काठमाडौँ । स्नेहाज् केयरले हरेक वर्ष झैँ यसवर्ष पनि आगामी फागुन १९ गते शनिबारका दिन शुद्ध शाकाहारी महोत्सव अर्थात् भेगान फेस्टिभल आयोजना गर्ने भएको छ। विगत आठ वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको स्नेहाजले यसपटक महोत्सवका लागि ग्रासरुट मुभमेन्ट इन नेपाल र नेपाल होमस्टे टुरिजम् सर्भिसेजसँग सहकार्य गर्न लागेको हो। काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा हुने महोत्सवको उद्देश्य वनस्पतिमा आधारित परिकारहरुको प्रचार–प्रसार गर्ने साथै वनस्पतिमा आधारित जीवनशैलीलाई प्रवर्द्धन गर्नु रहेको आयोजक संस्था स्नेहाज् केयरका संस्थापक स्नेहा श्रेष्ठले बताउनु भयो। महोत्सवमा वनस्पतिमा आधारित खानाका परिकार साथै सामाग्रीको प्रदर्शन र बिक्री वितरण हुने भन्दै उहाँले महोत्सवलाई भव्य बनाउन लाइभ म्यूजिक, नृत्य प्रस्तुति, वृत्तचित्र स्क्रीनिंग, बालबालिकाहरुका लागि प्रतिस्पर्धात्मक खेलहरु पनि हुने जानकारी गराउनुभएको छ। महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल होमस्टे टुरिजम् सर्भिसेजका प्रवन्त्र निर्देशक बिकेश श्रेष्ठले शाकाहारी अभियानमा आफूले भोगेका अनुभव सुनाउनु भयो। त्यसैगरी ग्रासरुट मुभमेन्ट इन नेपालका संस्थापक लोप्साङ नेपालीले महोत्सव सफलताका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो। त्यसैगरी उत्पला क्याफेका प्रवन्धक दीपक बोहोराले शाकाहारी खानाबारे जानकारी गराउनु भयो। महोत्सवमा सहभागिताका लागि आयोजकहरुले सबैमा सादर निमन्त्रण गरेको छ।


अनलाइन डबली


