एजेन्सी । भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।
शुक्रबार विहान भारतीय राष्ट्रपतिको भवन परिसरमा उनलाई २१ तोपको सलामी दिँदै स्वागत गरियो । साथै उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।
पुटिन बिहीबार साँझ दुई दिने भ्रमणमा भारत पुगेकाहुन् । उनीसँगै सातजना मन्त्रीहरूको प्रतिनिधिमण्डल पनि सहभागी छन् । मोदी र पुटिनबीच दुई महत्त्वपूर्ण बैठक हुने कार्यक्रम तय भएको छ ।
द्विपक्षीय बैठकका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ ।
पुटिन विमानस्थलमा उत्रिता मोदी स्वयं एयरपोर्टमा स्वागत गर्न पुगेका थिए । दुवै नेताले एकअर्कालाई अंगालो हालेका थिए । मोदी तथा पुटिन एउटै गाडीमा बसेर एयरपोर्टबाट प्रधानमन्त्री निवास पुगेका थिए ।
मोदीको निमन्त्रणामा आयोजित २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनको क्रममा दुई नेताहरूबीच रक्षा सहयोगलाई सुदृढ पार्ने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना मोड्युलर रिएक्टरहरूमा साझेदारी गर्ने विषयमा छलफल हुने भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।
पुटिन भारत भ्रमणमा दिल्ली ओर्लिएपछि बिहीबार मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएका थिए ।(एएनआइ)


अनलाइन डबली



