काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ ।
गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह गरेको हो ।
सरकारको आग्रह अनुसार दिउँसो ३ बजेदेखि ३ घन्टाका लागि मानिसहरूले अनावश्यक वत्ती निभाउनु पर्ने छ । तर उनीहरुले गर्मीबाट बच्नका लागि एयर कन्डिसनको उचित प्रयोग गर्न भने पाउने छन् ।
टोकियोको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । राजधानीको उत्तरपश्चिममा रहेको इसेसाकी सहरमा ४०।२ डिग्री सेल्सियसको रेकर्ड देखिएको छ ।
यो जुनमा जापानको अहिलेसम्मकै उच्च तापक्रम थियो । यद्यपि विद्युत प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका पनि मन्त्रालयले जनाएको छ ।
जापानको उत्तरपूर्वी क्षेत्रमा मार्चमा गएको भूकम्पले केही आणविक उर्जा केन्द्रहरु सञ्चालनमा रोक लगाएपछि जापानको बिजुली आपूर्तिमा कमी आएको छ ।
जापानले कार्बन डाइअक्साइड उत्सर्जन घटाउने प्रयासमा धेरै पुरानो इन्धन प्लान्टहरू पनि बन्द गरेको छ । जसले गर्दा विद्युत आपूर्तिमा समस्या आउन सक्ने जापान सरकारको भनाइ छ ।
यसैबीच युक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।
यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख निर्यात हो । रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ ।”
सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन् ।
जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी–७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस बिषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताए ।
ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रूसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो । यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो ।