आज :

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकः रिपोर्टिङ सकियो, कुन नेताले के बोले ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समिति बैठकको पहिलो दिनमा सबै प्रदेशका इन्चार्ज र अध्यक्षले पार्टीको अभियानको रिपोर्टिङ राखेका छन् । बैठकको पहिलो दिन प्रवाससहित सबै प्रदेश र आयोगबाट रिर्पाेटिङ राख्ने क्रम सकिएको छ ।

बैठक भोलि विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

कोशी प्रदेशका इन्चार्ज चन्द्रदेव खनालले अभियानले केही आशावादी बनाएको बताए । सबै नेता कार्यकर्ताहरु सोँचेजस्तै गरी अभियानमा नखटेपनि ६० प्रतिशत नेता कार्यकर्ता अभियानले उत्साहित भएको भेटिएको रिपोर्ट राखे ।

प्रदेशका ११५७ वटै वडामा अभियानका संचालन गरिएको बताउँदै ७ जना नेताहरु अभियानमा नखटिएको बताउँदै उनीहरुमाथि कारवाही गरिने बताए ।

सोही प्रदेशका अध्यक्ष मिक्सोले अभियान सापेक्षित रुपमा सफल भएको बताए । उनले अभियानको क्रममा २६३९ टोल, १७१३ सेल कमिटी गठन भएको बताए । उनले कामको आधारमा नेताहरुको श्रेणी निर्धारण गरिएको रिपोर्ट गरे ।

मधेस प्रदेशका इन्चार्ज लिलामणी पोखरेलले बाराबाट स्वाभिमानको आन्दोलन सुरु भएको बताउँदै मधेस पार्टी निर्माणको आधारभूमी भएको बताउँदै त्यहीअनुसारको कार्यक्रम तय गर्नुपर्ने बताए । उनले मधेसमा संगठन निर्माण, सदस्यता नविकरण कार्य जारी रहेको बताए ।

बामगती प्रदेशका इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीप्रतिको शहरिया मनोविज्ञान बुझ्न अभियानले सहयोग गरेको बताउँदै अब कार्यक्रम तय गर्न सजिलो हुने बताए । अभियानमा पूरै खट्ने, आधा खट्ने र जाँदै नजाने गरी तीन श्रेणीमा कार्यकर्तालाई विभाजन गरी मूल्यांकन गरिएको बताए । उनले अभियानमा खट्नेलाई सम्मान र नजानेलाई कारवाही गरिने बताए । आधारभूत वर्गमा पार्टीप्रतिको आशा र भरोसा बढेको बताउँदै प्रभाकरले जनताका समस्या समाधानको लागि पार्टीले पहलकदमी लिनुपर्ने बताए ।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले ११९ पालिकामध्ये ११५ मा सम्मेलन सम्पन्न भएको रिपोर्ट गरे । अभियानको क्रममा ३५२९ टोल कमिटी, १०८४ जबस कमिटी गठन भएको बताउँदै सहयात्रीले जमेको पोखरीमा ढुंगो हानेजस्तै तल्लो कमिटीसम्म तरंग ल्याएको बताए । उनले वैचारिक, वर्गीय दृष्टिकोणभन्दा बढी व्यक्तिगत सोँच भावी भएका कारण पार्टीमा समस्या देखा परेको बताए ।

त्यसैगरी उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले नेता कार्यकर्तामा जनयुद्धकालिन केन्द्रीकृत योजना र विकेन्द्रीत परिचालनको मनोविज्ञान रहेको बताए । उनले केन्द्रबाट योजना बनाए नेता कार्यकर्ता खट्न समस्या नहुने अभियानले देखाएको बताए ।

पार्टी विभाजनपछि कमजोर भएको पार्टी पुनः उही अवस्थामा लाग्न समय लाग्ने भन्दै पुनले एमालेलाई पुरानै अवस्थामा पुग्न दुई दशक र नेपाली काँग्रेसलाई एक दशक लागेको बताउँदै पुनले माओवादीले पनि एक दशक पूरा गरिसकेकोले अब २०६४ कै अवस्थामा फर्काउन सकिने सम्भावना देखा परेको बताए । माओवादीको क्षयीकरण सहरिय क्षेत्रमा भएपनि ग्रामिण क्षेत्रमा लोकप्रियाता बढ्दो रहेको तथ्यांकहरुले देखाएको रिपोर्ट प्रस्तुत गरे ।

सोही प्रदेशका अध्यक्ष जगत सिंखडाले अहिले पनि मध्यम वर्गले माओवादीलाई निरुत्साहित गरिरहेको बताए । उनले पार्टीबाट सरकारमा गएका मन्त्रीसँग दलाल र माफियाका सजिलै पहुँच पुग्ने तर नेता कार्यकर्ताको भनेको काम नहुँदा जनतामा निरासा बढेको बताए ।

गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले अभियानले गुटबन्दी गर्ने प्रवृति निरास भएको इमान्दार नेता कार्यकर्ता उत्साहित भएको बताए । अभियानले जनतामा आशा र भरोसा बढेको बताए ।

अभियानको क्रममा २९ हजार सदस्यता नविकरण भएको ६ हजार नयाँ सदस्यता वितरण भएको रिपोर्ट राखे । प्रदेश अध्यक्ष गायत्री गुरुङले कार्यक्षेत्रमा नजाने र शक्तिकेन्द्र धाउने प्रवृतिकै कारण पार्टीमा समस्या पैदा भएको भन्दै अभियानले त्यसमा झट्का दिएको बताइन् ।

लुम्बिनी प्रदेशका हितमान शाक्यले अभियानको क्रममा ९७ वडा कमिटी गठन भएको, पालिकास्तरमा जबसका ९२५ कमिटी निर्माण भएको बताए । अभियानको क्रममा १९१५ वटा जनपरिचालनका कार्यक्रम भएको शाक्यले रिपोर्ट राखे । उनको अभियानको क्रममा विभिन्न पार्टीबाट ५१७८ जनाले पार्टी प्रवेश गरेको बताए ।

सोही प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टी वडामा पुगेपछि माओवादी फर्कियो भनेर जनता उत्साहित भएको बताए ।
कर्णाली प्रदेशका इन्चार्ज मातृका यादवले ६२२ स्थानबाटै एकैसाथ अभियान सुरु गरिएको बताउँदै पार्टी काममा हाम फाल्ने कर्णालीको विशेषताअनुसार अधिकांश नेता कार्यकर्ताहरु अभियानमा खटिएको रिपोर्ट राखे ।

प्रदेश अध्यक्ष विमला केसीले अभियानको क्रममा ५० हजार सदस्यता नविकरण गरिएको र ६२६४ नयाँ सदस्यता वितरण गरिएको बताइन् । उनले ६८ प्रतिशत नेता कार्यकर्ता अभियानमा खटेको बताइन् । अभियानको क्रममा पार्टी ६ लाख मतदातासम्म पुगेको बताउँदै २०८४ मा पहिलो पार्टी बन्ने आधार तयार भएको बताइन् ।

सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरीले प्रवेशमा ८० वटा अभियान टोली बनाएर खटिएको बताउँदै आवधिक समिक्षासम्म आइपुग्दा अभियान तीब्र गतिमा बढेको तर त्यसपछि सोँचेजस्तै बन्न नसकेको बताए । प्रदेशका ८८ वटै पालिकामा कमिटी निर्माण भएको अध्यक्ष चौधरीले रिपोर्ट राखे ।

त्यसैगरी प्रवास प्रदेशका इन्चार्ज राम कार्कीले रोजगारीको क्रममा विदेशिने संख्या बढ्दै गएको बताउँदै प्रवास विशेष कार्यक्रमसहित संगठित गर्नुपर्ने देखाएको बताए । प्रवासमा रोजगारी गर्नेहरु अहिले राजनीतिप्रति चाँसो राख्ने भएकोले घरको भोटलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको बताए ।

अध्यक्ष ओम शर्माले नेपालमा पार्टीमा इमान्दारितापूर्वक काम गर्ने नेता कार्यकर्तालाई विदेश भ्रमण गराउने बताए । उनले भूकम्प प्रभावितलाई राहतमा प्रवासले सहयोग गरेको बताए ।

बैठकमा अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका अध्यक्ष पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्ष कुबेर ओलीले पनि अभियानमा आयोगहरुले खेलेको भूमिकाबारे रिपोर्ट राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal