
काठमाडौँ । मेलम्चीको पानी आजबाट काठमाडौँ उपत्यकामा पुनः वितरण सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् ।
आज अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिनेछ ।
प्रधानमन्त्री प्रचण्डको विशेष निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको थियो । मन्त्रालय र आयोजनाले २८ दिने कार्यतालिका बनाएर काम सुरु गरिएको थियो । तर २१ दिनमै सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको थियो ।
बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो ।
अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने छ ।
विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेपछि मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन ।