आज :

केन्द्रीय मानन्धर संघको समुदाय जोड्ने अभियान अन्तरगत स्वयम्भू भोज कार्यक्रम सम्पन्न

  • अनलाइन डबली

चैत १८, काठमाडौँ  । केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भोज कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न ठाउँमा सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर वार्षिक रुपमा कार्यक्रम गर्दैै आएको छ । हजारौंको संख्यामा सहभागी हुने मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष काठमाडौं ईन्द्रचोकस्थित वाका देय् वटु सनाः खलःले लिएको हो । आगामी वर्षको लागि न्यूरोड पाक्व पुखूद्यां मानन्धर सनाः खलःलाई परम्परागत भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
‘स्वयम्भू भ्वय् कार्यक्रम आयोजना गर्नु सजिलो छैन । हामीले भुइख्यःमा भोज व्यवस्थापनको लागि मात्र करिव सय जना स्वयंसेवीहरु परिचालन गरेका छौं ।’ वटु टोलका विजय कुमार मानन्धरले जनाए । ‘हामीले आजको विशेष दिनमा भोज मात्र खुवाउने हैन बरु समुदायलाई आर्थिक पाटोसँग जोड्नको लागि विभिन्न व्यावसायिक र वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल पनि राख्न दिन्छौं । सांस्कृतिक र औपचारिक कार्यक्रम पनि हुन्छ । त्यसैले महिनौं अघिदेखि परामर्श परिषद्को बैठक बसेर टोलबासीहरुको सहयोगमा कार्यक्रमको लागि तयारी थाल्नुपर्छ ।’ मानन्धरले बताए ।
हुनपनि एकदिने भोज कार्यक्रममा रक्तदान, हस्तकला र घरेलु अचारको स्टल, बैंक तथा वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल समेत देख्न सकिन्थ्यो । ‘हामीले नेपाल रेडक्रस सोसाइटी गणबहाल शाखासँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न ग¥यौं । कार्यक्रममा थुप्रै जनाले आकस्मिक रक्तदान गरेका थिए ।’ रक्तदान कार्यक्रमका संयोजक तथा संघका सहायक सचिव कृष्ण बहादुर मानन्धरले जनाए । कार्यक्रममा उदेन न्हूसायमिले १०५ औं पटक रक्तदान गरेको दाबी गरेका छन् ।
सुरुको समयमा दैसाः टोलले स्वयम्भू भोज कार्यक्रमलाई व्यवस्थापन गर्दै आएको भएपनि चालिसको दसकदेखि अरु टोलले पनि सहकार्य गरेको छ । परम्परागत महत्त्वको स्वयम्भू भोज कार्यक्रमको लागि विभिन्न टोलले आआफ्नै जिम्मेवारी बहन गरेको हुन्छ । भोजमा सहभागी हुने महानुभावहरूलाई पुर्खाैली संस्कार बमोजिम टीका लगाएर स्वागत गर्नेदेखि सुकुल भोजको लागि आवश्यक हुने चिउरा, दहि, छ्याङ तथा अन्य नेवार परिकार खुवाउने जिम्मेवारी फरक फरक टोलले लिएको हुन्छ । स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको खुसीयालीमा मनाइँदै आएको परम्परागत भोज कार्यक्रमलाई पछिल्लो समय समयानुकूल परिवर्तन गरी औपचारिक, सांस्कृतिक र आर्थिक क्षेत्र प्रवद्र्धनसँग जोडिएको छ ।
यो वर्ष स्वयम्भू भोज कार्यक्रमसँगै २०१० माघ १० गते देवीदास मानन्धरको संयोजकत्वमा गठन भएको केन्द्रीय मानन्धर संघको ७१ औं स्थापना दिवस पनि मनाइएको छ । कार्यक्रममा समुदायभित्रबाट राजनीतिक नेतृत्वमा पुगेका जनप्रतिनिधि, भिमरथारोहन गरेका जेष्ठ नागरिक, खेलकुद क्षेत्रमा उत्कृष्ट भएका खेलाडी, नवविवाहित दम्पती तथा विभिन्न संकायमा विद्यावारिधी गरेकाहरुलाई सम्मान गरिएको छ ।
सोही क्रममा बनेपाका मोहनलाल खिं मानन्धरको स्मृतिमा स्थापना गरिएको कोषले यो वर्ष डा. भगवानदास मानन्धरलाई नगद ५० हजारसहित पुरस्कृत गरिएको छ । नेपालको राष्ट्रिय संवत् नेपाल संवत्लाई अन्तर्राष्ट्रियकरण गर्न कम्प्युटर प्रविधिसँग जोड्नको लागि योगदान गरेबापत उहाँलाई पुरस्कृत गरिएको बताइएको छ । त्यस्तै, फर्पिङको हरिशंखर जात्रा सञ्चालन गर्दै आएका दक्षिणकाली नगरपालिकाका सुरेन्द्र मानन्धरलाई नगद २५ सहित सोही कोषबाट पुरस्कार प्रदान गरिएको छ । कोषलाई काभ्रे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश मानन्धरका बुवा संस्कृति अध्येता स्व. ज्ञानकाजी मानन्धरले स्थापना गरेका हुन् ।
त्यस्तै, ६ दसक भन्दा बढी स्वास्थ्य सेवा प्रदान गर्दै आएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई नगद ५० हजारसहित बेखा नारायण देव कुमारी राष्ट्रिय प्रतिभा पुरस्कार दिइएको छ । प्रा. डा. जगदीश नारायण मानन्धरलेले स्थापना गरेको कोषबाट यो वर्ष संस्थागततर्फ पुरस्कार हस्तान्तरण गरिएको हो ।
त्यस्तै, ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक तथा समाजसेवी रघुवर भक्त मानन्धरले प्रा. रामभक्त–सानुनानी मानन्धरको नाममा स्थापना गरिएको पुरस्कार विभिन्न विधामा विद्यावारिधी सकाएका डा. राजु, डा. राजभाइ र डा. विनिता मानन्धरलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा द्वारिका नारायण–हिरादेवीको नाउँमा मातृभाषा प्रवद्र्धनार्थ स्थापना गरिएको सलिंचा मचा नेवाः पुरस्कार विभिन्न स्कूलमा अध्ययनरत संवीद र रोनिमा मानन्धरलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मानविकी संकाय अन्तर्गत स्नातकोत्तर तह नेपालभाषा विषयमा उत्कृष्ट भएका अनिल स्थापितलाई सत्यतारा सम्मान दिइएको छ । एमबीबीएस, एमडी, प्लस टु, एमए, कम्प्युटर साइन्स, बीई, बीबीए, एसईईमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
यो वर्ष विपन्न अभिभावकको पहिचान गरी समुदायभित्रका २ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । गुहेश्वरी राज मानन्धर र भिमदेव मथुरा कुमारीले रत्नचुडामणि शिक्षा कोषमार्फत रामेछापस्थित मानन्धर सेवा समाजलाई नगद हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री माननीय बसन्त मानन्धर, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, रामेछापको सुनापाती गाउँपालिका, काभ्रेको बनेपा नगरपालिका, दक्षिणकाली नगरपालिका, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरू, बाँकेको नेपालगञ्ज, सुनसरीको इटहरी, मकवानपुरको हेटौंडा, पर्साको वीरगन्ज, चितवनको रत्ननगर, स्याङ्जाको क्याक्मे, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका ठाउँमा सघन बसोबास गर्दै आएको टोललाई प्रतिनिधित्व गरि मानन्धरहरू सहभागी थिए । संघले समुदायको आर्थिक उत्थान, खेलकुद, स्वास्थ्य, सांस्कृतिक विकास, शैक्षिक उत्प्रेरणाको क्षेत्रमा काम गर्दै आएको छ ।

फोटोहरु – 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal