
काठमाडौं । नियमनमा आउन नचाहेका कारण सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पछिल्ला दिनमा टिकटकमार्फत विकृति विसंगती बढ्न थालेपछि सरकारले नियमनको लागि समन्वय गर्दा नटेरेका कारण सरकारले सोमबारबाट टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
नियमनमा नआएका कारण टिकटकमार्फत सामाजलाई विकृत बनाउन थालेपछि बन्द गरिनुपर्ने माग पनि उठ्दै आएको थियो । टिकटकमा पोष्ट गरिने विषयबस्तुमा कुनै नियम नभएका कारण विकृति बढ्दै गएको तथ्यांकले देखाएका छन् ।
अघिल्लो साता गृहमन्त्रालयले साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिसँग नियमनकाबारेमा छलफल गरेको थियो । तर नियमनमा आउन टिकटक प्रतिनिधि तयार भएनन् ।
नेपाल प्रहरीका अनुसार पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् । अधिकांश टिकटकसँग सम्बन्धित रहेको प्रहरी अधिकारीहरु बताउँछन् ।
मन्त्रिपरिषद्ले निर्णय गरेसँगै दूरसंचार प्राधिकरणले इन्टरसेवा प्रदायकलाई पत्राचार गरिसकेको बताइएको छ । साइबर ब्युरोको केन्द्रीय तथ्यांकअनुसार २०७६/७७ मा साइबर अपराधका जम्मा ४ वटा उजुरी परेकामा एक वर्ष नबित्दै त्यो संख्या ७० मा पुग्यो ।
२०७८/७९ मा २ सय ३३ वटा उजुरी दर्ता भएकामा अर्को आवमा ७ सय २१ वटा र २०८०/८१ को तीन महिनामै ६ सय २० वटा उजुरी परिसकेका थिए भने ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएको तथ्यांक प्रहरीसँग रहेको छ ।