आज :

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

  • अनलाइन डबली

क्यानबेरा । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन् २०२४ मा ५५औँ स्थानमा रहेको अस्ट्रेलिया पछिल्लो प्रतिवेदनमा शीर्ष ३० प्रभावित देशभित्र परेको छ ।

खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

जर्मनीस्थित वातावरणीय संस्था जर्मनवाचले मंगलबार सार्वजनिक गरेको क्लाइमेट रिस्क इन्डेक्स प्रतिवेदनअनुसार विश्वभर गर्मीको लहर (हिटवेभ) चरम मौसमी घटनाबाट हुने मृत्युको सबैभन्दा ठूलो कारण बनेको छ । तर आर्थिक क्षतिको हिसाबले भने आँधीबेहरी सबैभन्दा प्रभावकारी विपद्का रूपमा देखिएको छ ।

यो प्रतिवेदन सार्वजनिक हुनुभन्दा केही दिनअघि अस्ट्रेलियाको मौसम विभागले देशमा ‘बलियोदेखि अत्यन्त बलियो एल निनो’ अवस्था विकसित भइरहेको चेतावनी दिएको थियो । यसले अस्ट्रेलियामा तापक्रम बढ्ने, मौसम थप सुक्खा हुने र डढेलोको जोखिम बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय विपद् तथ्यांक प्रणाली, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त तथ्यांकका आधारमा तयार गरिएको प्रतिवेदनले सन् २०२५ मा विश्वभर ३६७ वटा चरम मौसमी घटना भएको उल्लेख गरेको छ ।

ती घटनाका कारण करिब ३५ हजार मानिसको मृत्यु भएको, १० करोडभन्दा बढी मानिस प्रभावित भएको र प्रत्यक्ष आर्थिक क्षति १५८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको प्रतिवेदनमा उल्लेख छ । यो रकम अस्ट्रेलियन डलरमा करिब २३५ अर्ब बराबर हुन्छ ।

प्रतिवेदनअनुसार सन् २०२५ मा गर्मीको लहरका कारण मात्रै २४ हजार ४०७ जनाको मृत्यु भएको थियो। यो वर्षभरि चरम मौसमी घटनाबाट भएको कुल मृत्युको झन्डै ७० प्रतिशत हो। सन् १९९६ यताका तथ्यांकमा गर्मीका कारण हुने मृत्युको हिस्सा करिब ४० प्रतिशत रहेको थियो ।

प्रतिवेदनकी सहलेखक लिसा शुल्थाइसका अनुसार गर्मीका कारण हुने वास्तविक मृत्युको संख्या सार्वजनिक तथ्यांकमा उल्लेख भएभन्दा अझ बढी हुन सक्छ । विशेषगरी विकासोन्मुख देशहरूमा गर्मीका कारण भएका सबै मृत्यु अभिलेखमा नसमेटिएको र युरोपमा हालैका वर्षहरूमा देखिएका अत्यधिक गर्मीका प्रभावले वास्तविक संख्या अझ उच्च हुन सक्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनको प्रभाव अब केवल वातावरणीय विषयमा सीमित नरही जनस्वास्थ्य, जनजीवन, अर्थतन्त्र र विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको यस प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal