आज :

कथा प्रसंग अनेक गरि मनाइयो फागु तथा होलि पर्व :

  • पदम श्रेष्ठ

पदम श्रेष्ठ –

नेपाल विचित्र छ , याहाँ एकै जात थरभित्रपनि थुप्रै संस्कार मान्नेहरुदेखि एकै पर्वपनि अनेक जाति सम्प्रदाय पिच्छेका छुटटाछुटै आख्यान ईतिहास तौर तरिकाबाट मनाउनेहरु समेत पाईन्छन् तर विना विवाद बिना छलछाम आ-आफनो पर्व संस्कार आ आफ्नै ढङगमा मनाउने गरिरहेका हुन्छन् । यसै क्रममा आज भोली नेपाली भ्यालेन्टाईन पर्व होली बारे विभिन्न सम्प्रदायमा प्रचलित संस्कार बारे उल्लेख गर्न गईरहेको छुँ । होली फागु पर्वलाई धेरै समुदायले प्रेम सम्वन्धको पर्वको रुपमा मानेतापनि थकाली समुदायले होली पर्वलाई पुख्र्यौली थलो पुर्खा पुजा र नयाँ वर्षका रुपमा मनाउने गर्दै आईरहेको पाईन्छ ।
थकाली तोरन्ल्ह एक पूजा संस्कार अनेक ः फागु पूर्णिमाको दिन हिमालपारीको जिल्ला मुस्ताङका आदिवासी थकालीहरू पितृ शान्ति र कुल पूजागर्दै तोरन्ल्ह मनाउँदछन् । मूलतः व्यापारीनै भएकाले चारचनले छुट्टाछुट्टै चार रङ्गका महालक्ष्मीको आराधना गर्दछन् । फागु पूर्णिमाको एक दिन अगाडि मध्यरातीमा नुहाईधुवाई नयाँ लुगाका साथ पितृ शान्तिका लागि चाँदीका कचौरामा चौरीको नौनीको दियो बाल्ने गरिन्छ । साथमा जाँड,रक्सि,दुध पनि पितृलाई मन्छाउँछन् । सेलरोटी, माछामासुका परिकारको भव्य तयारीसँग चारचन अर्थात
⦁ गौचनले ल्ह ताङवा न्हुर्बु (रातो प्रतिक) देवी ,,
⦁ तुलाचनले ल्ह छ्युरिन ग्याल्मो –(हरियोको प्रतिक),देवी
⦁ ,शेरचनले ल्ह क्हङला सिङकी (सेतो प्रतिक) देवी र
⦁ भट्चनले ल्ह क्ह ह्यावा ¥हया–हयाङज्यूङ (–कालो प्रतिक) देवी
⦁ साझा महालक्ष्मीदेवी अर्थात ल्ह नरीच्ह्योवदेवीको भव्य पूजा आराधना गर्ने गर्दछन् ।
भनिन्छ–मुस्ताङको मूक्तिनाथ उनै चारचन कूल देवी ल्ह नरीच्ह्योव (महालक्ष्मी)को प्रतिक हुन् भने चारचनका विभिन्न रङ प्रतिक देवी देवता मुस्ताङ राज्यभर ठाउँ–ठाउँमा प्राकृतिक देवताका रूपमा रहेका छन् । यी चारचनको चार रंगयुक्त ध्वजापताका टाँगी,थकालीहरू शिकारी युगको स्मरणगर्दै प्रतियोगितात्मक धनु तारो हान्ने खेल्दछन् । प्रतियोगितामा जित्नेलाई फलामको पुरस्कार दिने गरिन्छ । थकाली स्वायत्त राज्य थासाङ– (मुस्ताङ)मा मनाइने तोरन्हकै अवसरमा मुखिया छान्नेदेखि ढुकुटी प्रथालाई कसरी समय सामेक्ष परिमार्जनगर्दै जाने बारे छलफलपनि गर्दछन् । थकालीहरू महालक्ष्मी माता अर्थात ल्ह नारी च्योको प्रतापले ढुकुटी प्रथाका माध्यमबाटै समृद्धि हासिल गर्न सकेको विश्वास गर्दछन, तोरल्न्ह उनै देवी र पुर्खाको स्मरणमा मनाइने पर्व हो । चारचन थकालीहरू गौचन, शेरचन, तुलाचन र भट्टचनले फागु पूर्णिमाका दिन मनाउने यस पर्वलाई तोरन्ल्ह भनिए जस्तै मार्फाली थकाली ज्वारचन,लालचन, पन्नाचन र हिराचन समुदायमा यसै पर्वलाई तेर्मी नाउँबाट मनाउँदछन् । थकाली भित्रका चिम्तन, बाह्रगाउँले स्याङतन, ताङ्वे, ठिम्तनहरूमापनि तोरन्ल छुट्टाछुट्टै नाउँबाट मनाईन्छ ।

 

खिमी चुङ्गी ः
थकाली क्षेत्र थासाङले कालिगण्डकीमा पितृपूजाबाट शुरू हुने तोरन्ल्ह विभिन्न खालका तारो खेल र नाचगान गरी मनाईन्छ । एक सातासम्म आफन्तलाई बोलाई मिठो मसिनो खाई खिमी चुङ्गी मनाउँदछन् ।
पर्वको पहिलो दिन ः
थकालीको उद्गमस्थल मानिने कोवाङमा रहेको कोटघरमा चारचन चार देवता जस्तै गौचनको ल्हाङवा न्हुर्बु, तुलाचनको ल्ह ध्यूरीन ग्ह्यल्मो शेरचनको ल्ह क्हाङला कर्पो र भट्टचनको न्ह्याव हाङज्युङलाई फागु पूजा गरिन्छ ।
दोस्रो दिन ः
ठाउँ–ठाउँमा तारो थापी गाउँका युवा, केटाकेटीदेखि वृद्धसम्म धनु हान्ने रमाइलो गर्ने वाजी थाप्नेसम्म गर्दछन्
तेस्रो दिन एकहप्ता पन्ध्र दिनसम्म ः
देव पूजा, पितृ श्राद्ध जारी रहेपनि आफन्त भेटघाट गरी पर्वलाई महान बनाउन तल्लिन रहन्छ । थकालीमा पर्वमा त्हशर (धनुपा),महिलाहरू नकस (तास) नाकाभोटे–(कौडा) खेल्ने मिठो खाई रमाइलो गर्छन् ।

ल्ह फेव १२ वर्ष पर्व ः
प्रत्येक बाह्र वर्षमा थकालीआदिभूमि थाकखोलामा १७ दिन लाग्ने धार्मिक ल्ह फेव मौलिक पर्व मानिन्छ । ल्ह पर्वमा देशविदेश छरिएका थकालीहरूले पुख्र्यौलीभुमि मुस्ताङ जसरीपनि पुग्ने गर्दछन् । पर्व मनाईदा च्योकी–(गौचन)थरको देवता ल्ह लाङबा न्हुर्वु ,साल्की–(तुलाचन) को देवता ल्ह छ्युरीन ग्यल्मो, ढिमचन(–शेरचन)को देवता ल्ह घाङ्ला सिंकिकर्पो र भूर्की भटटचनको देवता ल्ह ह्यावा¥हाङज्युको श्रद्धाभक्तिपूर्वक पुजा र मृगको सिकार, गोरू बनेर खेत जोत्ने, मल छर्ने र बीउ छर्ने प्रक्रिया गर्दछन् । यस परम्परागत संस्कारले थकाली समुदाय व्यापारी भएपनि आदिकालमा किसान नै रहेको प्रमाणित गर्दछन । पर्वका अवसरमा जेठी चेलीवेटीले बाह्र वर्षभित्रमा विवाह, व्रतवन्ध, घर निर्माणलगायत आयस्रोतका रचनात्मक अवसरको खुशियाली साट्दै रकम सङ्कलन गर्दछन् । जुन परम्परालाई छेयाङक्यु भनिन्छ । त्यसबाट उठेको रकमबाट मिठो मसिनो खाने गरिन्छ भने एक दिन छेयाङक्यु खान आफ्ना माइतीहरूलाई निम्ता गर्दछन् र संस्कृति आदान–प्रदान गर्ने अवसर मिल्दछ ।

ल्ह छ्योव (कुल देवता पूजा) ः
थकालीहरू प्रत्येकवर्षको मङ्सिर महिनामा ढोम पुजारीद्वारा ल्ह छ्योव अर्थात कुलदेवता पूजा गर्ने गर्दछन् । ल्ह छ्यो कुल पुजामा छोरी–ज्वाईं मावलीलाई अनिवार्य सहभागी गराउने पर्ने संस्कार पाईन्छ । ढोमले ज्वाईलाई धुपी, रातोभाले, भेडाआदि ल्याउन लगाईन्छ । ढोम (परम्परागत पुजारी) ले पूजा सकेपछि शुभ–अशुभको भविष्यवाणी गरिन्छ । पूजा सकेको लगत्तै भेडा काटेर भोज खुवाई दोहोरी गीत गाड्नेपरम्परा छ ।

नेवार समुदायमा प्रचलित होली:
अविरया होली तँ चायाला ल्यासे, अविरं छङगु ख्वा हिसि दयकाबिई
न्हापालिपा मछासां थौंला प्याखं हुला क्यों, ख्वालय् मखु नेतालय् अबिर तया क्यों
वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाई गरिने यस पर्वमा होली गीत गाउँदै खुलेर रङ्ग छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई ‘भ्यालेन्टाइन डे’ का रुपमा लिइन्छ । फागुन शुक्ल अष्टमीका दिन राजधानीको बसन्तपुर जिवितदेवी कुमारीघर अगाडी रंगीचंगी कपडाको छत्रझल्लरको चीर उठाएपछि पूर्णिमासम्म आठ दिन मनाइन्छ , होली पूर्णिमा । विभिन्न तौर तरीकाबाट ।

सिंहसार्थबाह होली र सिगैै राँगाको मासुः
परापूर्वकालमा थँबहिल ( ठमेल ) निवासी व्यापारी सिंहसार्थवाह ७ सय व्यापारीका साथ तिब्बतको ल्हासा पुगेर फर्कदा ब्रम्हपुत्र नदी पार गर्न लाग्दा अतिसुन्दरी भेषमा राक्षसनीहरुले प्रेमजालमा फसाउँछन् र राति राक्षसनीले आहारा बनाइदिन्छन् । तर सिंहसार्थवाह मात्र करुणामय भगवान्को प्रतापले वायुपङ्खी घोडामा बसी काठमाडौं पुग्न सक्षम हुन्छन् । यही खुशियालीमा प्रत्येक वर्ष वसन्तपुर कुमारी घरनेर चीर उठाई हर्षोल्लासपूर्वक सप्ताहव्यापी होली मनाउन थालिए । उनै राक्षसनीको प्रतिकृति स्वरुप फागु पूर्णिमाको रात वसन्तपुरमा चीर लगी टुंडिखेलमा दहन गर्ने र इतुम्बहालबाट एउटा सिङ्गै राँगाको मासु र एकमुरी चामलको भात गुरुमापालाई चढाउने गरिन्छ । अर्को आख्यानुसार रोएर दुःख दिने बच्चाबच्चीलाई फकाउन जब आमाबाबुले चूप लाग नत्र गुरुमापालाई दिएर पठाइदिन्छु भने गुरुमापा रातमा आई साँच्चै लिएर गइ खाइदिन्थे । यसबाट आजित अभिभावक इतुम्बहालका निर्माता केशचन्द्र कहाँ शरण लिन पुग्दा गुरुमापालाई वाचा गराइन्छ कि प्रत्येक वर्ष फागुपूर्णिमाको रात एकमुरी चामलको भात र एउटा सिङ्गै राँगाको मासु चढाइनेछ । तर बालबच्चाको रक्षा गर्नु पर्नेछ । यही वाचाअनुसार वसन्तपुरको नेपालका सम्पुर्ण जातजातिले पहिरने कपडाहरुको प्रतिनिधित्व रहने झल्लर टुँडिखेलमा बिसाउन लाँदा राँगको मासु भात लाने र प्रसादको रुपमा बाँढ्ने परम्परालाई केहि वर्षदेखि मारवाडी समुदायले चिर दहन गरी होलिका दहनका रुपमा सहभागिता जनाउदै आईरहेका पाईन्छ ।

चकंद्यः थँबहिल जात्रा र सिंह सार्थबाह ः
फागुन शुक्ल अष्टमी वसन्तपुरमा चीरउठाएकै दिन ठमेलस्थित विक्रमशील महाविहार थँबहिलको गजुरदेखि भुइँसम्म तोरणपताकाद्वारा अभिषेकपछि होलीपर्व शुरु हुन्छ । आठ दिने होली विधिपूर्वक चीर जलाएपछि थँबहिलको चकँद्यः जात्रा ज्याठा,छुस्या बहाल,असन ,इन्द्रचोक,हनुमानढोका,कुमारीघर,मरु नगरपरिक्रमा गरी मनाइन्छ । त्यहाँबाट प्याफल, नरदेवी, टेंगल, बाङ्गेमुढा, ठँहिटी, क्वाबहालहुँदै थँबहिल भित्राएपछि जात्रा सम्पन्न हुन्छ ।
चाँगुनारायण खटजात्रा ः
भक्तपुरको चाँगुनारायण वंशगोपालकृष्ण रथयात्रा प्रत्येक वर्ष फागु पूर्णिमाका दिन खट जात्रा हुने गर्दछ । कृष्णराधा बीच रंग खेललाई आधार बनाई हुने चांगुनारायण वंशगोपाल खटजात्रा तान्त्रिक अनुष्ठान पूजापाठसहित राधाकृष्ण रुक्मिणीको सुन्दर मूर्तिसहित नगरपरिक्रमा गर्दै मनाइन्छ । सिन्दूरे जात्रागर्दै चाँगु क्षेत्रको बलम्बू, तखादों, ढोका टोलमा परिक्रमा गर्ने गरिन्छ ।

तराई क्षेत्रमा होली पर्व ः
सत्ययुगमा विष्णुभक्त प्रल्हादलाई आफ्नै पिता दैत्यराज हिरण्यकश्यपुरले हत्या गर्न गरेको अनेक प्रयासबाट पनि केही नलागेपछि आफ्नै बहिनी होलिका (जसले शिव भगवान्को आगोबाट नडढ्ने वरदान पाएकी थिइन्को काखमा राखी जलाउन खोज्दा होलिका जलिन् तर प्रल्हाद जस्ताको तस्तै आगोबाट बाहिर निस्किए । असत्यमाथि सत्यको विजयस्वरुप होलिका दहन उत्सव फागुन शुक्ल प्रतिपदाका दिन तराई र भारतमा हर्सोल्लासपूर्वक होली मनाइन्छ । त्यसैगरी द्वापरयुगमा कृष्णलाई मार्न गोकुल पठाइएको पुतना राक्षसनीको स्तन चुसेर मारिदिएको खुशीयालीमा होली खेल्न थालिएको कथन छ भने शिवपुराणमा सतीदेवीको वियोगमा तपस्या गरिरहेका शिवलाई कामवाण प्रहार गरी ब्युँझाउने दुष्प्रयास गर्ने कामदेवलाई तेस्रो नेत्रद्वारा भष्म गरिएको खुशीमा होलीको अर्को आख्यान पाइन्छ ।

मिथिला होली ः
मिथिला क्षेत्र(जनकपुर)परिक्रमाको सातौं दिन फागुन शुक्ल सप्तमीका दिन राम र सीताका सखीबीच होली खेलेको सम्झना गर्दै भव्य फागु खेलिन्छ । त्रैतायुगको सो पर्वको स्मृति गर्दै होली खेल्न बिहान सबेरै ध्रुवकुण्डबाट रंग अबिर खेल्दै ८ कि.मी. यात्रासहित जनकपुरको रामजानकी मन्दिरमा अबिर अर्पणपछि कञ्चनवनमा होलीको शुरुआत गरिन्छ । मिथिलावासी होली कञ्चनवन सीता रामबीच यौनक्रिया भएको पवित्र दिनका रुपमा लिईन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal