आज :

अभिनेत्री पुजा शर्मालाई संचारकर्मीको भूमिकामा देख्न पाइने

  • अनलाइन डबली

काठमाडौं । फिल्ममा पाइला चाल्नुअघि अभिनेत्री पुजा शर्मा सञ्चारकर्ममा थिइन् । एक टेलिभिजनमा काम गरिरहँदा फिल्म ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजन कर्ममा ‘ब्रेक’ लगाउँदै अभिनयको दुनियाँमा रमाइरहिन् । यिनै पुजा सञ्चारकर्मीकै भूमिकामा फिल्म ‘रावायण’मा देखिँदैछिन् । यो फिल्म यसै साता अर्थात भदौ २१ गते रिलिज हुँदैछ ।

फिल्मको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम बोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । ‘पत्रकारितामा करिब १०–१२ वर्षकै ग्याप थियो । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । फिल्ममा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक कन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुती दिँदा पुरानो सम्झना आउँदो रहेछ । त्यतिबेला ‘अहो बिर्सेछु यार’ भन्ने फिलिङ आउँदो रहेछ’, फिल्मकी ‘वैभवी’ पात्र पुजा भन्छिन् ।

कुनै समय पत्रकारितामा रमाएकी पुजाले ‘रावायण’मा पत्रकार भूमिकामा देखिन केही अध्ययन पनि गरिन् । ‘यो फिल्म मैले अहिलेसम्म गरिरहेको फिल्मभन्दा फरक थियो । त्यही भएर अलिक ‘स्ट्रङ’ खालको भूमिका भइसकेपछि बोलीचाली र लुक्समा ध्यान दिएको थिएँ । चरित्रकै लागि नियमित समाचार हेर्थे, को कसरी बोल्छ हेर्थे । कतिपय अवस्थामा युट्युबमा पनि खोज्थें’, पुजाले चरित्रको तयारी सम्झिइन् ।

पुजा आफ्नै कारणले ‘रावायण’को कथा अघि बढेको बताउँछिन् । ‘रावायणमा जे जति घटना भइरहेका हुन्छन्, ती सबैको कारण मै हुँ । फिल्ममा हामीले एसिड आक्रमणदेखि लिएर देशमा मानिसहरुले कसरी शक्ति दुरुपयोग गरिरहेका छन् भन्ने कुरालाई देखाएका छौं’, पुजा भन्छिन् ।

पुजाको भनाईमा उनलाई ‘उत्कृष्ट मेकर’ बन्नु छ । त्यो प्रयासमा आफूलाई ‘रावायण’ले सफल बनाउने उनको बुझाई छ । ‘रावायणबाट म कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु । म बेस्ट मेकर भएर आउँ, त्यसकै लागि दर्शकलाई ‘रावायण’ दिँदैछु । दर्शकलाई पनि पुजा शर्माले ल्याउँदा यस्तो फिल्म राम्रो रहेछ है भन्ने अनुभव होस् । म यसपटक मेकरका रुपमा मात्र फोकस छु’, पुजाको दाबी छ ।

पुजा आफूलाई ‘नम्बर वान’को ट्यागले पुगिसकेको बताउँछिन् । उनकै भनाईमा उनलाई अब पुजा शर्मा भनेर चिन्नकै लागि कुदिरहनु पर्दैन । ‘अब म मेकरको हिसाबले कुदिरहेकी छु । अभिनय र गर्नुपर्ने काम त गरिरहेको छु । तर मेरो बेस्ट फिल्म कसरी बनाउने, कसरी भन्नेमा केन्द्रीत छु’, पुजा खुल्छिन् ।

फिल्म ‘रावायण’ नायिकासँगै निर्माता बन्दा पुजामाथि दोहोरो दबाब छ । त्यहीकारण उनले आगामी फिल्ममा उनी एउटा मात्र विधा रोज्ने योजनामा छिन् । ‘कलाकार र निर्माता हुँदा दोहोरो दबाब हुँदो रहेछ । अब अर्को पटक कि म कलाकार हुन्छु कि मेकर । किनभने कलाकार र निर्माता दुवैको जिम्मेवारी लिइरहँदा फिल्मको सेटमा म अभिनय गरिरहेकी छु, तर के भयो, कसो भयो भन्ने अर्को चिन्ता ममाथि थपिइरहेको हुन्छ । ‘रावायण’ले मलाई त्यो एउटा पाठ सिकायो’, पुजाको भनाई छ ।

यो फिल्ममा पुजाको अपोजिटमा नायक पल शाह छन् । पुजालाई पलसँग सहकार्य गर्न पाउँदा निकै सहज लाग्दो रहेछ । ‘पलमा कलाकारमा हुनुपर्ने हरेक चिज, गुण पाएकी छु । कोही कलाकार काममा चुजी भइदियो भने त्यसको असर अन्य कलाकारदेखि प्राविधिकसम्मलाई पर्छ । तर, पल सबै कुरामा सहज छ । त्यसकारणले पनि अन्य कलाकारदेखि प्राविधिकलाई काम गर्न सजिलो भयो’, पुजा भन्छिन् ।

पुजा ‘रावायण’ नायक पलका लागि ‘कमव्याक’ फिल्म मान्छिन् । ‘उसले अगाडि अभिनय गरेको फिल्ममा धेरै कलाकार थिए । तर यो फिल्म चाहिँ उसका लागि कमव्याक नै हो’, पुजा दाबी गर्छिन्, ‘यो फिल्ममा उसले सायदै त अन्य फिल्ममा नगरेको मेहनत यसमा गरेको छ । सुटिङ सेटमा पललाई हेर्न दुई तीन सय सर्वसाधारण आउँथे । उनीहरु सबैलाई समय दिन्थ्यो । सुटिङमा पनि उत्तिकै ध्यान दिने गथ्र्यो । मलाई लाग्छ पलले जीवनमा सबैभन्दा बढी दुःख गरेको फिल्म नै यही हो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal