लेखक तथा इतिहास खोज कर्ता – पदम श्रेष्ठ
क्वाँटी पुन्हि नौ थरी गेडागुडीको क्वाँटी खाएर र जनै पूर्णिमा तागाधारीहरुले जनै फेरेर त अन्यले हातमा डोरो बाँधेर मनाए । क्वाटी अर्था मास,भटमास,ठूलो–सानो केराउ,चना,बोडी,मुङ,सिमी र बकुल्ला ९थरी गेडागुडीभिजाएर टुसा आएपछि विशेष तरिकासँग बनाएर क्वाँटी (तातो झोल) खानेहुँदा यस पर्वलाई नेपाल भाषामा गुन्हुपून्ही भनिएको हो । क्वाँटी खानाले शरीरमा सर्दी–गर्मीको सन्तुलन, शक्तिवद्र्धक र पेटको विकार नाश गर्छ भन्ने मान्यता पाइन्छ । यस दिन तागाधारीले पुरानो जनै फ्याँकी नयाँ जनै फेर्ने गर्छन् । जनै नलगाउनेले पनि ब्राह्मणको हातबाट दायाँ हातमा रक्षाबन्धन (डोरो) बाँध्ने गर्दछन् । तिहारको लक्ष्मीपूजाको दिन उक्त डोरो गाईको पुच्छरमा बाँधी पूजा गर्ने प्रचलन छ । गुन्हुपून्ही अर्थात् जनैपूर्णिमा नेवार, क्षत्री, ब्राह्मण तीन सम्प्रदायबीचको साझा पर्व हो । यस दिन ब्राह्मणले जनै लगाइदिने र क्वाँटी, पीठो, आलु, चामल,बेसार, दाल, घिउ, नुनसहितको दक्षिणा दान लिई फर्कने गर्दछन् ।
बौद्ध धर्मग्रन्थः
ललितविस्तारमा जनैपूर्णिमाको दिन भगवान् गौतम बुद्धले अनेक आपत्तिलाई समेत जिती सम्यक हुनुभएको थियो । सो दिन यमराजले यमलोकमा रहेका धर्मात्मालाई षडाक्षरी लोकेश्वरका रूपमा धर्मदेशना प्रदान गर्नुभएको थियो । यसै दिनको स्मरण गुन्हुपून्हीको आठ दिनसम्म प्रत्येक बिहान उपत्यकाका महाविहारमा प्राचीन थाङ्का, पौभा र देवताका मूर्ति सार्वजनिक प्रदर्शन गर्नुका साथै गुँलाबाजा बजाउँदै स्वयम्भू परिक्रमा गर्ने परम्परा छ । रसुवाको गोसाँईकुण्ड , काभ्रेपलाञ्चोकको पाँचपोखरी , साँखुस्थित मणिचुड महाराज ( बुद्धको पूवअवतार)को बासस्थान मणिचुड दहमा मेला लाग्दछ ।
अर्को आख्यानअनुसारः दानव र देवता मिली समुद्र मन्थन हुँदा निस्किएको कालकुट विष सेवन गरेका महादेव छटपटाउँदै रसुवाको सिलुगोसाइँकुण्ड पुगेछन् । विषपानबाट छटपटाएका महादेवलाई समेत शान्त पार्न सक्ने तीर्थस्थल शिलुतीर्थमा जनैपूर्णिमाका दिन काठमाडौंलगायत देशका विभिन्न स्थानबाट ठूलो संख्यामा तीर्थलु श्राद्ध, दान, पितृ तर्पण गर्न पुग्ने गर्छन् । यस दिन शिलु जान नपाएका वा नस्क्नेले पाटनको क्वन्ती (बालकुमारी) पुग्ने गर्दछन् । जनैपूर्णिमाकै दिन काठमाडौं उपत्यकाका ज्यापू समुदायमा ब्याँचा र क्वया जङ्कु नाउँका काग र भ्यागुतोलाई खानेकुरा खुवाउने परम्परा छ । शुभ समाचार दिने काग र खेतको उर्वर शक्तिलाई मलजल गर्न पानी बोलाउने भ्यागुतोको गुणलाई स्मरण गर्दैपूजा गर्ने गरिएको हो । जनैपूर्णिमामा बनेपाको शिलुमा मेला लाग्छ ।