
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुस्थित शितला माध्यमिक विद्यालयमा आइतबार सामाजिक परीक्षण सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा कामनपा १६ वडाका जनप्रतिनिधि शारदा सुवेदी, तरुण स्रोत केन्द्रका स्रोत शिक्षक नारायण प्रसाद नेपाल, शिक्षापैमी तथा समाजसेवी श्याम श्रेष्ठ, प्रकाश बलामी, उद्धव थापा, शिक्षक अभिभावक संघका अध्यक्ष केशव खड्कालगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। विद्यालयका शिक्षक लेखनाथ निरौलाले कार्यक्रमको औचित्य पुष्टि गर्दै आगन्तुकहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए ।
विद्यालयका लेखासहायक कमल पौडेलले आर्थिक वर्ष २०७९।०८० को आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए भने । विद्यालयका सहायक प्रअ ईश्वरी अधिकारीले शैक्षिक विवरण प्रस्तुत गरेका थिए ।
विद्यालयको प्रशासनिक तथा भौतिक अवस्थाको बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक लक्षमण श्रेष्ठले आगामी दिनमा विद्यालयले आर्थिक पारदर्शिता र सिकाइको गुणस्तर विकासमा विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे । शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, विद्यार्थी, अभिभावक तथा संध संस्थाको महत्वपूर्ण भूमिका रहने कुरा पनि प्रष्ट पारेका थिए ।
स्रोतकेन्द्रका स्रोत शिक्षक नारायणप्रसाद नेपालले विद्यालयको आर्थिक पारदर्शिता तथा कुशल व्यवस्थापनको मुक्त कण्ठले प्रशंसा गर्दै शैक्षिक गुणस्तर सुधारमा विद्यालय प्रशासन र शिक्षक सधैं चनाखो हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा उपस्थित प्रकाश बलामी, श्याम श्रेष्ठ, केशब खड्का, प्रतिभा रिजाललगायतले शैक्षिक सुधार तथा अतिरिक्त क्रियाकलापमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । वक्ताहरुले विद्यालय व्यवस्थापन समितिका विषयवस्तु तथा एजेण्डामा विद्यार्थीहरु तथा उनीहरुको उपलव्धीलाई समावेश गर्न सुझाव समेत दिए । उनिहरुले प्रगतिमा सदैव साथ रहने सवालमा दृढ रहने बताउँदै विद्यालयले समुदायलाई पहिलो पटक बोलाएर सल्लाह सुझाव लिएकोमा धन्यवाद
समेत दिए ।
बक्ताहरुले विद्यालयको खेलकुद, तालिम, स्वास्थ्य सुविधा र विद्यार्थी प्राथमिक उपचार, तथा अन्य शैक्षिक कार्यमा सँगसँगै लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै विद्यालयले व्यवस्थापन समिति अध्यक्ष शुक्रलाल श्रेष्ठले विद्यालय सुशासनको पहिलो कडी सार्वजनिक सुनुवाई भएकोले पहिलो प्रयासमा गरिएको कोशिसलाई सबैले सकरात्मक रुपमा लिनुपर्नेमा जोड दिए । उनले विद्यालयको भौतिक संरचना निर्माण तथा व्यवस्थापनमा आफूले उल्लेख्य सहयोग गरेको र भविष्यमा यस्ता कार्यमा डटेर अगाडि बढ्ने प्रतिवद्धता समेत जाहेर गरे ।
विद्यालयका संस्थापक तथा पूर्वप्रधानाध्यापक शुक्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम विद्यालयकी शिक्षक विमला भट्टले सञ्चालन गरेकी थिइन ।