हुम्ला । कृषि विकास कार्यालय, हुम्लाले आव ०७७/०७८देखि ०८०/०८१ सम्मको चार आर्थिक बर्षमा ८९ हजार ७१९ पतझड तथा शितोष्ण फलफुलका बोटबिरुवा सहुलियत दरमा बिक्री वितरण गरेको छ । तर, अझैसम्म नमूना बगैँचा स्थापना हुन सकेको छैन ।
संघीयता लागु भएपछि नाम परिवर्तन भएर कृषि विकास कार्यालय, हुम्ला भएको छ । योसँगै नाम र काम खुम्चिएको छ । हुम्ली किसानहरुको जीवनस्तर सुधार्नका लागि ८९ हजार ७१९ पतझड तथा शितोष्ण फलफुलका बोट बिरुवाहरु स्याउ, दाँतेओखर, सुन्तला, कागती, जुनार, लेमन, जैतुन र टिमुरका बिरुवा सहुलियत दरमा बिक्री बितरण गरिएको जानकारी कृषि विकास कार्यालय, हुम्लाका कार्यालय प्रमुख चुडामणी पन्तले दिएका छन् ।
तीन तहका अवधारणा अनुरुप शासन व्यवस्था लागु भएकाले कतिपय काम कामवारहीहरु दोहोरिने र अत्यावश्यक कार्यक्रमरु छुट्ने संस्कार बढ्दै गएको छ । यसैले पनि नीतिगत र विधिगत रुपमा स्थानीय किसानहरुको माग, आवश्यकता, भौगोलिक अनुकूलता अनुसारको काम हुन नसकेको कुरामा जिम्मेवार निकाय पनि सन्तोषनक नभएको स्वीकारोक्ति रहेको छ ।
४ आवमा स्याउ ४५ हजार ५३ बोट, ओखर २० हजार ६६ बोट, सुन्तला, जामुन, जुनार, कागती, लेमन २३ हजार ५ सय बोट, जैतुन १ हजार बोट र टिमुर १०० बोट सहुलियत दरमा बिक्री वितरण गरिएको कृषि विकास कार्याय, हुम्लाको अभिलेख रहेको छ ।
सरकारले पटक पटक विभिन्न प्रकारका सहुलियतका कृषि कार्यक्रमहरु लागु गर्ने गरेको छ । तैपनि नीगिगत, विधिगत, भौगोलिक अनुकूलता, स्थानीय आवश्यकता, वास्तवितकता र सक्रिय किसानलाई पहिचानमा पटक पटक चुक्ने र ढुक्ने गरेको स्थानीय किसानहरुकोे गुनासो र आरोप रहेको छ ।
कृषि विकास कार्यालय, हुम्लाको स्थापना भएको वि.सं २०३९ सालमा भएको हो । हालसम्म करीब २५ लाखभन्दा धेरै विभिन्न प्रकारका फलफुलका बोट बिरुवाहरु सहुलियत तथा निःशुल्क रुपमा बिक्री वितरण गरेको अनुमानित आँकडा रहेको छ । तैपनि देखाउन तथा हेर्न लायक कुनै ठाउँमा बगैँचा स्थापना भएको पाइएको छैन ।
पछिल्लो ४ वर्षमा ८९ हजार ७ सय १९ बोट पतझड तथा शितोष्ण फलफुलका बोट बिरुवा सहुलियत दरमा बिक्री भएको छ तैपनि र्हेन, देख्न र नमूनायोग्य बगैँचा नभएको जिम्मेवार निकाय र कार्यालयको स्वीकारोक्ती रहको छ ।
यसका साथै हुम्लाको कृषि विकास तथा अन्य कामका पनि वास्तविक किसानभन्दा पनि कागजी किसानको बिग्बीगी भएकाले सरकारका विभिन्न तहले उपलब्ध गराउने अनुदान तथा सहुलियत कार्यक्रमको नाममा आउने करोडौं रकम बालुमा पानी खन्याए झैँ भएको छ । यसबाट हुम्लाको स्थानीय उखानझैँ न त धुलो अर्थात अन्न रहने न त रंग अर्थात् उपलब्धी हुने जस्तै भएको छ ।