आज :

फर्पिङ– दक्षिणकाली ,बज्रयोगिनीदेखि केशरक्याव गुफा, नागको फणाझैं फैलिएको नेवार र तामाङ बस्ती ( फोटोहरु )

  • पदम श्रेष्ठ

फोटो – बुद्ध शरण शाही – 

फर्पिङ , काठमाडौं कालिमाटीबाट १६ कि.मी. दक्षिण वज्रयोगिनी र दक्षिणकालीबीच नागको फणाझैं फैलिएको नेवार र तामाङ बस्ती हो । फर्पिङ किराती शब्द ‘फरपिङगु’बाट आएको हो । चाँपको फुल फुलेको डाँडाकी देवीलाई चम्पादेवी र शिखी बुद्धले ध्यान बसेको ध्यानाच्वबाटै फैलिएको बस्तीलाई शिखरापुर भनिए । जहाँ महायानी धर्मगुरु पद्म संम्भव , गुरु गोरखनाथ , बज्रयानी गुरु ओदियानाचार्य जस्ता योगीहरुले ध्यानगरी सिद्धी प्राप्त गरेको पवित्रस्थल मानिन्छ । फर्पिङग, तराई पुग्ने सबैभन्दा छोटो ५६ कि.मी.को मार्गपनि हो  । आख्यानुसार , नेपाल संवत शुरु हुनुभन्दा एक सय ८३ वर्षअघि राजा भीमार्जुन देवले फर्पिङलाई कोटाल, कोछु (लाय्कु झम्केश्वरी दरबार क्षेत्र) टिपी , थल्कु, यल्खु , कोर्पु र थर्पु गरी सात टोलमा विभक्त गरिए ।
त्यसैगरी फर्पिङ बस्तीको रक्षार्थ स्थापित अष्टमातृका पीठहरुमा
(१) कटुवाल दह , दनुवार गाउँमुनिको माहेश्वरी पिठ
(२) यसियाकै दोस्रो विद्युत पावरहाउस चन्द्रनहर नेरको वाग्मती किनारामा ब्रम्हायणी
( ३ ) फर्पिङ बसपार्कमुनि कुमारी (४ ) दक्षिणकालीकी आमा भनिने डाडाँको चामुण्डा
(५ ) नख्खु खोलाको नीलवाराही( ६ ) हुड्को खोलाको इन्द्रायणी
( ७ )शेषनारायणको बैष्णवी र (८ ) डल्लु खोलामा महालक्ष्मी स्थापित छ ।

बज्रयोगिनी ह्योगुद्यो ः
फर्पिङको उत्तर गोरखनाथ केशरक्याव डाँडामा वज्रयोगिनी (ह्योंगुद्यो) मन्दिर तीनतले पेगोडाशैली मा थडिएको छ । स्वयम्भू पुराणअनुसार , फर्पिङमा एक समय रोग–व्याधी र खडेरी परी हाहाकार मच्चिएछ । समस्या निराकरणार्थ बज्रगुरु ओदियानाचार्र्यले शिखर लोकेश्वर गुफा (शेष नारायण) मा उपवोध व्रत बस्दा विस्कामी देवी प्रकट भई मांसाहुति यज्ञ गर्न आज्ञा भएछ । पशु वली बौद्ध शिद्धान्तले नदिएपछि ओदियानाचार्यले आफ्नो मासु आफैंले काटी होम गरेछन् । यस्तो महान त्याग र यज्ञबाट देवी खुशिभई रोग–व्याधि अनावृष्टिको अन्त्य गरी देशवासीको रक्षार्थ आफु यहिं रहनथालेको बताईन्छ । भाषा वंशावलीमा नेपाल संवत भन्दा १८३ वर्ष अघि राजा भीमार्जुन देवले ४६ हजार जनसंख्याको फर्पिङ देश निर्माण गरी श्रावण कृष्ण त्रयोदशीका दिनदेखि वज्रयोगिनी जात्रा मनाउँन थालिएको हो ।

फर्पिङका आराध्यदेवी झम्केश्वरी र बुद्ध विहारहरु ः
वज्रयोगीनी , गोपालेश्वर र दक्षिणकालीविचको जागृतस्थल फर्पिङमा राजा शिवदेव प्रथमदेखि अंशुवर्मा सम्मका विहारहरु भीमबहाः, दिगुबहाः, वसीबहाः, वोखाबहाः, क्वाःबहाः ,तःबहाः ,खाबहाः नाउँका प्राचिन पहिचानले बौद्ध आदिभुमी प्रमाणित गर्दछ तर बयोबृद्धहरुका अनुसार राजा जयस्थिति मल्लले ने.सं. ५११ ताका जर्वजस्ती विहारहरु भत्काएपछि बौद्ध सम्पदा पाताल बनेको कथन छ । लिच्छवीकालमा भिक्षुलाई सरकारबाटै पण र पानीको व्यवस्था गरिएको हुन्थ्यो ।

३३ कोटी देवीदेवताको झम्केश्वरी – ( झसु )-

विश्वका ३३ कोटी देवी देवताको संयुक्त स्वरुप झम्केश्वरी मन्दिर घर शैलीमा छ भने दरबारको भग्नावशेष ढुंगेधारा पुरातात्विक स्थल हुन । सोहि ठाउँमा भीमसेन मन्दिर छत्र शैलीमा छ । झम्केश्वरीकै अर्को कुनामा भगवती मन्दिरको पेटीमा दायाँ गणदेव संवत् ४७९ अस्पष्ट शिलापत्र ,अर्को ने.सं. ५२७ जयस्थिति मल्लका छोरा धर्म मल्लको शिलापत्र छन् । जसमा रावल जयत्र सिंहदेव ,योद्धा सिंह र राम सिंहसहित शासकको नाउँ उल्लेख छ । भनिन्छ , झम्केश्वरीको दरबार तलेजु कोटघर नौतले थियो रे । फर्पिङबासीले दशैंमा घर घरमा यहिं थापेको जमरा लगेर टिका लाउने गर्दछन् भने दरबारमा किराती राजा पव्वी (पचली) ले राज्य गर्दथे भन्ने कथन छ । उनी टेकूकि खड्गी कन्यासंग प्रेम गर्थे । प्रेमलापको बेला पक्रिएका पव्बी ( पचली) टेकुमा सिद्ध भएको आख्यान छ । दशैंको पञ्चमीका दिन पचली भैरवको कोंचाद्यो जात्रामा यहाँबाट पुजा जाने परम्परा छ । दरवारको कोतघरलाई संग्रहालयका रुपमा प्रवद्र्धन गर्ने जनाएकोछ ।

 

थल्कु महालक्ष्मी ः
थल्कु टोलको खुला ढिस्कोमा अष्टमातृका देवीमध्ये एक महालक्ष्मी पीठ रहेको छ । फर्पिङ भित्रै पुजिने देवस्थलमा पञ्ज पुखुनेर टाउका काटिएको सरस्वती, महादेवका मुर्तिहरु छन् । स्थानीयद्वारा शेषसाही नारायणको मूर्ति स्थापित छन् ।

पञ्ज गणेश , पञ्ज पुखु र भिन्छे बुद्ध देगल-
नेपाल भाषामा पञ्जको सात्विक अर्थ पञ्चरश्मी हो । फर्पिङ थाडो ढुङगामा अवस्थित पञ्ज गणेश टोलको मुल मानिन्छ । घण्टाकार मन्दिर अगाडि एउटा पोखरी र संगै भिन्छे वहाल छ । जुन पोखरीमा प्रत्येक वर्ष कृष्णाअष्टमीको भोली पल्ट वलामी समुदायले मनाउने ताम्सीङ , मोक्सीन, अस्वारी , सिपाँही जस्ता देवीगणलाई नुहाईन्छ याहाँ ।

मनकामना फुचो माजु देवल-
फर्पिङ थाडो ढुङगास्थित महालक्ष्मीस्थानबाट होड्खु खोलाको वाराहि पिठ हुँदै दुई कि.मी. दक्षिण उकालो फुल्चोकी डाडाँको पादमा छ ,मनकामना मन्दिर । तीन तल्ले सिमेन्टयुक्त मन्दिर स्थापनाको आख्यानुसार , एक जना ल्वँ वलामी नाउँका गोठालो केटो एक्कासी हराएछन् । गाई गोरु मात्र फर्किएपछि ब्यापक खोजी गर्दागर्दै ६ महिनापछि फागुण शुक्ल पुर्णिमाको दिन अचानक घर आई , आफुलाई वनझाक्रीले ओडारमा लगि मन्त्र दिएको बताएछन् । उपचार थाल्दा साच्चैको निको पनि हुन थालेपछि भिड लाग्न थालेछ । यस्तैमा पुनः ल्वँ झाक्री हराएर गोर्खाको मनकामनाका पुगी मगर पुजारीसंग पुजा विधि र मन्त्र साटासाटगरी पुनः गाउँमानै आई मनकामना स्थापना गराएको बताईन्छ । त्यसैले फर्पिङबासीहरु चैत्रे दशैंमा बलि पुजा जाने गर्दछन् । यसै वर्षदेखि भक्तजनको समेत सहयोगमा मन्दिर पछाडी मुक्तिनाथमा जस्तै १०८ धारा स्थापना हुने भएको छ ।

गोरखनाथ गुफा, गणेश र सरस्वती गुम्बा ः
आसुराही क्याव गुफा , गोरखनाथ गुफा वज्रयोगिनी मन्दिरबाट उक्लिए पुगिन्छ । गुफामा रिङपोछे र ताराहरु छन् । भारतबाट तिब्बत जाँदा गुरु पद्मसम्भवले यही गुफामा नैरात्मादेवीको ध्यानगरी दर्शन पाएको विश्वासमा लामा गुरुहरु ध्यान गर्न तिर्थस्थलको रुपमा आउने गर्दछन् । गुफाको भित्तामा गुरु पद्मसम्भवले ध्यान पश्चात हातले छुँदा पाँच औलाको छाप लागेको विश्वास ग्िरन्छ भने सातौं शताब्दीताका यहाँ पुगेका गुरु गोरखनाथको पादचिन्ह ने.सं. ५११ माघ शुक्ल पक्षको दिन जयस्थिति मल्लले स्थापना गराएको बताईन्छ । वज्रयोगिनी नजिकै डाँडामा गणेश सरस्वती गुम्बापनि छ । ने.सं.३१२मा स्थापना भएको (पुर्व मध्येकालका अभिलेख धनबज्र बज्राचार्य ) सरस्वतिलाई बौद्ध मतमा ताराका रुपमा पुजिन्छ ।

पुरानो दक्षिणकाली मन्दिर
यहि बज्रयोगिनी केशरक्याव गुफाहुँदै दुई कि.मी. जति उकालो एक सय ९१ वटा ढुङगे भर्र्याङ उक्लिएपछि पुरानो दक्षिणकाली मन्दिर पुगिन्छ । हाल सिमेन्टमय पेगौडा छत्र शैलीको दुइृतल्ले मन्दिर छ । दक्षिणकाली हालको नदि किनारमा थापना गर्नु अघि मानिसहरु सो बाटो भएर जो हिडेपनि वाघको रुपमा देवीले मानव बस्तीमा विचरण गर्थे र देवीसंग झ्वाटट् भेटेमा तु रगत छाडेर मृत्यु हुन्थे रे । ज्याोतिष देखाउँदा पञ्चवली सहित नदि किनारमा थापना गराए शान्त पार्न सकिने भनेपछि हालको स्थानमा ने.सं. ७७४ ताका तान्त्रीक राजा प्रताप मल्लले स्थापना गरेको बताईन्छ ।

 

दक्षिणकाली र दक्षिणकालीकी आमा ः-
अष्ठमातृकामध्ये दक्षिणकाली (चामुण्डा ) पिठ मानिन्छ । कौल तन्त्र मतले मत्स्य,मांस,मदिरा,
मुद्रा र मैथुन प्रतिक देवीका रुपमा लिईन्छ , भने यसरी भोगलाई त्याग गर्ने त्यागवादी साकाहारी धर्म भिरुको प्रतिकारगर्दै भनेको छ , दक्षिणकाली मतमा–
मूर्ख जातिहरु ,
मायाँको वंशमा परी शरीरलाई भोकै, नाङ्गै दुःख दि“दैमा मोक्ष प्राप्त हुने भए ?
गधा नाङगै् हुन्छन् ? हिलोमा डुबुल्की मार्दै हिड्ने सुगु“र ,
घा“समात्र खाएर जीवन निर्वाह गर्ने मृगलगायत सबै सन्त भए त ?
हे कुलेश्वरी । यस्ता सब क्रियाकलाप केवल छलछाम मात्र हुन् ।
मोक्ष प्राप्त गर्ने एउटै मात्र सोझो बाटो छ ,त्यो हो –तत्व ज्ञान ।
धर्तीमा लडेको मानिस धर्तीकै सहारामा उभिनुपर्दछ । संसारलाई त्याग्ने होइन बरु आफ्नो धारणा बदल्नु पर्दछ । यही दक्षिणकाली तन्त्र मतको वास्तविक सन्देश हो ।
यी र यस्ता भोगलाई योगमा एकाकार गरी मुक्ति पाउन सकिन्छ भन्ने सन्देशका साथ प्रख्यात दक्षिणकाली क्षेत्र ५६ हेक्टरमा फैलिएको छ । मुल मन्दिर होड्कु र कोड्कु नदिको दोभानबीच नागले ओढाएको मूर्ति सहितको छ ।

गोपालेश्वर महादेव ः
दशैं अगाडि आश्विन कृष्ण नवमीका दिन फर्पिङको हरिशंकर जात्रामा प्रमुखताका साथ पुजिने गोपालेश्वर , नेपालका प्रथम शासक गोपालीबंशजको इष्टदेवता मानिन्छ । गोपालेश्वर, तिलविक्रमेश्वर ,अघोरेश्वर, नन्दिकेश्वर, शेष नारायण, सिद्धि गणेशका सात खट परिक्रमा गराइन्छ । देशको शक्ति दक्षिणकाली माहेश्वरी ,कुमारी ,नीलवाराही ,इन्द्रायणी ,नारायणी र महालक्ष्मीमध्ये दक्षिणकाली खटलाई मुख्य मानिन्छ तर जात्राको प्रारम्भ र अन्त्य गोपालेश्वरबाटै हुने परम्पारा छ । भनिन्छ , गोपालेश्वरको वन भित्र बाणासुरको दरवार र ईनार सहित थिए । भनिन्छ , उनै गोपाल वा किरातवंशीलाई लिच्छवीकालमा पशुवली दिई भोज खाने भएकाले दानवको संज्ञा दिएको बताईन्छ ।

 

फर्पिङ भाईरल झोलुङे पुल-
गोपालेश्वर मन्दिर वा उपत्यकाका चार भञ्ज्याङ मध्ये एक भञ्ज्र्याङबाट पुग्न सकिने भाईरल पुल एक हजार पाँच सय मिटर लामो छ । जुन पुलबाट काठमाडौं र ललितपुरको पुरै शहरको आकर्षक दृश्य देख्न सकिन्छ । सिरसिरे हावा खान झोलुङे पुलमा हल्लिदै वारपार गर्न युवाहरु ह्याप्पी फ्राइ डे मनाउन शुक्रवार र शनिवार भिड लाग्ने गर्दछन ।

शेषनारायण तथा शिखर लोकेश्वर ः
भक्तपुरको चागुँ , स्वयम्भु हल्चोकको ईचगुँ , गोदावरी ललितपुरको विशखुँ जस्तै फर्पिङको शेषनारायण मन्दिरपनि एक हो । लिच्छवीकालीन राजा भिमार्जुन देवले उपत्यकाको चार कुनामा चार नारायाण स्थापना गराएको बताईन्छ । मन्दिरमा ने.सं.८०३ को पीठ छ ,जहाँ विशाल पोखरी ,बगैंचा भव्य असुराक्यव गुफा र महायानी गुम्वाले डाँडानै सिंगारिएको छ भने रङगी विरङगी माछा हेर्न र ढुङगेधारामा नुहाउन याहाँ पुग्ने गर्दछन् । बौद्धले नारायणलाईपनि एक सय ८ लोकेश्वर मध्येमा एक मान्ने गर्दछ ।

भुण्डोल डाँडा र सुटिङस्थल-
फर्पिङ– दक्षिणकालीको यात्रा गर्दा एक दिन , एक रात यहिं बस्ने हो भने फिल्म वा सुर्टिङस्थलको रुपमा प्रवद्र्धन हुदै जान थालेको प्राकृतिकस्थल भुण्डोलपनि भव्य क्षेत्र मानिन्छ । विशाल हरियाली फाँटको विचमा खुल्ला विशाल चौर नै भुण्डोलको चाम हो ।

यसियाको दोस्रो चन्द्र ज्योति विद्युत गृह-
एसियकै दोस्रो नेपालको पहिलो वि.सं.१९६८ मा स्थापित जलविद्युत आयोजना फर्पिङगको चन्द्रज्योति नहर मानिन्छ । वर्तमानमा खानेपानी वितरणको लागि निर्मित पोखरीको रुपमा रहेको छ । बन्द प्रायः अवस्थामा रहेको चन्द्रज्योति नहर जलबिद्युत परियोजनालाई संग्रहालयको रुपमा खुल्ला गरिदिने कार्य नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान धिसिङले नेपालका प्रथम राष्टपति डा. रामबरण यादबको हातबाट उद्घाटन गराउनुभएको हो । ५०० किलोवाटको पावर हाउसको पानी जम्मागरी काठमाडौंमा वितरण भैरहेको छ । चन्द्रनहर देशको ऐतिहासिक नमुना विकासको प्रतिक शैक्षिक भ्रमणको गतिलो केन्द्र हो ।

शंकटा पाल्हाद्यो –
काठमाडौंको न्युरोडस्थित टेवहालमा स्थापित शंकटा यहिं फर्पिङबाट बुङगमति जादाँ पुगिने कोटुवाल दहहुदै लगिएको हो । पाल्हाद्यो भनिने शंकटाले कामरुपकामक्षा आसामबाट रातो मच्छिन्द्रनाथलाई नेपाल आउन नदिन हातले छेकि छेकि ठुलो अबरोध गरेको बताईन्छ । अन्ततः गुरुजुहरुले सहयोगको आग्रह गरी पाल्हाद्योलाई समेत टेवहालमा स्थापना गर्न सफल भई शंकटा नाउँले प्रख्यात गराए ।

जुन ईतिहासलाई उजागरगर्दै कोटुवाल दहमा दुई तल्ले पेगौडा शैलीको मन्दिर स्थापित छ । प्रत्येक १२ वर्षमा यहि पाल्हाद्योलाई यहाँबाट बुङगमति ,पाटनको सानेपा ,गुसिंगालहुदै जात्रागर्दै न्युरोडको शंकटा भित्राउने परम्परा छ ।

डल्लुमा गुरु पद्मसंभवको एक सय ३७ फिटको भव्य मुर्ति-
डल्लु , महायानी बौद्धहरुद्धारा विस्तारित नयाँ बस्ती हो । जुन हात्ती वन पहाडको पादमा एक सय विशाल धर्म गुरु पद्मसम्भवकाो मुर्ति सहित गुम्बाहरु निर्माण भएकाछन् । तिव्बती बस्तीको झझल्को दिने यहिंबाट चम्पादेवी ध्यानाचो पुग्ने मार्ग समेत रहेको छ । झण्डै एक सय वटाभन्दा बढी कोठाहरु सहितको विशाल शैलीको ध्यानागार रहेको सो गुम्वा साच्चैको फर्पिङग क्षेत्रको भ्रमणपछि शान्त मुद्रामा ध्यान गरेर बस्न जो कसैलाईपनि आनन्दीत बनाउँछ नै ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal