हेटौंडा । सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका विद्युतीय (ईभी) गाडीमाथि कारबाही अघि बढाएको छ ।
हिजो मंगलबार इलाका प्रहरी कार्यालय भीमफेदी र ट्राफिक प्रहरीसहित खटिएको टोलीले भीमफेदी गाउँपालिका–६ स्थित चेकप्वाइन्टमा सवारीसाधन चेकजाँच गर्ने क्रममा क्षमताभन्दा बढी सिट जडान गरिएका ११ वटा ईभी गाडी फेला पारेको हो ।
प्रहरीका अनुसार ती गाडीको सवारी दर्ता किताबमा १४ सिट क्षमता उल्लेख भए पनि थप चारवटा सिट जडान गरी सञ्चालन गरिएको पाइएको थियो। यसरी तोकिएको क्षमताभन्दा बढी सिट राखेर सवारी सञ्चालन गर्नु सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत रहेको प्रहरीले जनाएको छ ।
उक्त कसुरमा ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम हाल चारवटा गाडीलाई प्रतिगाडी १० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले बाँकी थप गाडीहरूलाई समेत कारबाही गर्ने तयारी भइरहेको बताएका छन् ।
क्षमताभन्दा बढी सिट राखेर यात्रु ओसारपसार गर्दा सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर असर पर्ने भएकाले प्रहरीले चेकजाँचलाई कडाइ गरेको जनाएको छ ।
मकवानपुर प्रहरीले सवारीसाधनको दर्ता प्रमाणपत्रमा उल्लेखित क्षमताअनुसार मात्रै यात्रु बोक्न र गैरकानुनी रूपमा सिट थप नगर्न सवारी सञ्चालकहरूलाई सचेत गराएको छ ।


अनलाइन डबली

