काठमाडौं । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानको खुट्टामा गोली लागेको छ ।
बायाँ खुट्टामा गोली लागेर घाइते दुबै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुबै जना यही कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारामा भएको डकैतीमा संलग्न रहेका थिए । उनीहरुलाई मंगलबार दिउँसो रौतहटको गरुडाबाट पक्राउ गरिएको थियो ।
महोत्तरी ल्याउने क्रममा भाग्न खोजेपछि गोली हान्नु परेको प्रहरीले बताएको छ ।
महोत्तरीको सीमा सोनमा गाउँपालिका ५ मा महोत्तरी प्रहरीको अर्को भ्यानमा दुबैजनालाई राख्ने क्रममा उनीहरु हतकडीसहित गाडीबाट हामफालेर भाग्न खोजेपछि गोली प्रहार गरेको प्रहरीले बताएको छ । राति १० बजे भाग्न खोजेपछि तीन राउण्ड गोली प्रहार गरेर पुनः पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनासहित ७/८ जनाको समूहमा आएका डाँकाहरुले महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा हतियार देखाएर लुटपाट गरेका थिए ।
सो समूहले चौधरीको घरबाट ४० तोला सुुनका गहना, चाँदीको ४५ तोला गहना, आई फोन एक थान र नगद १ लाख ७५ हजार लुटेर लगेका थिए ।