सुर्खेत ।
नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले ५६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । वार्षिकोत्सवका अवसरमा मंगलबार प्राधिकरणले पुरस्कार वितरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रमलाई संबोधन गर्दै कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र के.सीले बीमा जोखिम न्यूनिकरण गर्ने महत्वपूर्ण वित्तीय अंग भएको बताउँदै यसको पहुँच दुरदराजका क्षेत्रहरूमा पुर्याउनु पर्ने आवश्यकता औल्याए । उनले बीमामा आम नागरिकहरूलाई समेट्नका लागि बीमा सम्बन्धी नीतिगत सुधार र प्रक्रियागत सुधार हुनुपर्नेमा जोड दिए । बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री केसीले प्रदेश सरकारबाट अगाडि बढाइएका बीमा कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए । मन्त्री केसीले कर्णालीमा बीमा व्यवसाय नफस्टाउनुमा चेतनाको कमी र गरीबिको कारण भएको उल्लेख गरे ।
त्यस्तै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.ध्रुव कुमार गौतमले बीमा भविष्यको जोखिम बहन गर्ने र भविष्यका समस्या समाधानका लागि समर्पित क्षेत्र भएको बताउँदै मध्यपश्चिम विश्वविद्यालयले बीमा र व्यवस्थापन विषयलाईसंगै जोडेर बीमा व्यवस्थापनका क्षेत्रमा सुरुदेखि नै पाठयक्रम निर्माण गर्नुका साथै अध्ययन,अध्यापन गर्दै आइरहेको बताए । “विश्वविद्यालय ज्ञानको भण्डार र ज्ञान प्रदान गर्ने थलो हो ।” उनले भने, “समय र मुलकको माग अनुसार परिबर्तित अवस्थामा मुलुकको आवश्यकता अनुसार कार्यक्रमहरु विश्वविद्यालयले सिर्जना गर्नूपर्छ ।”
स्थानीय,प्रादेशिक,केन्द्रीय तथा देशैभरको आवश्यकता अनुरुपका पाठ्यक्रमहरु निर्माण गर्दै बजारमा माग अनुसारको जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने विश्वविद्यालयको मान्यता रहेको उपकुलपति गौतमको भनाई छ ।गौतमले पाठ्यक्रमको परिवर्तित सन्दर्भ पनि आएको जानकारी गराउँंदै बजारको माग पुरा गर्न र विश्वविद्यालयबाट उत्पादित जनशक्ति खपत गराउनको लागि आवश्यकता अनुरुप बीमालाई पाठ्यक्रममा समायोजन गरेको समेत बताए ।
यस्तै कार्यक्रममा बैंकर्स एसोशियसन कर्णाली प्रदेशका अध्यक्ष डा. सुरज टण्डनले बीमा बित्तीय क्षेत्रको ऐना भएको बताउँदै यस क्षेत्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । उनले बीमा क्षेत्रमा बहुआयामिक चुनौति तथा जोखिमहरु रहेको हुँदा जोखिम न्यूनिकरणमा बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
लघु औद्योगिक ग्राम सुर्खेतका अध्यक्ष उदिराम डाँगीले कर्णालीमा ३७ हजार १ सय ९६ उद्यमीहरू भएको र जसमध्ये ४ प्रतिशत उद्यमीलाई मात्र बीमामा समेट्न सकिएको भन्दै यसप्रति बीमा कम्पनीहरुको ध्यानाकर्षण गराए । उनले गाडी चल्ने ठाउँमा वा राजधानीमा मात्रै बीमाको पहुँच रहेको भन्दै कर्णालीका प्रत्येक पालिका र वडाहरुमा बीमा बिस्तार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सभाध्यक्ष गर्दै प्राधिकरणका कर्णाली प्रदेश प्रमुख पदम प्रसाद सोडारीले समग्र बीमित, बीमक, सर्भेयर ,अधिकर्ता, बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
प्राधिकरणले वार्षिकोत्वसकै अवसरमा निबन्ध प्रतियोगिता, फुटसल प्रतियोगिता, स्लो बाइक,स्कुटी रेस प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरेको थियो । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई मेडल,ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
वार्षिकोत्वसकै अबसरमा प्राधिकरणले वैशाख ३१ गते बृहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । रक्तदानमा ४७ जना भन्दा बढ़ीले सहभागीता जनाएका थिए । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो ।