आज :

ह्याप्पी लुते पर्व टू यु

  • नरेन्द्रजंग पीटर

आज लुते सङ्क्रान्ति । साउने सङ्क्रान्तिको महत्व लुते पर्व भएर झन् बढेको हो । संसारभरका सबै लुतेलाई महान् लुते पर्वको शुभकामना ! ह्याप्पी लुते पर्व टू यु ।

लुतो कन्याउनुस् संसारकै परम आनन्द लिनोस् । अझ अरुका दिमागमा सुकेलुतो सल्काइ दिनुस् अनि हेर्नुस् दुनियाँका तमासा । कन्याउ, कन्याउ, लुतो, मस्त कन्याउ ! लुते भाइरस कसैको पनि मन र मस्तिष्कमा इन्जेक्ट गरेपछिको तमासा हेर …. वा क्या रमिता हुन्छ वाह !

जो, जति कमजोर हुन्छ, उ त्यतिनै आक्रामक हुन्छ । गालीमा कुण्ठा ओकल्छ । भयग्रस्त मनुवा ऐना हेर्न आतङ्कित हुन्छन् । चौतर्फ दुश्मनको घेराबन्दी देख्छ । आफ्नै सहयोगी मित्रलाई षड्यन्त्रकारी । सोचेरभन्दा घोचेर बोल्दा महान बनिन्छ भनेर सोच्छ । लुते स्वभाव बनिसकेका लुतेहरु हिजो बिर्सिदिओस् भन्ने लुते देवतासँग भाकल गर्छन् । लुतेहरु न इतिहाससँग सिक्छन्, न इतिहासलाई जवाफदेही बन्छन् । क्न्याउछन् लुतो, कन्याउँदा कन्याउँदै लुतोको खुब मजा लिन्छन् ।

अथ लुते माहात्म्य प्रारम्भ

जिउ चिलाए कन्याउनु पर्छ, सिङ चिलाए सिंगौरी खेल्नै पर्छ । जिब्रो चिलाए गाली बक्नु पर्छ वा मालिकका परभक्तिमा भजन गाउनुपर्छ । शक्तिमा मदहोस भएकाहरू आफैले गुप्ताङ्ग कन्याउन सकेनन्, भ्याएनन् भने ढोके, हुक्के, छातेलाई कन्याउन लगाउँछन् । हुलकाहुल लुतो कन्याउने जयगान गाउने भीड तयार गरेर तमासा देखाउँदै जिन्दगीका मजालिन थाल्छन् । खुजलीका कहानी गजब होता है, खुजली देवका शक्ति भी गजब ।

उसले सल्काई दिएको लुतो अहिले म पनि कन्याउँदै छु । सभा होस् या सम्मेलन, दरबारी होस् खरदारीकै सामु लुतो कन्याएर मख्ख पर्छु । जब लड्न भिड्न सक्दिनँ तब उसका सामु पुगेर कन्याइँदिन थाल्छु । लाजले भुतुक्क भएर ऊ कुलेलम ठोक्छ । लुतो कन्याई गाण्डीव धनुभन्दा पनि शक्तिशाली बाण हो । कन्याउन र कन्याइँदिने कला नै लुते महात्म्य हो । पहारिलो घाममा डिलमा बसेर आउँ परेकाबेला कन्दै आची गर्नु र सुके लुतो कन्याएको जस्तो अरुले आनन्द मलाई आजसम्म दिएको नै छैन ।

आगे लुते महात्म्य । लुतो लगाइदिने लुतेदेउता हुन्छन् । उनको श्राप भनेकै अक्करमा लुतो सल्काई दिँदै आफैँले आफ्नो सार्वजनिक बेइज्जत गर्नु परम धर्म र कर्म हुन्छ । अक्करमा लाग्ने र गुप्ताङ्गलाई निशाना बनाउने यो रोगले कुनै समय र थातथलोको हेक्का नराख्ने भएकाले सामाजिक हुर्मत त काढ्छ नै । सुके लुतोभन्दा पाकेलुतोले फत्रक्कै भए गुप्ताङ्ग झर्न पनि सक्छ । सँइन हुनसक्छ । सइँनलाई अहिले त क्यान्सर भनिन्छ ।

साउने सङ्क्रान्ति कृषि पर्व भए तापनि अहिले भने लुते महात्म्य नै कहन्छु । आज हलो पखाल्ने, गोरु नुहाइदिने, हिलासँग पौँठेजोरी खेलेर थकित ज्यान सुस्ताउने कृषि पर्वको अर्को पाटो लुतो फाल्ने पर्व परम्परादेखिकै चलन हो । अझ पुरानो कर्णालीमा त साउने सङ्क्रान्ति लुतो फाल्ने, अरुलाई गाली बक्ने, राँको बालेर चिच्याउने र भोलिदेखि गाईगोरु गोठ सारेर लेक लाने चलन नै हुन्छ । लुतो फाल्ने चलन खस संस्कृतिको उद्गमथलो सिँजाबाटै सुरु भएको हुनसक्छ । यसको महत्व र महात्म्य अपरम्पार छ । लुतेदेवताको गाली आराधना गर्ने चाडवाड नै लुतो फाल्ने पर्व हो ।

लुतो र लाजको मितेरी हुन्छ । लुतो लागेपछि कन्याउन कसैले पनि लाजघीन मान्नै सक्दैन । पर्दैन । लाज बचाउन नकन्याऊँ भन्दापनि लुतेदेउताले दिनको चैन र रातको निन्द्रा हराइदिन्छ । त्यसैले लुतेहरुको सार्वजनिक थलोमा जाने, भाग लिने औकात लुतेदेवताले हरिदिन्छन् । तब लुतो नलागोस् भनेर लुतेदेवता पुज्न जानेजति गाली बक्तै लुतो फालिने पुर्खादेखिको चलन हो, साउने सङ्क्रान्ति ।

लुतोको शक्ति अपरम्पार छ । लुतो सल्केको मान्छे सामने कोई पनि भद्र मान्छे बस्दैनन् । कन्याउन थालेपछी लुते लाजघीन हराएर बेसर्मी बनिदिन्छ । उसको चर्तिकला देखेर सामने बस्ने लजाउँदै कुलेलाम ठोक्छ । लुतो कन्याई दिएपछि सामनेको माइक टाइसन र दारा सिंह पनि विना गालीगलौंच भागी हाल्छन् । लुतो सरुवा रोग । सारिदिनुहोस् र मजा लुट्नुस् । जति चिलायो, त्यति मजा । जति कन्यायो, त्यति नै हाइसन्चो ।

लुतो फाल्न सात थरीका जडीबुटीका सारदम जोर्नु पर्छ, । त्यसको आयुर्वेदिक अर्थ धनवन्तरी वा चरक महाराजले लेखिदिएनन् । देवीसरो, धुपीसरो, पानीसरो, ककुरडाइनु, कुरिलो, हाँडे उनिउँ र सल्लाको दियाले काठको अर्थ के हुने हो कुन्नि ? त्यसपछि लुते गोठबाट राँको फाल्दै मेरो लुतो लुते लै जा है फलाना … मेरो लुतो लैजा भनेर जानेजति गाली फलाक्यो, चिच्यायो । सात सामग्रीको राँको फाल्दै जानेजति गाली फलानालाई फलाक्यो । मुखको तितो फाल्दै चिच्यायो र बैरीलाई लुतो सल्काइ दियो । फलानो भनेको पुस्तौनी शत्रु वा हेपिएका जाति हुने गर्छन् अथवा अर्काको हुर्मत काढेर आफ्नो औकात बढाउन लुतो सल्काइदिने र लुते पर्वमा गाली गर्ने खलपात्र बनाइएका हरेक मनुवाका गाली खाने फलाना भने हुन्छन् ।

सुके लुतोको बखान गरेर अझ साध्यै छैन् । लुतो कन्याउने मजा, चाप्लुसी र चाकडीका शब्द कोरल्दाको मजै भिन्न खालको । अर्काको खिसिट्युरी गर्नु, कुरा काट्नु, चुक्ली लगाउनु, चाप्लुसी गर्नु, आत्मविज्ञापन गर्नुभन्दा पनि औधी मजा क्या ! लुतो कन्याउनुभन्दा मजा केहीमा हुँदैन । गाली पण्डितहरूको महान् यो दिन हो । पवित्र दिन हो । गाली साधना पर्व हो । आलोचना भन्नुस्, गाली भन्नुस्, गाली सामथ्र्यमा नै यस पर्वको ऐतिहासिकतामा झल्कन्छ । लुतो कन्यायो ‘…कन्यायो, आहा…’ आफैलाई रक्तमुच्छेल पार्यो । चिथर्यो, कोपर्यो, घायल बनायो तर पनि कोपरेर पनि कन्याउन भने नछोड्ने । आफ्नो शत्रु आफै बन्यो । आफ्नो हुर्मत आफैले काढेर सर्वाङ्ग सडकमा जैनमुनी जस्तै बनेर निवस्त्र बन्नुको मजा कुन तराजुले तौलेला र !

आज सुख पाउन हिजोका कुरा बिर्सनुपर्छ । हिजोका थातथलो, दौंतरी, भूमिका, वाचाबन्धन र गरिएका प्रतिबद्धता सबै विर्सन पर्छ । तब बिजुलीपानी तन्काउँदा बिर्सन नसकिने कुरा पनि लुतेदेवताको शरणागत भएपछि छुमन्तर हुन्छन् ।

कन्याउँदाको मजा सुकेलुतो लागेकालाई मात्र थाहा हुन्छ । लुतो सल्काइदिने महाकला हुन्छन् । अझ लुतो दिमागमा सल्केपछि त लुतेहरु चाणक्य, म्याकियाभेली र बीरवलभन्दा पनि चतुर बन्छन् । महाएलर्जीका रुप र तरिका अहिले फेरिए । लुतेपर्वका बैरीहरू स्केवियन लोसन र मल्हम पनि निक्लिसके । हामीसँगै सिकेर अंग्रेजले गालीमा मनका भडास छताछुल्ल गरेपछि कसैले पनि बौलाउन पर्दैन भनेर गालीगलौच स्वतन्त्रता थलो हाइडल पार्कलाई बनाइदियो ।

अझ जुकरवर्गे फेसबुके पार्क र ट्वीटरजस्ता सामाजिक सञ्जाल सेन्सरहीन गाली थलो बन्दा वर्ष दिनको साउने संक्रान्तिको लुते पर्व अब कुरिरहनै पर्दैन । संसद त अझ लुतेपर्वको महाथलो, गालीपण्डितको आविस्कार र प्रयोगशाला नै बन्यो । संसारको महान गाली पण्डितहरु कोई सिद्धान्तको नाममा, कोई विचारका नाममा औकात अनुसारका कलामय गाली सिक्ने सांस्कृतिक आराधनाको पहिलो पाठशाला लुतेपर्व नै थियो र हो भन्न हिचकिचाउनु अब पर्दै पर्दैन ।

शक्तिका उपासकहरूले लुतेदेवताबाट गाली सिके र शक्तिआर्जनमा अर्काको बेइज्जत गरेर शक्तिहरणकालागी गालीवाण बर्साउन थाले । यो चलन राजनीतिमा लुतो फाल्ने चलनसँगै भित्रिएको हो भनेर ठोकुवा गर्न सकिन्छ । अझ आन्तरिक वा वाह्य शक्ति सङ्घर्षको बेला गाली संस्कृति मौलाउँछ र गुप्ताङ्गमा लुतो कन्याएझैं लाजसरम सबै त्याज्न हिच्किदैनन् । गाली नै शक्तिको श्रोत हो, सिर्जना हो, पौरख हो भनेर कर्म र आर्दश भूल्न पर्ने नै भयो । विवेकमा लुतो सल्काईदिएपछि त गाली नै शक्तिको श्रोत हो, सिर्जना हो, पौरख हो भनेर कर्म र आर्दश भूल्न पर्ने नै भयो ।

शक्ति हत्याउन, मोहनी लगाउन, अरुको हुर्मत काढ्न लुतो सल्काई दिनुपर्छ । ऊ कन्याउँदै रहन्छ, आफ्नो काम फत्ते । लुते महात्म्य अनेकौं छन् । लुते महात्म्यको राष्ट्रिय महत्व अहिले झन् बढेको छ । लुतो कन्याउन थालेपछी पहिलाका सबै कुरा सहजै बिर्सिइन्छ । सिद्धान्त, आदर्श, आफन्त, सगोत्रीका चिहान, गरेका कबुल, देखाइदिएका सपना, दर्शन, साहित्य, राजनीति र सङ्गठन भन्नेकुरा सबै बिर्सदा न उदेग लाग्छ न दुःख । चिलाउँदा कन्याउनु नै पर्छ ।

राजनीतका चाल, चरित्र र चेहेरा फेरिएझै चाडपर्वका अर्थ र रुप पनि फेरिए । लुतेपर्वका तरिका पनि फेरिए । केही राजनेता, गाली पण्डित र केही मिडियाहरु भने सदाकाल लुतेपर्व मनाइरहेका छन् । यो पर्व गालीपण्डितहरूको योगसाधना गरेर नयाँ र कलामय गाली आविष्कारको गौरवमय दिन भनेर बुझिन्छ । हरेक लुतेपर्वमा फलानालाई गरिने गाली नै गालीशास्त्रको पहिलो प्रयोगशाला बन्यो ।

लुते देउता दोहोलो काढन हाम्रा पुर्खाले अगेंरीको पात र छाउँने घाँसको रसले उपचार गर्थे । लुतो फोहरसँग आउने सरुवा रोग भएकाले लुतो फालेर, गाली बोकेर मात्र लुतो ठिक हुँदैन् भन्नेहरुको कमी थिएन । त्यसैले अंगेरीका पात वा छाउने घाँसका रस लगाउँदथे । लुतोमा अगेरी दल्ने हिम्मत राखे रोग त ठिक हुन्थ्यो नै गुप्तांग कन्याएर सार्वजनिक थलोमा स्वयको बेईज्जत गर्नुपनि पर्देनथ्यो । के अहिलेका गालीमा शक्ति देख्ने र गाली विदुषकहरुले दिमागमा सल्केको लुतेचिप्सले विवेकमाथीको रजाइँमा धावाबोल्न आधुनिक अंगेरी घस्न सक्लान ! त्यसैमा लुतेपर्वले साउने संक्रान्ति बन्न पाउने थियो । हेक्का भया ।

विवेकमा इन्जेक्ट गरिएको लुतो भाइरसविरुद्द जाग्राम बसौँ । अआफना मनमस्तिष्ककै लुतो फालौँ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal