आज :

म पनि जनयुद्धका उपलब्धी र कमजोरीको हिस्सेदार हुँ

  • नरेन्द्रजंग पीटर

अणु बमले पनि ध्वस्त नगर्ने तर वर्षमा तीनपटक रङ फेर्ने ‘जिन्को वाइलोवा’ नामक बिरुवा बालुवाटारमा रोपेर एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३ जेठ २०७५ मा पार्टी एकताको सन्देश दिएका थिए । यस जापानी बिरुवाको अस्तित्व पृथ्वीमा २ सय ७० मिलियन वर्ष पुरानो रहेको वैज्ञानिकहरूको दाबी छ । एकतामा हौसिएका अध्यक्ष ओलीले त्यतिबेला भनेका थिए, ‘हिन्द महासागरमा गएर कोसीको पानी कुन, सेतीको पानी कुन हो भनेर छुट्याउन सकिँदैन । हामी एकीकृत मात्रै होइन, अन्तरघुलित पनि भएका छौँ । नेकपाभित्र अब एमाले र माओवादी खोजेर भेटिँदैन । दुवै अन्तरघुलित भए ।’ तर, डबल नेकपाको सो एकता तीन वर्ष पनि टिक्न सकेन ।

एमाले सुप्रिमो ओली र माओवादी अध्यक्ष प्रचण्डको सम्बन्धलाई नियाल्दा– स्वार्थ मिल्दा चाटाचाट, नमिल्दा काटाकाटको स्थिति देखिन्छ । त्यो रुपमा देखिँदा त व्यक्तिगत टकराहट, सिंहदरबारको यात्रा र वर्चस्व भिडन्त मात्र हो भन्ने होजस्तो लाग्छ । मूल प्रवृत्ति नियाल्दा भने इतिहासका गति, सामाजिक द्वन्द्व, समाज विकासमा हुने टसलको बुझाइ र गराइकै भिन्नता हो ।

जे छैन, त्यो देखाउनुपर्ने, जे छ त्यो लुकाउनुपर्ने सोचले ग्रसित एमाले अध्यक्ष ओली कोखामा बदलाको तुष राख्ने नेपाली राजनीतिका प्रतिनिधि पात्र हुन् । अहिले उनको साथमा हिजोको कठिन समयमा माले निर्माता कुनै राजनीतिक सहयोद्धा र जेलका साथी साथमा छैनन् । अभिजात वर्गको स्वर्गमा धावा बोल्ने माओवादी कहिल्यै उनलाई स्वीकार्य भएन । तर, संसदीय राजनीतिक स्वार्थका निम्ति कार्यगत एकता, पार्टी मिलन र गठबन्धन भने गर्दै गए । दुवैले खेलमा षड्यन्त्रकारी झेल बुझिरहेका थिए । ‘कम्युनिस्ट’ एकता नभई स्वत्वका टकराहटले एकअर्कालाई पचाउने खेल हुँदै गयो । बुर्जुवाबीच हुने भद्र सहमति पनि ‘कम्युनिस्ट’ बीच हुन सकेन । तर, शक्तिमा पुग्न, टिक्न र निरन्तरता दिने दाउपेचमा एकता भएर पनि ‘ए– कता रु’ अवस्थामा पुग्थ्यो ।

हरेक शंकालु अरुले कुन षड्यन्त्र बुनिराखेका छन् भनेर चिन्ता गर्दागर्दै दिनको चैन र रातको निन्द्रा गुमाउँछन् । मस्तिष्कको हार्डडिस्कमा सञ्चित जीवनयात्राका पृष्ठभूमिले बनाएको हीनताबोध भूमिकामा देखिएपछि उच्चताबोधको आचरणमा झल्किन्छ । धेरैजसो पूर्वाग्रह अवचेतन मस्तिष्कको उपज हो । विश्वविजेता सिकन्दर बिरालोदेखि डराउँथे भने चन्द्र शमशेर ख्याउटे शरीर मोटो देखाउन भोटोमाथि ओभरकोट लाउँथे । वंश विनाशबाट शासक बनेका राणाजीलाई हरेक साँझ खोपी फेरेर रात काट्ने बानी परिसकेको थियो ।

गाली र चाकरी

प्रख्यात उर्दु सायर वशीर वद्र भन्छन्, ‘वैरभाव गर्दा पनि अलिकति त्यो ठाउँ भने राख्नुपर्छ, जसले कालान्तरमा मित्रता गाँस्नुपर्दा कोही कसैसँग लजाउनु नपरोस् ।’ सत्य नै बोल्दा पनि उपयुक्त समयको प्रतीक्षा गर्नुपर्छ । गालीको कुनै शब्द हुँदैन । लक्षित व्यक्तिलाई कसरी उत्तेजित पार्ने भन्ने मात्रै हो । ती वक्ताका आक्रोश, अधैर्यता र कमजोर मानसिकताकै उपज हुन्छन् ।

गम्भीर विषय, असहमति पनि शालीन र भद्रभाषामा बोल्न सकिन्छ, व्यक्त गर्न सकिन्छ । तर, अहिले दुई ध्रुवमा बाँडिएका कम्युनिस्ट नेता–कार्यकर्ताको स्वभाव नियाल्दा, सामाजिक सञ्जाल खगाल्दा, च्याउझैँ उम्रिएका अनलाइन र युट्युबमा नजर लगाइँदा देखिन्छ– ठालुले गरेका गालीले पछुवामा भने ऊर्जा थप्छ । पछुवा र कार्यकर्ताबीचमा फरक भनेको नै पछुवाहरू अगुवाले भनेका कुरामा अझ नुनचुक, चास्नी लगाएर उग्र, उत्ताउलो, घृणाजन्य आवेग बनाउँदै चाकरी बजार्छन् भने वास्तविक राजनीतिक कार्यकर्ता त्यसलाई संयमपूर्वक धैर्यसाथ स्वीकारेर भूमिकामा उत्रिन्छन् ।

अझ बौद्धिक चाकरीका अनौठा अभ्यास भइरहँदा विषय के सही हो, भन्दा पनि के भन्दा, के गर्दा, के सुनाउँदा ठूले खुसी हुन्छन्, त्यसैअनुसार छमकछल्लो भएर विवेकहीनता अर्पण गर्छन् । तर, पड्किएको गोली र जिब्रोबाट निक्लिएको बोली कहिल्यै फर्किंदैन, त्यसले गर्ने विध्वंस मच्चाइसकेको हुन्छ । गल्ती ठाउँमा हानिएछ भनेर चिसो गोली निकालेर कुनै अर्थ रहँदैन । शत्रु साधना गर्न जहिले पनि विपक्षलाई उत्तेजनामा ल्याउने प्रयत्न गरिन्छन् । कमजोरहरू त्यही धरापमा फसेर हैसियत देखाउँछन् ।

एकपटक एमाले सुप्रिमोले माओवादी अध्यक्षका गतिविधिलाई माकफुँई ९नेवारी र खस भाषाको रिमिक्स शब्द नभए पनि त्यसलाई बाँदर घुर्की भनेर जनमतले बुझ्यो० भनिदिए । त्यसलगत्तै ३१ दलीय माओवादी मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले ओलीलाई ‘मानसिक बिरामी’ भएको आरोप लगाउँदै यथोचित स्वास्थ्य परीक्षण गरी सार्वभौम जनतालाई सुसूचित गर्ने माग सरकारसँग गरे । त्यसअघि तत्कालीन एमाले अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच विषवृक्ष र कल्पवृक्षका कटाक्षहरू नभएका होइनन् । गाली पर्व मौलाउँदा औकातअनुसार बोलीको स्वामित्व लिन अनिवार्य हुन्छ । वामपन्थीहरू एकआपसमा जति गाली अरुले गर्नै सक्दैनन्, सम्भवतः जान्दैनन् नै होला ।

जे छैन, त्यो देखाउनुपर्ने, जे छ त्यो लुकाउनुपर्ने सोचले ग्रसित एमाले अध्यक्ष ओली कोखामा बदलाको तुष राख्ने नेपाली राजनीतिका प्रतिनिधि पात्र हुन् । अहिले उनको साथमा हिजोको कठिन समयमा माले निर्माता कुनै राजनीतिक सहयोद्धा र जेलका साथी साथमा छैनन् ।

गाली गरेर खित्का छोड्ने ओली र प्रचण्डले १० पुस २०७९ मा कुम जोडेर फेरि नयाँ राजनीतिक अभ्यास गरे । उनीहरूको सान्निध्यताले राजनीतिक गर्माहट पनि आयो । गालीपर्वको भेलदेखि अहिलेसम्म राजनीतिक खोलामा धेरै पानी बगे, समय घर्कियो । शक्ति सन्तुलनको यथार्थबोधले गाली र अहंकार सोच भत्काएजस्तो लागेको थियो पनि । आइसब्रेक भएर केही सकारात्मक परिणाम पनि देखिए । गाली यात्रा र छेडछाडले उपलब्धि नभएर मुखको तितो फाल्नु मात्र हुन्थ्यो भन्ने स्वीकारोक्ति हो किजस्तो लाग्थ्यो । तर, निरन्तरता पाउन भने सकेन ।

षड्यन्त्र खेलमा जहिले पनि एकतासँगै कसरी एकअर्कालाई धोका दिने भन्ने सोच पलाइरहन्छ । धोकालाई कला र क्षमताको सैद्धान्तीकरण गरिन्छ । परिस्थिति फेरिनेबित्तिकै राजनीतिको चाल, चरित्र सोही अनुकूल फेरिने गर्छ । हिजोका शत्रु मित्रमा फेरिन्छन् भने मित्र शत्रुमा । मन मिल्ने नाटकसँगै कसरी एकअर्कालाई पछाडिबाट हान्ने खेल सुरु हुन्छ भनेर नियाल्न एमाले–माओवादी एकता, फुट र गाली महात्म्य नियाल्नुपर्छ । राजनीतिमा सिद्धान्त, आदर्शका मार्गचित्रभन्दा पनि पूर्वीय दर्शनका चाणक्य र पश्चिमेलीका कुट गुरु माइकावेलीलाई आदर्श पात्र मानिन्छन् ।

अहिले एमाले र एमाओवादीको याराना दोस्ती फेरि टुट्यो । १० पुस २०७९ मा नयाँ गठबन्धन बनेर माओवादी नेतृत्वमा बनेको सरकार नौ हप्ता नटिकेरै गठबन्धन अन्त्यसँगै फेरि गाली सडकमा छताछुल्ल भएर एकआपसमा जानीदुष्मनझैँ अस्तित्व ध्वस्तमा लागे ।

गलत समयको प्रयोग

प्रचण्डमाथि मुद्दा दायर गर्नु, एमाले अध्यक्ष ओलीले ‘जनयुद्ध’ प्रतिको उग्र प्रतिक्रिया, गणतन्त्रविरोधी र अन्धधार्मिकहरू सडकमा देखिनु, अभिजात भाष्यकार एकाकार हुनु, सरकार नभई सत्ता चरित्र फेर्ने धर्मनिरपेक्षता, गणतन्त्र, समानुपातिक चुनाव प्रणाली, सङ्घात्मक अवस्थाको नारा र स्वामित्व अपहरण गर्न खोज्नुभित्र वर्गमा छटपटाहट के–कस्तो तारतम्य जोडिएको छ, नियाल्नुपर्छ । संघीयताविरोधी रवि लामिछानेको सरकारप्रति समर्थन छ । ‘जनयुद्ध’ दिवस मनाउने निर्णय हुँदासम्म क्याबिनेटमा एमाले र राप्रपा पनि छँदै थिए । त्यसैले नैतिक रूपले उनीहरूलाई त्यसविरुद्ध जाने नैतिक अधिकार रहँदैन ।

दूरदृष्टिको अभाव

अज्ञानीभन्दा पाखण्डी अझ खतरा हुन्छ । दौरासुरुवाल लगाएर शपथग्रहण गराएपछि इच्छाअनुसारका दुवै उपप्रधानमन्त्री र अर्थमन्त्री पनि लिएर एमाले अध्यक्ष केपी ओली ढुक्क थिए । समय गुज्रिँदा उनको महासरकार डिक्टेसन प्रधानमन्त्रीले टेरेनन् । हार्दिक सम्बन्ध नभई कूटनीतिक आधारमा बनेको गठबन्धनको नयाँ चालमा बेखबर एमाले अध्यक्ष ओली १० दिनमै कांग्रेसले समर्थन दिँदा झसङ्ग भए । आउने समस्याको अग्रिम चेत नहुनु दूरदृष्टिको कमी थियो । राजनीतिमा गरिने सहमति र बन्ने गठबन्धन शक्तिमा पुग्ने दाउ हो भन्ने कुरा विगतको आफ्नै भूमिका उनले बिर्सेर धोकेवाजको न्यारेटिभ कथ्न थालिएको छ । आफ्नु कमजोरी छिपाउन अहिले अध्यक्ष ओलीका अभिव्यक्ति घाइते बाघको गर्जनझैँ बन्दैछन् ।

आवेग बढाउने अवस्था

गफले चिउरा भिज्ने भए माओवादीलाई फेरि जंगल पठाउने र हेग पुर्‍याउने कोसिस भएकै छ । द्वन्द्व व्यवसायी र प्रायोजित मिडिया यो अभियानमा लागेकै हुन् । सक्ने भए २०६३ देखि आजसम्म १७ चोटि पुर्‍याइसक्थे । जब राष्ट्रपति चुनावसम्म पुग्दा सत्ताको केन्द्रीकरण र सर्वसत्तावाद योजना ध्वस्त भयो, तब अभिजात वर्ग छटपटायो । सत्ता र शक्तिको अतृप्त प्यास हुन्छ । तिर कमानबाट छुटिसकेपछि आक्रोश छताछुल्ल हुन्छ । कुतर्कले तर्क छोपिन्छन् । कार्यकर्तालाई भिडमा फेरेर मात्रै आवेगमा उरालिन सकिन्छ । तर, आक्रमण गर्दा आफैँसँग रहेका बिच्केलान् भन्ने ख्याल भने गरिँदैन ।

माओवादी घटकका चुनौती

अहिले पार्टीविहीन भए पनि १२ वैशाख २०६३ सम्म भएरगरिएका माओवादी क्रियाकलाप, उपलब्धि र कमीकमजोरीको म पनि एउटा हिस्सेदार हुँ । ‘जनयुद्ध’ लाई अपराधीकरण गर्न अध्यक्ष प्रचण्डविरुद्ध दायर रिटलाई सर्वोच्चले स्वीकार गरेर विभाजित माओवादीलाई एक मञ्चमा उभ्यायो भने एमालेमा रहेका ‘जनयुद्ध’का कमान्डर रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायतलाई पनि अध्यक्ष ओलीको भनाइले घोत्लिन बाध्य र नैतिक सङ्कटमा पुर्‍यायो ।

विद्रोह सरल र सुगम हुँदैन । छोपिएका आँखाले हेर्ने सपना र खुल्ला आँखाले देख्ने यथार्थ एउटै हुन सहज कहाँ हुन्छ र रु हो, राजनीतिक परिवर्तन भएकै हो । तर, राज्यसत्ताको स्वरूपमा कुनै परिवर्तन भएन । आफू सहभागी भएपछि त्यसको स्वरूपमा थोरबहुत परिवर्तन गर्न सकिने तर्क पेस गरे पनि परिणामतः सत्ताको संरचनाले उनलाई पनि आफ्नै विकृत स्वरूपको साँचोमा ढालिदियो । एकाधले आशा जगाउने प्रयास नगरेका होइनन् । विकृत नोकरशाहीतन्त्रले उनलाई आफ्नै सेवकमा परिणत गरिसक्दा अवसरको सदुपयोग हुन सकेन । वर्ग छुट्यो, विचार र आदर्शको बखान समय बिताउने खेलखुट्टी मात्रै बन्यो ।

यत्रो समय सत्तामा रहँदा पनि युद्धकालीन मुद्दाहरूको स्थायी समाधान गर्न नसक्नु प्रचण्डलगायत नेतृत्वको कमजोरी थियो । समयसँगै सबै सल्टिन्छ भन्ने अभिजातीय वर्ग चिन्तन नबुझ्नु गलत थियो । शान्ति प्रक्रियामा आइसकेको यत्रो समयपछि माओवादीलाई जिस्क्याउनु भनेको अभिजातहरूले पुनः उक्साउनु हो ।

  • शिलापत्रबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal