
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) सहित २३ दलीय मोर्चाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता रिहा गरि वार्ता गर्न सरकारसँग माग गरेको छ । २३ दलीय राजनीति संगठनको तर्फबाट शुक्रबार सीपी गजुरेलले वज्ञिप्ति जारी गरेर सरकारले वार्ताको प्रचार गरेपनि सरकार दमनतिरै अग्रसर रहेको बताएका छन् ।
नेकपाका सचिवालय सदस्य धमेन्द्र वास्तोलालाई पुस २९ गते गिरफ्तार गरेर सरकार दमनकै बाटोमा अग्रसर भएको देखिएको बताउँदँै नेता कार्यकर्तालाई रिहाई गरेर वार्ताको बाटोबाट समस्या समाधान खोज्न सरकारसँग विज्ञप्तिमा माग गरिएको छ ।
“हामीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न र उक्त पार्टीमाथिको प्रतिबन्ध हटाउन माग गर्दै र केपी ओली सरकारलाई सुझाव दिँदै आएका छौं । यदाकदा सरकारले वार्ताको प्रचार पनि गर्ने गरेको छ । तर, यही पुस २९ गते अपराह्न त्यस पार्टीका केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायत चार जनालाई गिरफ्तार गरिनुले सरकार दमनतिरै अग्रसर भएको देखिन्छ । हामी २३ राजनीतिक संगठनका तर्फबाट गिरफ्तार नेता–कार्यकर्तालाई रिहाई गरी वार्ताको बाटोबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।
कार्यगत एकतामा सम्मिलित २३ राजनीतिक संगठनहरु
१. नेकपा (मसाल) २. नेकपा (क्रान्तिकारी माओवादी) ३. नेकपा (माले) ४. राष्ट्रिय जनमोर्चा, नेपाल ५. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ६. नेपाल कम्युनिस्ट पार्टी, ७. नेकपा (माओवादी केन्द्र), ८. नेकपा (माओवादी केन्द्र), ९. राष्ट्रिय जागरण मञ्च १०. जनसमाजवादी पार्टी,
११. नेकपा (संयुक्त), १२. राष्ट्रिय जागरण परिषद्, नेपाल १३. वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, १४. नेकपा (बोल्शेविक), १५. राष्ट्रवादी केन्द्र, नेपाल, १६. एम.सी.सी. खारेज अभियान, १७. पुष्पलाल अध्ययन समाज, १८. सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), १९. माक्र्सवादी एकता अभियान, २०. नेकपा (माक्र्सवादी), २१. नेकपा माक्र्सवादी (पुष्पलाल), २२. ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल ।