काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको शुक्रबार एक सूचनामार्फत जनाएको हो ।
बोलकबोल प्रक्रियाबाट बिक्री हुने विकास ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी,गैरबैङ्क वित्तीय संस्था,सङ्गठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्ने बताइएको छ ।ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले प्रतिस्पर्धा र विना प्रतिस्पर्धा पनि सहभागी हुन सक्ने छन् । तर, राष्ट्र बैंकले प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ ।
विना प्रतिस्पर्धा किन्न चाहनेका लागि भने १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैङले जनाएको छ । खरिदकर्ताले ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाउने व्यवस्था छ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड -नेप्से_ मार्फत मात्र हुन्छ । इच्छुक लगानीकर्ताले भदौ २४ गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । ऋणपत्र भदौ २५ गते सोमबार निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुने राष्ट्र बैङ्कले जनाएको छ ।