, संसदीय संशोधनवादसँग विद्रोहको अवधिसम्म लेखिएका संस्मरण÷लेखहरूको सङ्ग्रह हो । एउटै विषयमा आबद्ध नभए पनि सबै संस्मरण/लेख एउटै उद्देश्यले प्रेरित छन् । त्यसैले यो कृति नेपालको माक्र्सवादी साहित्यको एउटा महत्वपूर्ण उपलब्धि बन्न पुगेको छ ।’ (पृष्ठ २५–२६) मा ‘जनयुद्धका पदचापहरू’ संस्मरणसङ्ग्रहका बारेमा उल्लेख गरेको विषय महत्वपूर्ण छ ।
निष्कर्ष
महान् जनयुद्धले शोषण, उत्पीडन र विभेदमा पिल्सिएका आमश्रमिक जनतामा नयाँ जागरण ल्यायो । नयाँ चेतना पैदा ग¥यो । नेपालको सत्तामा हेरफेर ल्यायो । सामन्तवादको अन्त्य ग¥यो । सामन्तवादको अवसानलाई सङ्ग्रहालयमा राख्यो । त्यसले चेतनाका दृष्टिले सबैलाई ब्यँुझायो, हिँडायो र दौडायो । सामन्ती शोषण, उत्पीडन र विभेदबाट मुक्त पनि ग¥यो । महान् जनयुद्धका बारेमा साम्राज्यवादका हिमायतीहरू र सबै संशोधनवादीहरूले जतिसुकै झूट्टो बकबास र प्रलाप गरे पनि त्यो महान् एवम् अजम्मरी छ ।
अनन्य कमरेड लोकेन्द्र विश्वकर्मा ‘सुजन’ ले किशोर अवस्थामा समाजमा व्याप्त शोषण, उत्पीडन र विभेदका विरुद्ध नवमानव समाज एवम् सभ्यताका खातिर विद्रोहचेतसहित क्रान्ति नै जीवनको अभीष्ट छनोट गरेका छन् । दर्शक बन्ने जीवन होइन, जिन्दगीमा भीषण वर्गसङ्घर्षमा सहभागी भए । मूलतः महान् जनयुद्ध, अन्तरसङ्घर्ष, माओवादी आन्दोलनको नेतृत्वमा देखापरेको विचलन, प्रतिक्रान्ति र नवसंशोधनवादसँग सम्बन्धविच्छेद गरे । उनले नयाँ सङ्कल्प, क्रान्ति र वैज्ञानिक समाजवाद नै समस्त युवा, मुलुक र जनताको जीवन एवम् भविष्य दर्शन यो पुस्तकमा देखाएका छन् । उनले बाध्यता एवम् रहरमा गरिने राजनीति होइन, दायित्वबोध गराउँदै निःसर्त एवम् निःस्वार्थ रूपले क्रान्तिमा होमिन तथा सङ्घर्ष, बलिदान र विजयको शिखर चढ्न सम्पूर्ण युवालाई प्रेरित गरेका छन् । क्रान्ति नै हाम्रो जीवन र भविष्य हो । आज क्रान्तिकारी युवाले युगीन कार्यभार पूरा गर्न र निरन्तर क्रान्ति मात्र होइन, क्रान्तिको विजयका खातिर विचारलाई सङ्गठनमा रूपान्तरण गर्न जरुरी छ । प्रस्तुत ‘जनयुद्धका पदचापहरू’ संस्मरणसङ्ग्रह जस्तै विकासका खातिर कमरेड सुजनलाई अरू रचना र पुस्तकहरूको अपेक्षासहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना !
२३ कात्तिक, २०८१