काठमाडौँ । सरकार नेपाल कम्युनिस्ट पार्टीबीच बुधबार दुई चरणको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सरकारी र नेकपाका वार्ताकारहरुले दुई चरणको वार्ता गरेका हुन् ।
विहानै पहिलो चरणको वार्ता भएको थियो भने साँझ दोस्रो चरणको वार्ता भएको थियो । वार्ता सकारात्मक दिशातिर उन्मुख भएको सरकारी वार्ता टोली सदस्य राजन भट्टराईले बताएका छन् । उनले छिटै निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।
पहिलो चरणको वार्तामा दुबै पक्षले एक अर्काका कुरा बुझेका थिए । दोस्रो चरणमा आआफ्नो एजेण्डा राखेका थिए । दोस्रो चरणमा नेकपाका वार्ता टोलीले वैकल्पिक संयुक्त सरकार, व्यवस्थामाथि जनमत संग्रह, प्रतिबन्ध फिर्ता, बन्दी रिहा र सर्वपक्षीय भेलाको आयोजना गर्नुपर्ने माग राखेको थियो ।
त्यसैगरी सरकारी टोलीले शान्तिपूर्ण राजनीतिमा आउने सार्वजनिक प्रतिबद्धता, ह तियार फिर्ता गर्नुपर्ने धारणा राखेको थियो । स्रोतका अनुसार सरकारी वार्ता टोलीले प्रतिबन्ध फिर्ता र बन्दी रिहा गर्न सकिने तर त्यो भन्दा पहिले शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता चाहिने बताएको थियो ।
सरकारी टोलीको धारणालाई आत्मसमर्पणको रुपमा लिएको नेकपाको वार्ता टोलीले राजनीतिक मुद्धामा सरकार तयार नभए उक्त कुरा गर्न नसकिने प्रतिक्रिया दिएको थियो । नेकपाका वार्ताकारहरुले पार्टीले हतियार उठाएको भन्दै आफूहरुसँग ह तियार नभएको दाबी गरेका थिए ।
सरकारी वार्ता टोली संयोजक तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार र नेकपाबीच धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको जानकारी दिएका छन् । उनले केही विषयमा छलफल जारी छ, छिट्टै सुखद् परिणाम आउने अपेक्षा समेत गरे ।
वार्ताबारे नेकपाका वार्ता टोलीले कुनै प्रतिक्रिया दिएका छैनन् । सरकारी स्रोतका अनुसार छलफलमा प्रतिबन्ध र बन्दी रिहा भन्दा राजनीतिक मुद्धामा छलफल केन्द्रित छ ।
तत्कालिन नेकपा (माओवादी) र सरकारबीच हुने वार्ता जस्तो सुरुमै बन्दी रिहा गर्न नसकिने प्रतिक्रिया सरकारी टोलीबाट आएको छ ।