काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत विभिन्न मापदण्ड तोकिएको थियो ।
यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुुलपति पुष्पकमल दाहाल प्रचण्डले विज्ञापनमा कसैलाई पनि बन्देज नहुनेगरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
योग्य र इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
यसअघिको सूचनामा तीन वर्ष विश्वविद्यालयको नेतृत्व गरेको हुनुपर्ने मापदण्ड राखेको भन्दै विरोध भएको थियो । बाबुरामले त्रिविको नेतृत्व लिन चाहेको तर उक्त बुँदाका कारण सम्भव नभएको बताइएको थियो ।
यसपटक उक्त बुँदालाई हटाएर सूचना निकालिएको छ । अब बाबुरामले पनि दरखास्त दिन्छन् वा दिँदैन हेर्न बाँकी छ ।
बाबुरामले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेर आफू राजनीतिक रुपमा बिदा लिन चाहेपनि तत्काल एकता सम्भव भएको छैन ।