काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफले चौथो जित निकालेको छ ।
एपीएफले समूह चरणको सातौं खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमको भने यो तेस्रो हार हो । एपीएफ र सुदूरपश्चिम समान ८ अंकका साथ तालिकाको पाँचौं र छैटौं स्थानमा छन् ।
मूलपानी क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश १६.२ ओभरमा सवै विकेट गुमाएर ८७ रनमा समेटिएको थियो । सुदूरका लागि नारायण जोशीले सर्वाधिक ३१ रनको नटआउट पारि खेल्दा खडक बोहोराले २४ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन असफल भए । एपीएफका चन्दन रामले ५ विकेट लिँदा भुवन कार्कीले ३ विकेट हात पारे । यसैगरी रोहित पौडेलले २ विकेट लिएका थिए ।
तर, ८८ रनको लक्ष्य पछ्याएको एपीएफले जित निकाल्नै कडा मेहनत गर्नु परेको थियो । लगातार विकेट पतन भएका बेला सन्दीप जोराले एपीएफालई जित दिलाए ।
जोराले सर्वाधिक १८ रनको नटआउट पारि खेल्दा आशिफ शेखले १५ रन बनाएका थिए । यसैगरी भुवन कार्कीले १४ रन बनाउँदा प्रदीप ऐरी १२ रन बनाएर पभेलियन फर्किए ।
सुदूरका दिपक चन्दले सर्वाधिक ४ विकेट लिँदा नरेन साउदले ३ विकेट निकाले ।