
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाइने बताउनु भएको छ ।
प्रधानमन्त्री दाहालले गोरखा जिल्लाका गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँग आइतबार साँझ बालुवाटारमा निर्वाचनका बेला गरिएका प्रतिवद्धता पूरा हुने बताउनु भएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ–आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएका थिए । उनीहरुले छलफलमा प्रधानमन्त्रीसँग गाउँपालिकाको तर्फबाट विषयवस्तु उठान गरेका थिए भने प्रधानमन्त्री दाहालले उक्त विषयवस्तुप्रति आफ्नो धारणा राख्नु भएको थियो ।
छलफलका क्रममा प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण लागिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलासययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराउनुभएको थियो ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर उपप्रमुख लिला परियारसहित भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका र सहिद लखन गाउँपालिकाका जनप्रतिनिधिहरु प्रधानमन्त्री दाहललाई भेट्न बालुवाटार पुगेका हुन् ।
गोरखा नगरपालिका–१३ स्थित देउरालीमा बन्द रहेको गोरखकाली रबर उद्योग बि स २०४१ मा सिलान्यास भइ २०५१ बात आफ्नो उत्पादन सुरु भएको थियो। चीन सरकारको सहयोगमा पब्लिक प्राइवेत पाटनर सीपमा निर्माण भएको यो उद्योग २०७१मा पूर्ण रुपमा बन्द भएको हो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको बूढीगण्डकी जलविद्युत् आयोजना बाह्र सय मेगावाटको जलाशययुक्त उक्त आयोजना निर्माणका लागि दुई अर्ब ५९ करोड अमेरिकी डलरभन्दा बढी लाग्ने सन् २०१५ मा तयार गरिएको एउटा विस्तृत अध्ययन प्रतिवेदनले देखाएको छ।