आज :

सन्दीप लामिछाने बलात्कार मुद्दामा निर्दोष भएको उच्च अदालतको फैसला

  • अनलाइन डबली

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ ।
बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर्याएका लामिछानेलाई उच्च अदालत पाटनले बुधबार सफाइ दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । यससँगै सन्दीप लामिछानेका लागि विश्वकप खेल्ने बाटो खुलेको छ । नेपाललाई विश्वकपमा पुर्याउन उनको महत्वपुर्ण भूमिका थियो ।

के थियो घट्ना ?

स्याङ्जामा जन्मिएका २३ वर्षीय सन्दीप लामिछानेले क्रिकेट करियर १९ वर्षमुनिको (यू १९)को टोलीबाट गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान रहेकै बेला लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दर्ता भएको थियो । भदौ ५ गते काठमाडौं तीलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै परिवर्तित नाम गौशाला–२६ ले जाहेरी दिएकी थिइन् ।

भदौ २२ गत उजुरी दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो । आफूविरुद्धको जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन लिग खेल्न जमैका पुगेका थिए । पक्राउ पुर्जी जारी भएको लामो समयसम्म पनि उनी स्वदेश नफर्किएपछि सन्दीपका नाममा ‘रेड कर्नर नोटिस’ जारी गरिएको थियो । रेड कर्नर नोटिस जारी भएपछि स्वदेश फर्कने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए लामिछाने ।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टोलीबाट निलम्बन गरेको बेला उच्च अदालत पाटनले २० लाख धरौटीमा लामिछानेलाई रिहा गर्ने आदेश दिएको थियो । २०७९ पुस २८ गते उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाएको थियो । उच्च अदालतको आदेशपछि क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको थियो । तर, विदेश जान भने रोक लगाएको थियो ।

सन्दीपले लिग टु कोलागि विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । २०७९ फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले धरौटीमा छोड्ने उच्च अदालतको आदेश सदर गर्दै सशर्त विदेश जाने अनुमति दिएको थियो । पछि पुस १३ गते काठमाडौं जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । पुस २५ गते उनीमाथि सजाय तोकिएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई आठ वर्ष जेल सजाय सुनाएको थियो । जिल्ला अदालतको फैसलामा त्रुटि भएको भन्दै लामिछानेले पुनरावलोकन गएका थिए । त्यस्तै सरकारी वकिलको कार्यालय समेत पीडित नाबालिग रहेको र सजाय थप गर्नुपर्ने भन्दै उच्च अदालत पुगेको थियो ।

नेपाली क्रिकेटमा सन्दीपको आगमन

मध्यम परिवारमा जन्मिएका सन्दीप लामिछानेका बुबा चन्द्र नारायण भारतीय रेलवेमा काम गर्थे । चार कक्षासम्म भारतमै अध्ययन गरेका सन्दीपमा क्रिकेटको भूत चड्यो । नेपाल फर्किएपछि लामिछाने पूर्वी नवलपरासीको राजहरमा बहिनीको घरमा बसेर पढ्न थाले ।

सानैदेखि क्रिकेटमा रुचि चाख्ने लामिछाने सपना पुरा गर्न भन्दै चितवन क्रिकेट एकेडेमीमा भर्ना भए । ‘लेग स्पिन’ बलिङ गर्ने सन्दीपको बलिङ देखेर सबै आश्चर्य चकित पर्थे । उनको क्रिकेटप्रतिको लगाव यस्तो थियो कि घरबाट १८ किलोमिटर टाढा रहेको एकेडेमीसम्म हिँड्दा कहिल्यै थाकेनन् । चितवन क्रिकेट एकेडेमीका प्रशिक्षक तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्कालाई सन्दीपको प्रतिभा चिन्न धेरै समय लागेन । उनलाई यु–१९ राष्ट्रिय टोलीमा समावेश गर्न राजुले काठमाडौं ल्याए । तर उनी टोलीमा अटाउन सकेनन् । राजुको प्रयास विफल भयो । त्यतिबेला नेपाली क्रिकेट टोलीका प्रशिक्षक थिए पुबुदु दशनायके ।

एक कार्यक्रमका लागि चितवन पुगेका दशनायकेले उनको बलिङमा जादु देखे र लगत्तै काठमाडौं ल्याएर प्रशिक्षण दिन थाले । भाग्य र प्रतिभाले साथ दिएका सन्दीपले टोलीमा स्थान बनाउन धेरै समय लागेन ।

सन् २०१६ को जनवरीमा बंगलादेशमा यू–१९ क्रिकेट विश्वकप आयोजना भयो । सन्दीपले टोलीमा स्थान पक्का गरे । उक्त प्रतियोगितामा नेपालको यात्रा क्वाटरफाइनलमा टुंगिएको भएपनि सन्दीपले आफूलाई प्रमाणित गरिसकेका थिए ।

उनले आयरल्याण्ड विरुद्ध ह्याट्रिक सहित प्रतियोगितामा पाँच विकेट लिए र ६ खेलमा १४ विकेट लिएर नेपालको सबैभन्दा बढी विकेट लिने खेलाडी बने ।

यो प्रदर्शन सन्दीपका लागि राष्ट्रिय टोलीको ढोका खोल्न पर्याप्त थियो । तीन महिनापछि कीर्तिपुर मैदानमा भएको आईसीसी विश्वकप लिग च्याम्पियनसिपमा उनी राष्ट्रिय टोलीको जर्सी लगाएर उपस्थित भए । उनले १६ अप्रिलमा नामिबियाविरुद्ध डेब्यु गरेका थिए ।

यो खेलमा उनले पूरा १० ओभर बलिङ गर्दै एक विकेट लिए । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनलाई ‘स्यान्डी’ भनेर चिनिन थाल्यो जसले उनलाई राष्ट्रिय टोलीका ‘विकेट लिने’ बलरहरूमा स्थायी स्थान बनायो । उनले आफ्नो नाममा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो एक सय विकेटको विश्व कीर्तिमान बनाए । यसरी सन्दीप लामिछानेको क्रिकेट यात्रा अघि बढेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal