बुटवल । प्रधानमन्त्र एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्याय उल्टाएर देशमा अस्थिरता गर्ने कोसिस भइरहेको बताएका छन् ।
बिहीबार बुटवलमा आयोजित पार्टीको प्रदेशस्तरीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले गणतन्त्रको रक्षा र सुदृढीकरणका निम्ति दृढताका साथ अगाडि बढ्ने बताए ।
“परिवर्तनका मुद्दा उल्टाएर देशलाई द्वन्द्वमा फसाउने भयानक षड्यन्त्र हुँदैछ। त्यसमा सबैखाले प्रतिक्रियावादी शक्तिको साँठगाँठ छ । तर, हामी परिवर्तनको रक्षाका निम्ति १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर सबै शक्तिहरू एक ठाउँमा उभिएर जवाफ दिनेछौं” प्रचण्डले कार्यक्रममा भने ।
परिवर्तनका पक्षधर सबै राजनीतिक शक्ति एकठाउँ उभिएर प्रतिगामी षड्यन्त्र परास्त गर्ने बताउँदै प्रचण्डले राजनीतिक दलहरूबीच यसबारे छलफल चलिरहेको बताए । उनले केही दिनमा बैठक बसेर ठोस समिक्षासहित अगाडि बढने जानकारी समेत दिए ।
दार्शनिक सैद्धान्तिक चिन्तन कमजोर हुँदै गएकोले अराजकताले स्थान पाउँदै गएको बताउँदै प्रचण्डले पार्टीमा अब त्यस्तो प्रवृतिलाई स्थान नदिने समेत बताए ।