
काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री प्रचण्डले शुभकामना दिएका छन् ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं तत्कालिन समाज सुधारका लागि नीति, योजना तर्जुमा गरी महत्वपूर्ण योगदान पुर्याएका थिए । उनले बनाएको नीतिलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । फाल्गुनन्दको निधन विसं २००५ मा भएको हो । किराँत समाज सुधारमा उनले पु¥याउनुभएको योगदानको कदर गर्दै ०६६ मङ्सिर १६ गते सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
सो अबसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले तत्कालीन सामाजिक रूढीवादीको अन्त्य गरी समाजलाई सही बाटो देखाउँने तथा आर्थिक अनुशासन कायम गर्न महागुरु फाल्गुनन्दले दिएको मार्गनिर्देश अनुशरणीय रहेको बताएका छन् ।
त्यस्तै, सन्देशमा राष्ट्रपति पौडेलले सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्द धार्मिक गुरु मात्र नभई सामाजिक अभियान्ताको रुपमा समाज सुधारक भएको उल्लेख गरेका छन् । उनले फाल्गुनन्द जयन्तीले सबैमा सद्भाव,सहिष्णुता,अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना सहित शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डलेसमाज सुधारक फाल्गुनन्दले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले फाल्गुनन्दको उपदेशको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिएका छन् ।
“फाल्गुनन्दले अगाडि सार्नुभएको समाज सुधारका महत्वपूर्ण सामाजिक एवम् सांस्कृतिक पक्ष किरात धर्मावलम्बीका लागि मात्र नभई सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय रहेको छ” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।
किराँत धर्म, संस्कृतिको मौलिक पहिचान र संरक्षण तथा समाज सुधारमा पु¥याएको महत्वपूर्ण योगदान कदर गर्दै राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सम्मानमा पाँचथर, ताप्लेजुङ, झापा, तेह्रथुम, इलामलगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उनको जन्मजयन्ती मनाउने गरिन्छ ।