आज :

सनातन धर्म संस्कृतिको संरक्षण गर्नका लागि अध्ययन, अनुसन्धान गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड

  • अनलाइन डबली

भक्तपुर ।  काठमाडौं उपत्यकाका आदिवासी ब्राह्मण समुदाय राजोपाध्याय समाजले सनातन धर्म संस्कृतिको संरक्षण गर्नका लागि यससँग सम्वन्धित इतिहास, दर्शन, नैतिक शिक्षा आदिको अध्ययन, अनुसन्धान गर्दै पुस्तान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राजोपाध्याय समाजको आयोजनामा  जिल्ला समन्वय समिति भक्तपुरले शनिबार भक्तपुरमा ‘सनातन धर्म संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा राजोपाध्याय समाजको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले अहिलेको अवस्थामा राजोपाध्याय ब्राह्मणहरुको अस्तित्व संकटमा परेको हो कि भन्ने भान हुन थालेको बताए । राजोपाध्यायहरुले आफुले आफैलाई चिन्न नसक्दा यस्तो अवस्था आएको उनको भनाई हो । ‘वर्तमान समयमा राजोपाध्याय ब्राह्मणहरु कस्तुरी मृग भएको छ । कस्तुरी आफैसँग छ, तर बाहिर खोज्दै हिँडेको छ । आफुभित्र भएको खुबी उजागर गर्नुस् र त्यो खुबीलाई अर्को पुस्तामा पनि दिनुस् न’ नृत्य कलाकार र निर्देशक समेत रहेका अध्यक्ष संजयले भने । पुरानो पुस्तासँग भएको ज्ञान नयाँ पुस्तामा पुस्तान्तरण गरिए सनातन धर्म र संस्कृतिको मौलिकता नयाँ पुस्ताले पनि बुझ्न र बुझाउन सक्ने संजयको विचार हो ।
चाँगुनारायणका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले सनातन धर्म संस्कृतिमा निरन्तर प्रहार भइरहेको जनाउँदै तिनै प्रहार गर्नेहरुले नै हरेक कुरामा हिन्दुकरणको आरोप लगाउने गरेको दावी गरे । पुस्तौंदेखि आफ्नो परिवारले मूलपूजारीको रुपमा चाँगुनारायणको सेवा गर्दै आएकोमा अचेल हिन्दुकरणको आरोप लगाएर चाँगुनारायणलाई आफुले कहिल्यै नदेखेको देउताको नाम दिइरहेको बताए । ‘स्थापनकालदेखि मेरै पुर्खाहरुले र अहिले आएर मैले नै चाँगुनारायणको नित्य र पर्व पूजाहरु गर्दै आएका छौं । अचेल चाँगुनारायणलाई मैले यहाँ कहिल्यै नदेखेको देउताको नाम दिइ हामीलाई नै हिन्दुकरणको आरोप लगाइरहेका छन् । के यो धर्ममाथि प्रहार होइन ?’ चाँगुनारायणका मूल पूजारी चक्रधरानन्दले प्रश्न तेर्साए ।
समाजका संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्याय, महासचिव बिराजकाजी राजोपाध्यायले धर्म, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न संगठित हुनुपर्नेमा जोड दिए । एक अर्का भएको ज्ञान र विचार आदान प्रदान गर्दै, अन्तरक्रिया गर्दै अघि बढ्नुपर्ने राजोपाध्यायद्वयको भनाई थियो । समाजको भक्तपुर समितिका संयोजक गिरीशराज शर्मा राजोपाध्यायले धर्म, संस्कृति क्षेत्रमा विद्यमान समस्याको समाधान खोज्न सबैलाई संगठित गरी निरन्तर अन्तरक्रिया, सम्वाद गर्दै जाने प्रतिवद्धता जनाए । उपाकर्म गुठी भक्तपुरका न्वकू लवकुश राजोपाध्याय, स्थानीय समाजका गुरु, पुरोहितका साथ धर्म संस्कृतिका अध्येताहरु हरिशरण राजोपाध्याय, मृगेन्द्रराज सुवेदी, सरोजन शर्मा, धनेशराज राजोपाध्यायले इतिहास, धार्मिक ग्रन्थको साथै संस्कृत भाषाको पनि अध्ययन गर्नुपर्नेमा जोड दिँदै आआफ्ना विचार राखे । संस्कृत भाषाको अध्ययन विना स्थानीय धर्म, संस्कृति र परम्पराको अध्ययन सम्भव नहुने उहाँहरुको भनाई हो ।
धर्म, संस्कृतिसँग सम्वन्धित गतिविधिहरुलाई समयसापेक्ष आधुनिक प्रविधिसँग पनि जोडेर अघि बढाइएमा यस क्षेत्रमा युवा पुस्ताको सक्रिय संलग्नता बढ्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal