आज :

खोकनाको १२ बर्षे सिकाली जात्रालाइ राष्ट्रकै पहिचानको रुपमा स्थापित गर्नु पर्ने सरोकारवालाहरुले माग

  • अनलाइन डबली

काठमाडौँ  ।  ललितपुर खोकनाको १२ वर्ष मात्रा देखाइने ऐतिहासिक सिकाली जात्रालाइ राष्ट्रकै पहिचानको रुपमा स्थापित गर्न  राज्यस्तरबाटै संरक्षण, सम्वर्ध्दन र प्रवर्ध्दन गर्न सरोकारवालाहरुले माग गरेका छन् ।

विभिन्न स्थानमा देखाउने प्रचालामा रहेको यस  १२ वर्षे ऐतिहासिक सिकाली जात्रा यस पटक काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनका  सम्बन्धित सरोकार हरुले यस्तो माग गरेका हुन् ।

कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका अध्यक्ष साथै सिकाली अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समितिका संयोजक पंचलाल महर्जनले समुदायले जोगाइराखेको मूर्त अमूर्त सम्पदामा राज्यले अपनत्व लिइ सरोकार देखाउनुपर्ने माग राखे ।

‘यस्तै देवी नाच लगायत समुदायले बनाएको विभिन्न अमूर्त सम्पदाहरु राष्ट्रकै पहिचान बनेको छ । यसको संरक्षण, दीगो व्यवस्थापनका लागि राज्यले नै अपनत्व लिएर अघि बढ्नुपर्ने देखिन्छ’ संयोजक महर्जनले भने ।

पत्रकार सम्मेलनमा आउँदो चैत्र २२ गते सिकाली अजिमा जात्राका देवगणहरु खोकनाबाट आएर काठमाडौं प्रवेश गर्ने जानकारी दिइएको थियो । देवगणहरु पैदल नै खोकनाबाट काठमाडौं आउने बताइएको छ ।

चैत्र २२ गते खोकनाबाट देवगणहरु काठमाडौं पचली पुग्ने र पचलीबाट काठमाडौंकाे विभिन्न क्षेत्र हुँदै हनुमानढोका नासल चोक पुग्नेछन् ।

सो क्रममा पचलीबाट देवगणहरु मचली हुँदै चल्खु, मुसुंबहाः, सिकाली, कुमाःननि, ओन्दे, ह्यूमत, जैसीदेगल, कोहिटी, भीमसेनस्थान, मरु, प्याफल, कम्पुकोटको आर्मी गेटबाट मखन महिन्द्रेश्वर महादेव हुँदै हनुमानढोका नासल पुग्नेछन् ।

परम्परा अनुसार हनुमान ढोका दरवारमा तीन वटा नाच प्रदर्शन गरिनेछ । २२ र २३ गतेका दिनमा नासल चोकमा देवी नाच प्रदर्शन गरिनेछ भने २९ र ३० गते तलेजु मन्दिर अगाडीको त्रिशुल चोकमा सिकाली अजिमा देवगणको नाच प्रस्तुत हुनेछ ।

२०८१ बैसाख ९ र १० गतेका दिनमा हनुमानढोका बाहिर रहेको कालभैरव पछाडीको डबलीमा नाच प्रदर्शन हुनेछ ।

त्यसैगरी जन समुदायबाट माग र व्यवस्थापन भएमा इन्द्रचोक, लगन र सिंहसतल लगायतका स्थानमा पनि नाच प्रदर्शन गरिने व्यवस्थापन तथा समन्वय समितिले जनाएको छ ।

हनुमानढोकामा हुने तीनवटा नाचको लागि करीब १७ लाख रुपैयाँको आवश्यक हुने र अन्य स्थानमा नाच प्रदर्शन गर्न स्थानीयबाटै सबै व्यवस्थापन हुनुपर्ने समितिले जनाएको छ ।

यस वर्ष सिकाली जात्राको १२ वर्षे मेला भएकोले सिकाली अजिमा देवगण काठमाडौं प्रवेश भएर विभिन्न ठाउँमा देवी नाच प्रदर्शन गर्न लागिएको ललितपुर महानगरपालिका २१ वडाका वडाध्यक्ष रविन्द्र महर्जनले बताए ।

‘यो नाच विगतमा कीर्तिपुरमा पनि लग्ने गरिन्थ्यो, जुन परम्परा अहिले टुटेका छ । त्यस्तै अरु विभिन्न ठाउँहरुमा पनि लग्ने गरिन्छ । ललितपुर महानगरपालिकाबाट पनि बजेट छुट्याएर सिकाली अजिमाकाे १२ वर्षे मेलालाई निरन्तरता दिइरहेका छौं’ वडाध्यक्ष महर्जनले भने ।

१२ वर्षे नाच भएकोले देवगणको नयाँ पोशाक, मुकुण्डो बनाउन, पूजा व्यवस्थापन आदि लगायतकाे व्यवस्थापन, संयाेजनका लागि ६० लाखको कोष बनाएको जडाध्यक्ष महर्जनले जानकारी दिए ।

कार्यक्रममा ज्यापु महागुथि काठमाडौं महानगर समितिका पदाधिकारी, काठमाडौं महानगरपालिका १२ वडाका अध्यक्ष बालकृष्ण महर्जन, वडा सदस्यहरु लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal