
काठमाडौँ महानगर प्रहरीबात पत्रकारमाथि धरपकड र हातपात भएको बिषयमा श्रमजीवी पत्रकार संघ, नेपालले आपत्ति जनाएको छ ।बुधबार राति सुन्धारास्थित महानगर प्रहरीले सडक व्यापारीहरुलाई हटाउने क्रममा प्राणमञ्च मासिक तथा डटकमको प्रधानसम्पादकसमेत रहेका पत्रकार पदमप्रसाद पोखरेलमाथि आक्रमण भएको हो ।
झडप हुदा भिडियो खिचिरहँदा महानगर प्रहरीले मरणासन्न हुनेगरी लाठीले पिटेको उनकोभानाइ छ। कुटपिटबाट घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा तिघ्राको लिगामेन्ट च्यातिएको चिकित्सकले बताएका छन ।
शारीरिक रुपमा अपाङ्गता रहेका उनको हातखुट्टामा अन्य चोटपटक पनि लागेको छ । मिडियाको परिचयपत्र देखाउँदादेखाउँदै महानगर प्रहरीले आफूलाई लाठीले पिट्दै लछारपछार गरेको उनले बताए । आफ्नो मोबाइल फोन,क्यामेरा,ल्यापटप र कागजपत्र पनि प्रहरीले जफत गरेको उनको भनाइ छ ।
यसै बिषयमा श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले आज विज्ञप्ति जारी गर्दै महानगर प्रहरीको हर्कत संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ – ‘आफूलाई पत्रकार भनेर चिनाउँदाचिनाउँदै महानगर प्रहरीले गरेको यस्तो कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य भएको हाम्रो ठहर छ । यसप्रकारको संविधानविरोधी कार्य नगर्न हामी महानगरको गम्भीर ध्यानाकर्षण गराउँदछौं’, ।
त्यस्तै, संघले घाइते सबैको उपचारको ग्यारेन्टी लिन र जफत गरिएका सामान फिर्ता दिन माग गरेको छ । फुटपाथ व्यवसायीहरुले ७ बजे पसल थापे पछी महानगरले राति ९ बजेबाट मात्र पसल थाप्न दिने बिषयलाई लिएर सुन्धारामा महानगर प्रहरी र व्यवसायीबीच झडप भएको हो ।
यस्तो छ बिज्ञप्ति –