काठमाडौं । संकृतिविद् डा.जगमान गुरुङले शान्ति सुरक्षाको नाउँमा देउसीभैलो खेल्ने समय तोकेर पावन्दी लगाउनु सरकारको कमजोरी भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले देउसी भैलोको मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसको मौलिकताको निरन्तरताका लागि सबै सचेत हुनुपर्ने सुझाव दिए ।
तिहारको महत्व, प्रकृति (सयपत्री र मखमली फूल, मौसमी फलफूल–कटुस, विमिरो पूजा, अमला आदिको प्रयोग, ऋतु) मानव, पशुपंक्षी, संस्कृति, मौलिक परम्परा आदि तिहारको विविध पक्षमा संस्कृतिविद् गुरुङले धारणा राखेका छन् ।
एकातिर यसै पनि समयसँगै आएको परिवर्तनले संस्कृतिमाथि विगतका वर्षमा विकृति बढाएको र अर्कोतिर सरकारले शान्ति सुरक्षाको नाउँमा राती खेल्ने भैलो देउसी खेलमाथि पावन्दी लगाउनु उसको कमजोरी भएको उनको धारणा छ ।
“पहिला पहिला देउसी भैलो टोली आफैँले देउसी र भैलो भट्याएर मौलिक तरिकाले आफूहरुले देउसी खेल्ने, नाच्ने गाउँने गरेको स्मरण गर्दै उनले भने, ‘शहरमा अहिले मेमोरी कार्ड राखेर डेक बजाएर देउसी भैलोको नाउँमा डिस्को नाच्न थाले । गाउँघरतिर अझै मौलिक रुपमा खेल्ने संस्कृति थोरै बचेको छ । देउसी भैलो विकसित भएन भनौं भने विकास भएर कहाँ पुग्यो, तर त्यसको मौलिक रुप भने हरायो । अघि यस्तो थियो, विकृति हुन दिनु हुँदैन र त्यसको मौलिक रुपको जगेर्ना गर्दै परम्परालाई समयानुकूल बचाएर लैजानुपर्छ भनेर हामीले सचेतना जगाउनुर्छ” गुरुङले भने ।
गुरुङले देउसी भैलो संस्कृतिको मौलिकताको निरन्तरता र जगेर्ना गर्न सञ्चारमाध्यम, अभियन्ता र बुद्धिजीवी व्यक्तिहरु लाग्नुपर्नेमा जोड दिए ।
देउसी भैलो खेल्न विभिन्न स्थानमा प्रशासनले समय तोक्ने गरेको छ । विशेषगरी पर्वमा शहर बजारमा शान्ति सुरक्षा सुव्यवस्थित गर्ने उदेश्यले त्यसो गरेको प्रशासनले बताउँदै आएको छ । त्यसमा पनि पछिल्लो समय भड्किलो पारामा देउसी भैलो खेल्ने प्रवृति बढेकोले समय तोकेर खेल्न दिएको प्रशासनको भनाई छ ।
संस्कृतिविद् गुरुङले भन्छन्, “अहिले कतै रातीको १० र कतै ११ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने भनेर समय तोकेरै रोक लगाएको छ । त्यसरी रोक लगाउनु सरकारको कमजोरी हो, व्यवस्थाको कमजोरी हो । अघि अघि त रातैभरी देउसी भैलो खेल्थे, संयमित पनि थियो । बरु कसरी देउसी भैलोलाई संयमित बनाउने र संरक्षण कसरी गर्ने भन्ने त सरकारको दायित्व हो । डराएर खेल्ने समय तोक्ने होइन नि ।”
उनले महिला पुरुषले सँगसँगै देउसी भैलो खेलेको प्रति टिप्पणी पनि गरे ।
ऋतु, प्रकृति, मानव, पशुपंक्षी र देवता पृथ्वीको सबै पक्ष एक आपसमा जोडिएको तथा हामीले गर्ने यमपञ्चकको पूजा, लगाउने भाईटीका, भाईटीका लगाउँदा पूज्ने विधि र दिने मसलाको वैज्ञानिक कारण रहेको उनले बताए ।
”सप्तरङ्गी टीका किन तेर्सो नलगाएर ठाडो लगाइयो ? त्यसको विज्ञान के हो भने तिहार चन्द्रमास र सौर्यमास अनुसार कार्तिकमा नै पर्छ । कार्तिकमा सौर्यमण्डलका अधिपति सूर्य तुला राशीमा निचो भएर बस्छन् । त्यो निचो सूर्यको विकीरणले भूमण्डल विशाक्त हुन्छ । त्यसले गर्दा मानिसको विचार पनि विशाक्त हुन्छ । त्यसले नराम्रा काम, उपद्रो हुन थाल्छ । त्यसकारण सात रङ्गको प्रतीकको रुपमा सप्तरङ्गी टीका लगाइन्छ । सो टीका ठाडो किन लगाईयो भने मानिसको दाइने आँखा सूर्य, देव्रे आँखा चन्द्रमा र ठाडो आँखाको रुपमा अग्नी–तेस्रो ज्ञानको नेत्र हो । ठाडो टीका लगाएपछि ज्ञानको नेत्र खुल्ने र निचो सूर्यको विकीरणले मान्छेको विचार विशाक्त नहोस् भनेर सप्तरङ्गी टीका ठाडो लगाइन्छ”, गुरुङले भाईटीबारे भने ।