काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो आर्थिक तथा वित्तिय विवरण सार्वजनिक गरेको छ । विहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार विदेशी मुद्र सञ्चिति बढ्नेको साथै रेमिट्यान्स पनि २६ प्रतिशतले बढेको छ ।
सार्वजनिक गरिएको विवरण अनुसार विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको छ । असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तमा रु.१६९६ अर्ब ७८ करोड पुगेको नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा कात्तिक मसान्तमा ८।९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा रु. १३४५ अर्ब ७८ करोड रहेकोमा कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु.१४९० अर्ब ८३ करोड पुगेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई रु.२०५ अर्ब ९५ करोड कायम भएको छ ।
त्यसैगरी राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई रु.४७७ अर्ब ९६ करोड पुगेको जनाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि हुँदा अघिल्लो वर्षको सोही अवधिमा २०.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई रु.१ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ६४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४२ करोड ९२ लाख रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु।१४७ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु।२० अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।


अनलाइन डबली


