
काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीको विजयश्वरीस्थित नेपाल भाषा मंका खलःको सभाहलमा भएको १२ औं साधारण सभामा एक समारोहकाबीच नेपाली सञ्चार क्षेत्रका साथै मातृभाषा पत्रकारिताको विकासमा योगदान दिए बापत सो पुरस्कार प्रदान गरिएको हो ।
नेपाल भाषा मंका खलको भवनमा भएको कार्यक्रममा माउन्टेन टेलिभिजनका विश्वन्तर शाक्यलाई २० हजार रुपियाँ राशीसहित ज्ञानज्योति लक्ष्मी प्रभा पुरस्कार प्रदान गरियो। झंकार एफएम रामेछापका युवराज श्रेष्ठ ज्ञानदेवी मणि पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो। उहाँलाई १५ हजार रुपियाँले पुरस्कृत गरियो।
बौद्ध धर्मको सन्देश प्रचार प्रसारमा योगदान दिएको कदरस्वरुप मेट्रो एफएमका उदेन न्हूसायमिलाई भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। जसको पुरस्कार राशी १२ हजार रुपियाँ रहेको छ। यसैगरी नेपाल मण्डलकी सिल्भिया राजोपाध्याय वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाही बाबुराजा ज्यापु फोटो पत्रकारिता सम्मान र अनलाइन खबरकी रेणु त्वानाबासु श्रीराम स्मृति पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो। यी तीनै जनाले जनही १० हजार रुपियाँ प्राप्त गर्नुभयो। नेवाः पत्रकार राष्ट्रिय दुबले २०७४ सालदेखि साधारणसभामा नेपाल भाषाका पत्रकारलाई सम्मानित गर्ने परम्पराको थालनी गरेको हो।
बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, भिक्षू कौडण्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष श्रेष्ठलगायतले पुरस्कृत तथा सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो।
सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन गरिएको छ।
त्यसैगरी सञ्चारमाध्यमको समावेशीकरण र नेपालभाषा र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने वरिष्ठ पत्रकार दण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको छ । उनीहरु सवैलाई वागमति प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा भएको थियो ।