आज :

सुदूरपश्चिम स्वास्थ्य आपूर्ती केन्द्रमा विशाल पण्डितले गरे ओम्नी काण्डभन्दा ठूलो ‘सेटिङ’

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले ‘सेटिङ’ मा अस्पतालको फोहोरमैला व्यवस्थापन सिस्टम खरिद गर्न लागेको छ । केन्द्रले चर्चित ओम्नी काण्डभन्दा ठूलो र डरलाग्दो ‘सेटिङ’ गरेर चारवटा मेसिन खरिद गर्न लागेको आरोप लागेको हो ।

केन्द्रले स्वास्थ्य सामाग्री खरिदमा ‘माफिया’ को परिचय बनाएका विशाल पण्डितको लाइफलाइन ट्रेड इन्टरनेशनल कम्पनीले मात्रै पाउनेगरी खरिद मापदण्ड बनाएर सूचना निकालेको पाइएको छ । पण्डितको हस्पिटेकको सहायक कम्पनी हो लाइफलाइन ।

सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको केन्द्रले प्रदेशका विभिन्न अस्पतालको लागि ९ करोड २० लाखमा चारवटा मेसिन खरिदका लागि प्रस्ताव आह्वान गरेको थियो ।

केन्द्रले २४ सेप्टेम्बर २०२३ मा सूचना प्रकाशित गरेर प्रस्ताव आह्वान गरेको थियो । जसमा ६ वटा कम्पनीले भाग लिएका थिए । तर, एउटा मात्रै कम्पनीले पाउने गरी ‘स्पेकलक’ गरेका कारण लाइफलाइनको मात्रै प्राविधिक प्रस्ताव पारित भयो । नीतिगत रुपमै भ्रष्टाचार गर्न खरिदमा स्पेकलक गर्ने गरिन्छ ।

केन्द्रले १० जनवरी २०२४ मा १७ जनवरीमा आर्थिक प्रतिवेदन खोल्ने सूचना प्रकाशित गरेको थियो । आर्थिक प्रस्ताव पनि खोलेर पनि प्रक्रिया अगाडि बढिसकेको छ ।

यस विषयमा जानकारी लिन खोज्दा केन्द्रका निर्देशक डा.निरज अर्याल सुरुमै आक्रामक रुपमा प्रस्तुत भए । “हामीलाई काम गर्न नदिने ? खलासीलाई जहाज उठाउन दिने कि पाइलटलाई ? तीन महिनादेखि डिस्टर्ब गर्ने ? कसले यो गरेका छन् सब थाहा ….” अर्यालले भने । तर, हामीले समाचारको लागि अर्यालसँग पहिलो पटक फोन सम्पर्क गरेका थियौँ । अर्यालको प्रस्तुती नेपाली उखान ‘चोरको खुट्टा काटभन्दा … ’ जस्तै थियो ।

हामीले पटकपटक शान्त हुन आग्रह गरेर खरिद प्रक्रियाबारे जिज्ञासा राख्दा अर्यालले आर्थिक प्रस्ताव खोलेर सम्झौताको प्रक्रियामा रहेको जानकारी दिए । उनले उक्त खरिद प्रक्रियाको स्पेक स्वास्थ्य सेवा विभागको ‘स्पेक बैंक’ बाट कपी गरेको बताए ।

अर्यालले थप जानकारीको लागि खरिद संयोजक जयन्द्र बोगटीलाई सम्पर्क गर्न भने । हामीले खरिद संयोजक बोगटीसँग सम्पर्क गर्दा आसयको लागि ७ दिने सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी भइरहेको जानकारी दिए ।

सूचना प्रकाशित भएको सात दिनभित्र प्रतिस्पार्धामा आएका अन्य कम्पनीले कार्यालय प्रमुखसँग उजुरी गरेबाहेक सम्झौताको लागि लाइफलाइनलाई १५ दिनको म्याद राखेर पत्राचार गरिने बोगटीले बताए ।

लाइफलाइनले उक्त मेसिन खरिदको लागि भ्याटसहित ८ करोड २६ लाख ८४ हजार ३६० प्रस्ताव गरेको बोगटीले जानकारी दिए । ‘स्पेकलक’ गरेर आफूहरुलाई प्राविधिक प्रस्तावमै आउट गरिएको एक व्यवसायीले बताए ।

केन्द्रमा कार्यरत बायोमेडिकल इन्जिनियर आसुतोष भण्डारीले बोलपत्रको मापदण्ड बनाएका हुन् । स्रोतका अनुसार विशाल पण्डितसँगको मिलेमतोमा उक्त मापदण्ड बनाइएको हो ।

अहिले दुबईमा ‘मेडिकल एक्पो’ चलिरहेको छ । एक्पोमा उक्त मेसिन उत्पादन गर्ने कम्पनीको नेपाल हेर्ने प्रतिनिधि पनि सहभागी भएका छन् । कम्पनीका प्रतिनिधिसँग सम्बन्ध भएका र वेष्ट मेनेजमेन्टसम्बन्धी लामो समयदेखि काम गर्दै आएका एक व्यसायीका अनुसार उक्त मेसिनको मूल्य बढीमा ५२ लाखसम्म पर्ने तर कमिसनको सेटिङमा २ करोडभन्दा बढीमा खरिद गर्ने तयारी भइरहेको छ ।

देश आर्थिक दबाबमै रहेको छ । राज्य आर्थिक दबाबमा भएकोले बागमती र लुम्बिनी प्रदेशले ९ लाखमा मेसिन खरिद गरेर अस्पतालको फोहोर व्यवस्थापन गरिरहेका छन् । तर, सुदूरपश्चिम सरकारले भने एउटै मेसिन २ करोडभन्दा बढीमा खरिद गर्ने अन्तिम तयारीमा जुटेको छ ।

स्रोतका अनुसार करिब पाँच करोड कमिसनको सेटिङमा मेसिन खरिद गर्न लागिएको हो । “खरिद मूल्यको हिसाबले यो ओम्नीभन्दा पनि ठूलो डरलाग्दो नीतिगत भ्रष्टाचारको काण्ड हो” स्रोतले भन्यो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal