आज :

अबको डेढ महिनामा सबै भूकम्प पीडितलाई अस्थायी घरमा बसाउँछौंः प्रभाकर (अन्तरवार्ता)

  • अनलाइन डबली

भूकम्प गएको भोलिपल्टदेखि नै फिल्डमै खटिनुभएको छ, प्रभावित क्षेत्रको अवस्था कस्तो छ ?

पहिलो चरणको घाइतेहरुको उद्दारपछि राहत तथा पीडितको बसोबासको लागि त्रिपाल, म्याटस् जुटाउन लाग्यौं । एउटा घरलाई एउटा त्रिपाल पुर्याएका छौं । विशेषगरी सुत्केरी महिला, बालबालिका, गर्भवती महिला र वृद्धवृद्धालाई प्राथमिकतामा राखेका छौं ।

एउटा घरमा एउटा त्रिपाल त पुर्याइयो तर एउटै घरमा आठ दश जनासम्म परिवार पनि भएकोले केही गुनासो छन्, हामीले यो केही दिनको लागि मात्रै भएकोले मिलेर बस्नुस् भनेका छौं, केही समस्या नै भएका परिवारको समस्या समाधान गर्नेपनि सोँचेका पनि छौं ।

पहिलो चरणको राहत वितरणलाई अहिलेलाई स्थगित गरेका छौं । केही छिटफुट राहतका काम भएपनि मुलभूतः रुपमा स्थगित गरेर अस्थायी बसोबासको लागि घर निर्माणको काम सुरु गरेका छौं । अपुग ठाउँमा केही राहत वितरण गर्ने काम त हुन सक्छ ।

अबको योजना के छ ?

हो चिसो बढ्दै गएको छ, छिटोभन्दा छिटो त्यसबाट जनतालाई जोगाउन हामी अस्थायी बसोबास बनाउने काममा जुटेका छौं । जस्ता पाताको लागि विभिन्न उद्योगहरुसँग सम्पर्क गरिरहेको छु । सरकारले घोषणा गरेको सहयोग आउने वित्तिकै अस्थायी बसोबासको लागि घर निर्माण कार्य तीब्र रुपमा अगाडि बढ्छ ।

अहिले पनि मानिसमा भूकम्पको त्रास जारी छ । फेरि भूकम्प आएर बाँकी रहेका घर पनि भत्किने डर मानिसहरुमा कायमै छ । मानिसहरुलाई त्रासबाट मुक्त गराउन काउन्सिलिङको काम पनि चलिरहेको छ । यसमा सम्पूर्ण स्थानीय राजनीतिक पार्टीका नेता कार्यकर्ता एकजुट भएर लागिरहेका छन् ।

मुख्यगरी अहिले चिसोको समय भएका कारण बालबालिका र वृद्धवृद्धामा समस्या देखिन थालेका छन् । यो समस्याबाट जोगाउन पनि छिटोभन्दा छिटो अस्थायी बसोबासको लागि हामी लागिरहेका छौं ।

दीर्घकालिन पुननिर्माणको तयारी कसरी गरिरहनुभएको छ ?

पहिलो कुरा, माटोले ढुंगा जोडेका घर भएका कारण सबै घरहरु चर्किएका छन् । थोरै पक्की घरहरुबाहेक ९० प्रतिशत घरहरु चर्किएका छन् । चर्केका घरहरुमा बस्न सक्ने वातवरण छैन । अस्थायी बसोबासको काम सकिएपछि तेस्रो चरणमा पुननिर्माणको कुरा आउँछ ।

केही बस्ती नै चिरा परेका छन् । त्यस्ता ठाउँहरु वर्षाको समयमा बगाउने त्रास पनि छ । त्यस्ता ठाउँहरुमा भूगर्भ विज्ञहरुको टोली आएर अध्ययन गर्नुपर्ने अवस्था छ । भूकम्प प्रतिरोधी संरचना निर्माणको लागि प्राविधिकको आवश्यकता छ । पुनर्निर्माणको लागि सम्माननिय प्रधानमन्त्रीको प्रस्तावमा १० अर्बको कोष सरकारले बनाएको भन्ने सुनेको छ । सरकारले पनि पुननिर्माणलाई प्राथमिकतामा राखेको छ । व्यक्तिगत संरचनासँगै सरकारी संरचनाको पनि पुनर्निर्माणको आवश्यकता छ । सबैले बुझ्नुपर्ने कुरा के हो भने पुनर्निर्माण भनेको घर बनाउने कुरा मात्रै होइन, भूकम्प प्रतिरोधी घरसँगै सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ ।

रुकुम पश्चिममा कतिजति क्षति भएको अनुमान छ ?

यहाँ घरधुरीको हिसाबले धेरै हुन्छ, एउटै परिवारको दुई वा तीन घर पनि छन् । अहिले सरकारसँग ४० हजार घरहरु भत्किएको रेकर्ड छ । ६–६ महिना बस्ने लेक र बेसीका घरहरु पनि भत्किएका छन्, त्यसैले सरकार आँकडा र यो हिसाबको तालमेल हुँदैन । रेकर्ड लिँदा एउटै परिवारका कति घर, कतिवटा गोठ भत्किएर भनेर पनि संकलन गर्नुपर्ने हुन्छ, त्यो काम स्थानीय सरकारले गरिरहेको छ । व्यक्तिगत घर र सरकारी संरचना गरी करिब ९० प्रतिशत क्षति भएको छ ।

राहत वितरणलाई व्यवस्थित गर्न एकद्वार प्रणाली लागू गर्नुभयो, यसरी राहत वितरण गर्दा ढिलासुस्ती भइरहेको भन्ने गुनासाहरु आइरहेका छन्, तपाईँ आफै खटिनुभएकोले यसलाई कसरी लिनुभएको छ ?

यसलाई ढिलासुस्ती कसरी भन्ने ? हाम्रो मार्केटमा उपलब्ध सामाग्री यहाँसम्म त पुर्याउन समय लाग्छ नै । भूकम्प गएको भोलिपल्टै मैले गृहमन्त्री र प्रधानमन्त्रीसँग अनुरोध गरेर स्टोरमा रहेका सामाग्री हिडालेको थियौं तर तीन दिनमा रुकुम पुग्यो । ती समाग्री जाजरकोट र रुकुम पश्चिममा बाँड्यौं ।

बाटोका कारण ढिला भएपछि हेलिकोप्टरबाट पनि सामाग्री पुर्याउने काम गर्यौं । कतिपय सरकारी निर्णय, पूर्वतयारीको अवस्था कारण केही ढिला भए होलान् तर यसलाई ढिलासुस्ती भयो भन्न मिल्दैन । किनभने बजारमा उपलब्ध भएका सामाग्रीहरु, सरकार र दाताले दिएका सामाग्रीहरु जतिसक्दो छिटो प्रभावितहरु समक्ष पुर्याएका छौं । यो आलोचना एउटा कुरा हो, तर बास्तविकता भनेको सरकारले आफूसँग भएका सबै जनशक्ति र साधन स्रोत लगाएको छ ।

जाडोको समय छ, चिसो बढ्दै गएको छ । भूकम्पबाट बचेकाहरुलाई चिसोबाट कसरी बचाउनुहुन्छ ?

हेर्नुस्, अस्ती एकदिन पानी पर्यो । पानी परेपछि म त रुनु पर्ने अवस्था आयो । यत्रो जनतालाई पानीबाट कसरी बचाउने भन्ने प्रश्नले मलाई सतायो । अहिले पानी परेको छैन । दिउँसो घाम ताप्न पाइने अवस्था छ । राति कम्मललगायतबाट रात कटाउनुपर्ने बाध्यता छ । अबको एक डेढ महिनाभित्र त्रिपालमुनी रात बिताइरहेका जनतालाई अस्थायी घरमा बसाउने योजनाका साथ लागिरहेका छौं ।

तपाईँले जाजरकोटको राहत सामाग्री रुकुम ल्याउनुभयो भन्ने हल्ला पनि भयो, बास्तविकता के भएको थियो ?

त्यो केही भएको होइन, जाजरकोटका जनता र त्यहाँका राजनीतिक दलका साथीहरुलाई पनि थाहा छ र दुबै जिल्लाको सरकारलाई पनि थाहा छ । यो त काल्पनिक कथा बनाइएको हो । पहिले पनि भनेको छु, म अर्थमन्त्री हुँदा कान्तिपुरका मालिकले मागेको कुरा दिन सक्ने अवस्था थिएन, प्रक्रियामा आउनु भनेको थिएँ । त्यसपछि मेरोविरुद्ध लेख्न थालिएको हो

दोस्रो कुरा, अहिले ममाथि हुँदै नभएको आक्षेप लगाएर मेरो राजनीतिक चरित्रहत्या गर्ने प्रयास गरिएको छ, मसँग बदला लिने भावबाट समाचार बनाइयो । हुँदै नभएको, कसैले नल्याएको, उक्त समान कहाँ बाँडिएको ? त्यो केही पनि छैन । पूर्वाग्रहपूर्ण तरिकाले कथा बनाइएको हो । उहाँहरुको अवस्था धाराशाही भइरहेको होला, त्यो रिस मसँग फेरेका होलान् । मैले पछि बुझे कान्तिपुरविरुद्धको श्रमजीवि पत्रकारहरुको आन्दोलन मैले गर्न लगाएको भन्ने उहाँहरुको बुझाई भयो रे । त्यसको बदलमा समाचार लेखेको रे । मैले न श्रमजीवि पत्रकारलाई सम्पर्क गरेको छु, न मलाई कोही श्रमजीवि पत्रकारले सम्पर्क गरेको छ । न मैले त्यसबारे बोलेको छ, न कुरा नै गरेको छु ।

पत्रकारका जायज माग भए उहाँहरुले गर्ने कुरा भयो, त्यो कुरा लिएर ममाथि जुन खाले हमला गरियो । यो हजार बार खण्डनयोग्य, बेइमानी, बदमासी र बल्याकमेलिङको मानसिकताबाट प्रेरित भएर कान्तिपुरले समाचार लेखेको हो ।
विपत्तिमा पनि अनियमितता हुने विगतका अनुभव छन्, तपाईँ जिम्मेवार नेता सुरुदेखि नै फिल्डमा खटिनुभएको छ,

राहतमा अनियमितता हुन नदिन र सही तरिकाले वितरण गर्न कसरी समन्वय गर्नुभएको छ ?

राहत सही तरिकाले वितरण भइरहेको छ । केही मानिसहरुले गलत विवरण टिपाएर राहत लिएको छ भने त्यो कुरा बेग्लै भयो । लेकमा पनि घर, बेसीमा पनि घर भएकोले दुबै ठाउँबाट लिएका एकदुई घटना नभएका होलान् भन्न म सक्दैन । लिने व्यक्तिले नै गलत नियत राखेर लिएका भए त्यो बेग्लै कुरा हो । तर, राजनीतिक रुपमा राहतको दुरुपयोग हुने अवस्था यहाँ छैन ।

प्राप्त भएको राहत सर्वदलीय सहमति, विपद व्यवस्थापन समितिको निर्णयका आधारमा राहत जनताका पुर्याउने काम भइरहेको छ ।

राहतमा अनियमितता हुँदैन, हुन दिँदैनौं पनि । अहिले सरकारले अस्थायी घरको लागि दिने रकम पनि पीडितकै खातामा जान्छ । आवश्यक सामाग्री उहाँहरुले नै किन्ने भएकोले त्यस्तो हुँदैन । र हामीले अनियमितता गर्न र हुन दिने पनि छैनौं ।

एकद्वार प्रणाली कडाईका साथ लागू भइरहेको छ ?

एकद्वार प्रणाली कडाईका साथ लागू गरिएको छ । प्राप्त सामाग्री जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन्छ । विपद व्यवस्थापनको बैठकले प्राथमिकता र आवश्यकताका आधारमा सम्बन्धित पालिकामा पठाइन्छ । पालिकाले वडामा पठाउछ र वितरण हुन्छ ।

छिमेकी तथा मित्र देश र दातृ संस्थाहरुले पनि सहयोग गरेका छन्, राहत तथा पुनःनिर्माण प्याकेज त्यहाँ पुगेका छन् त ?

सर्बप्रथम त सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । दुःखमा साथ दिनुभयो, यो हाम्रो लागि हौसला र खुशीको कुरा हो । राहत कसले कति दिएको छ भन्ने कुरा त सरकारको रेकर्डमा छ । चीनले दिएका राहत सामाग्री हामीले सुत्केरी महिला, वृद्धवृद्धालाई र मृतक परिवारलाई दिने कुरा गरेका छौं । सहयोग गर्नेहरुले पनि सबैलाई एकैपटक पुग्ने गरी दिन सक्दैनन् ।

अर्को पुनर्निर्माणको कार्यमा गर्ने सहयोग राज्यको कोषमा आउला । समग्र योजना बनाएर यो क्षेत्रको पुनःनिर्माणमा उक्त सहयोग उपयोग हुन्छ ।

तपाईँ पार्टीको संगठन विभाग प्रमुख पनि हुनुहुन्छ, रुकुममै मात्रै खट्नुभएको छ कि अन्य जिल्लामा पनि पुग्नुभएको छ ?

म रुकुममा मात्रै खटिएका र अन्य जिल्ला नगएको भन्ने सही होइन, म जाजरकोट पुगेर घाइतेहरुको उद्दारमा खटिएको कुरा स्मरण गराउन चाहन्छु । हाम्रो कार्यविभाजन हुँदा म रुकुम खट्ने र हाम्रो पार्टीको जिम्मेवार नेता, मन्त्री पनि हुनुहुन्छ सुरेससिंहजी उहाँ जाजरकोटमा खटिने भन्ने निर्णय भएको हो । प्रदेश पार्टीको सल्लाहअनुसार नै हामी खटिएका छौं । सबैतिर समन्वय भइरहेको छ ।

तपाईँले तिहारमा भाइटीका पनि लगाउनुभएन, भूकम्प पीडितसँगै हुनुहुन्छ, तपाईँको दैनिक कस्तो छ ?

म बिहान ६ बजे उठेर गाउँमा जान्छु, राहत वितरणको अवस्था कस्तो छ, कहाँ पाल पुगेन वा के समस्या छ भनेर जनतासँग अन्तरक्रिया गर्छु । सरकारले गरेका निर्णय, पार्टीले गरेको पहलबारे जनतालाई बताउछु । उहाँहरुका समस्या समाधानको लागि पहल गर्छु । भूकम्पको भएबाट मुक्त गराउन छलफल गर्छु । युवाहरुलाई सँगै लिएर उद्दार तथा राहत वितरण गर्न खटिने गरेको थिएँ । अहिले अस्थायी बसोबासको निर्माणमा जुट्ने, पीडितको घरघर जाने, सुत्केर महिलाहरुको अवस्था कस्तो छ भनेर जानकारी लिन्छु । राति सुत्ने समय निश्चित हुँदैन । कहिलै रातभर पीडितसँगै हुन्छौं ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal